ललितपुर । नेपाली आधुनिक साहित्यका मूर्धन्य साहित्यकार, कालजयी गीतकार तथा मुक्तककार प्रकाश कुइँकेल सम्मानित बनेका छन्। ललितपुरको भेैंसेपाटी स्थित त्रिवेणी ल्याण्डमा आयोजित “संसार राष्ट्रिय साहित्य तारा सम्मान २०८२” भाग (२) बाट मिति २०८२ असार १७ गते मंगलबार साहित्यिक सर्जक कुइँकेल सम्मानित भएको हो ।
नेपाली साहित्य आकाशमा साहित्यिक सर्जक कालजयी गीतकार प्रकाश कुइँकेलको निरन्तर साहित्यिक साधना, सिर्जनशीलता र अमूल्य योगदानले नेपाली साहित्य–संगीतको क्षेत्रमा अपूर्व योगदान पुगेको छ। यस्तो विशिष्ट सम्मान साहित्य सर्जक कुइँकेलको कर्म, समर्पण र सिर्जनाको कदरस्वरूप भएको छ।
सिर्जनका धनी कुनैपनि सर्जकहरुको जिउंदो जाग्दो अवस्थामा नै सम्मान हुनु पर्दछ भन्ने अवधारणा राख्दैआएकी ललितपुरको खोकना स्थित संसार क्रियशन नेपालकी सल्लाहकार तथा सामाजिक अगुवा गायिका सरिता महर्जनको सोच तथा अवधारणा अनुरुप “संसार राष्ट्रिय साहित्य तारा सम्मान २०८२” साहित्यिक सर्जक कुइँकेललाई प्रदान गरिएको हो।

नेपालको साहित्य, कला, संगीत र पत्रकारिताको फाँटमा लागिपरेका सिर्जनशील स्रष्टाहरूलाई सम्मान, पुरस्कार र सार्वजनिक मान्यता दिनु देशको सांस्कृतिक चेतनाका लागि सकारात्मक अभ्यास हो। यस्ता सम्मानले सिर्जनशील प्रतिभालाई थप उर्जा दिने विश्वास गरिएको हुन्छ।
जुन विश्वासको बलियो जगमा बसेर हिजोका दिनहरुमा कला तथा संगीत क्षेत्रमा लागेका सर्जकहरुलाई सम्मान तथा अवार्ड दिदैआएको सामाजिक संस्था संसार क्रियशन नेपालले साहित्य सिर्जनमा लाग्दैआएका सर्जकहरुलाई आजको दिनमा सम्मान प्रदान गर्ने कार्यमा अग्रता दिएको जानकारी आयोजक संस्था संसार क्रियशन नेपालका अध्यक्ष तथा क्रियटिभ डाइरेक्टर स्वतन्त्र संसार महर्जनले दिएका छन्।
अघिल्लो महिना पहिलो पटक नेपाली नोबल साहित्यकार बिक्रम भक्त जोशीलाई प्रदान गरिएको यो “संसार राष्ट्रिय साहित्य तारा सम्मान २०८२”को भाग–२ साहित्यिक सर्जक कालजयी गीतकार प्रकाश कुइँकेलको विगत ५५ बर्षदेखि नेपाली समसामयिक साहित्य तथा गीत लेखन सिर्जनामा निरन्तर योगदान दिएवापत प्रदान गरिएको यो गौरबमय सम्मान हो।
यस सम्मानवाट साहित्य सिर्जनमा आफूलाई अझ धेरै हौसला तथा प्रेरणा मिलेको सम्मानित कालजयी गीतका सर्जक गीतकार कुइँकेलले बताएका छन्। गीत लेखनको अलावा समय सुहाउंदो छोटा कविता हाइकु लगायत मुक्तक तथा व्यंग्य कविता लेखनमा कलमलाई तिब्रता दिदैआएका उनै गीतकार कुइँकेलले सम्मान कार्यक्रममा चोटिला यथार्थपरक मुक्तक तथा व्यंग्य कविता सुनाउंदा सवैको वाहवाही पाएका थिए।
कार्यक्रममा हुम्ला, कालिकोट, धनकुटा, सिरहा र बारा गरेर पाँच जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर हाल निवृत युगान्तकारी गायक विजयनारायण मानन्धरले सम्मानित साहित्यिक सर्जक प्रकाश कुइँकेलका सिर्जनामा सामाजिक परिवेशका यथार्थरता आवाज रहेको भन्छन्।
कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगपालिका वडा नंबर २१ का वडा सरकार प्रमुख यानी वडा अध्यक्ष रविन्द्र महर्जन साहित्य सिर्जना गर्ने सर्जक तथा कलाकारहरुले देश बोकेको हुन्छ र उनीहरुमा ठूलो सिर्जनाको खानी हुने भएकोले प्रकाश कुइँकेल जस्ता सर्जकहरुको समयमा नै सम्मान हुनु र सम्मान गर्न पाउदा आफ्नो पनि गौरबताको कुरा भएको टिप्पणी गर्न चुकेनन् ।
भावना र संवन्धले जोडिएको बेग्लै गौरबमय उक्त सम्मान कार्यक्रममा नेपाली आधुनिक संगीतको शिक्षामा मास्टर डिग्री होल्डर गायिका रितु कँडेलले सम्मानित सर्जक कालजयी गीतकार कुइँकेलको चर्चित गीत अन द स्पट गाएर मनोरञ्जन प्रदान गरेकी थिइन्।
साथमा आयोजक स्वतन्त्र संसार महर्जनर र समाजसेवी गायिका सरिता महर्जनको भातृत्व प्रेमले भरिएको ल्यासे स्वःजुल बोलको नेपालभाषाको गीतले थप रौनकता थपेको थियो। सम्मान कार्यक्रममा अग्रज गीतकार प्रमोद ढुंगाना तथा सामाजिक अगुवा रामचन्द्र श्रेष्ठ लगायतको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रम संचालन साजन शाहीले गरेका थिए।

(नामी साप्ताहिकवाट साभार)