उदयपुरको कटारी नगरपालिका सदरमुकाम गाईघाटबाट पश्चिमी क्षेत्रमा पर्दछन् । भित्री मधेस र महाभारत क्षेत्रमा पर्ने कटारी नगरमा नगरप्रमुखको रुपमा राजेशचन्द्र श्रेष्ठ छन् । श्रेष्ठ स्थानीय तहको निर्वाचन २०७९ मा निर्वाचित भएका हुन् । उनै श्रेष्ठ निर्वाचित भएपछि हालसम्म कटारी नगरमा विकासका क्षेत्रमा भएका कामहरुमा केन्द्रित भएर नामी साप्ताहिकको लागि नामी सम्वाददाता अभिमन्यू लामिछानेले लिएको अन्तर्वार्ताको सम्पादित अंश :
तपाईं निर्वाचित भएर आएपछि कटारी नगरपालिकामा के-के काम भए ?
कटारी नगरपालिकाको प्रमुखमा म निर्वाचित भएर आएपछि केही देखिने कामहरु भएका छन् । विशेष गरी स्वास्थ्य र शिक्षामा सकारात्मक परिवर्तन भएको छ । त्यो काम म नगरप्रमुख निर्वाचित भएर आएपछि सुरु भएका थिए । जुन अहिले परिमाणमा पनि देखिएका छन्। जस्तै शिक्षाको कुरा गरौंँ-हामीले प्रत्येक विद्यालयमा ई–हाजिरी जडान गरेका छौं । दरबन्दी मिलान गरेका छौं । विद्यालयहरुमा सिसी क्यामेरा जडान गरेका छौं। जसको कारण कटारी नगरपालिकामा शैक्षिक क्षेत्रमा सुधार आएको छ । नगरमा शैक्षिक सम्मेलन गरेका छौं । विद्यालय पूर्वाधार मर्मतसम्भार गरेका छौं। संस्थागत विद्यालयमासमेत विपन्न, जेहेन्दारलाई छात्रावृत्ति लागू गरेका छौं । त्यति मात्र होइन कटारीदेखि विज्ञान संकाय अध्ययनका लागि काठमाडौं, विराटनगर जस्ता ठूला शहर जानु पथ्र्यो । अहिले कटारीमै पढ्न पाइन्छ । त्यो पनि पूर्ण रूपमा निःशुल्क विज्ञान संकाय अध्यापन गराईराखेका छौं। शिक्षामा गरेको लगानी आज प्रतिफलको रुपमा देखा परेको छ । म निर्वाचित भएर आएपछि सुरु गरेका कार्यक्रमले क्रमिक रूपमा नतिजा देखाउँदै गएको छ। २०८१ सालको एसइइको नतिजा र कक्षा ८ को नतिजा हेर्दा हुन्छ। जुन परिमाण उत्साहजनक छ। यता अन्य काम पनि भएका छन्। तपाईहरु सबैले गएर हेर्दा हुन्छ ।
त्यसमा झनै महत्वपूर्ण लाग्ने कामहरु के के छन् ?

महत्पूर्ण काम धेरै छन् । विपन्नहरुको लागि विज्ञान पढ्न सजिलो थिएन । कटारी बाहिर गएर पढ्न पर्दथ्यो। बाहिर गएर पढ्दा तीनदेखि चार लाखसम्म खर्च लाग्ने गर्दथ्यो । यहाँ हामीले निःशुल्क पढाइरहेका छौं । त्यसै गरी स्वास्थ क्षेत्रमा हामीले कटारी नगरपालिकाको प्रत्येक १४ वटै वडामा बर्थिङ सेन्टर भवन निर्माण गरेका छौं । प्राथमिक स्वास्थ केन्द्र भवन निर्माण गरेका छौं । आवश्यकता अनुसार प्रविधि र जनशक्ति व्यवस्थापन गरेका छौं। कटारी नगर अस्पतालको मर्मत सम्भार, सेवा विस्तार तथा व्यवस्थापकीय सुधार गरेका छौं । म निर्वाचित भएर आएसँगै कटारी अस्पताललाई थप सेवामुखी बनाउनुपर्छ भनेर सेवा विस्तार समेत गरेका छौँ । अहिले त कटारी अस्पताल प्रादेशिक अस्पातालमा स्तरोन्नति भइसकेको छ। यो झनै राम्रो पक्ष हो। नगर अस्पताल हुँदा न्यूनतम सेवा मापदण्डमा देश भरिका २८ नगर अस्पताल मध्ये उत्कृष्ट अस्पताल बनेको थियो। सुविधा सम्पन्न ल्याब, विषेशज्ञ चिकित्सक व्यवस्थापन गरी कटारी अस्पतालमै उपचार गराउन पहल गराै । विभिन्न रोगहरूको यही अप्रेशन सेवा सुरुवात भएको छ। अर्को महत्वपूर्ण कुरा-हाम्रो क्षेत्रमा सर्पको टोकाईबाट हरेक वर्ष ४/५ जनाको उपचार नपाएर मृत्यु हुने गर्दथ्यो । अहिले हामीले निक्कै जोखिम उठाएर कटारी अस्पतालमै सर्पदंशको उपचार सेवा गरेका छौँ ।
कृषि क्षेत्रमा नि ?
कृषि क्षेत्रमा किसानको मागको आधारमा बीउ विजन तथा कृषि यान्त्रिकरण, मल उपलब्ध गराउँदै आएका छौँ। कृषि मेला लगाउँदै आएका छौँ। किसानलाई मलको उचित व्यवस्थापन गरेका छौं । आवश्यकता अनुसार कृषकहरुलाई कृषि सम्बन्धी क्षमतामूलक तालिमको व्यवस्था गरेका छौं। कटारी-४ मा सुविधा सम्पन्न कृषि तथा पशुपन्छी भवनको निर्माण सम्पन्न भइसकेको छ ।
पूर्वाधार तर्फ कटारीमा के के काम भएका छन् ?
पूर्वाधारतर्फ सबै वडाहरूमा वडा कार्यालयको भवन निर्माण सम्पन्न भइसकेको छ । बजार क्षेत्रभित्र समेत कच्ची सडक हुँदा बजार कुरुप देखिएको थियो। अहिले बजारमा क्षेत्र कालोपत्रे, ढलान तथा नालीसमेत निर्माण भइसकेको छ । कटारी नगरपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन बनेको छ। बजार क्षेत्रमा सीसी क्यामरा जडान गरेका छौं । बजार तथा बस्ती क्षेत्रमा उज्यालो नगर अन्तर्गत सडक बत्ती जडान गरिएको छ। कटारी बसपार्क आगाडी बहुउद्देश्यीय पार्क निर्माण भइरहेको छ । जहाँ चार्जिङ स्टेशनदेखि खुला व्यायामशाला, सुन्दर पार्क निर्माणको लागि अहिले काम जारी छ।
कटारी नगरपालिकामा अब गर्नु पर्ने काम के के हुन् ? त्यसको लागि संघीय र प्रदेश सरकारबाट कस्ता सहयोगको अपेक्षा गर्नु भएको छ ?
कटारी नगरपालिकामा संघीय सरकारले गर्नु पर्ने काम धेरै नै छन् । जसमा सिद्धिचरण लोकमार्गको मिर्चैया–कटारी–घुर्मी सडक खण्डको स्तरोन्नति हो। जहाँ बजेट नगरले हाल्न सक्ने अवस्था पनि छैन् । तर, संघीय सरकारले बजेट नहालेको कारण सडक बन्न सकेको छैन। यहाँ जनताले वर्षौदेखि धुलो धुवाँ खाँदै बस्नु परेको छ । कष्टकर यात्रा गर्नु परेको छ । सडककै कारण जोखिमपूर्ण यात्राले दुघर्टना हुने गरेको छ। यसको म मेरो ठाउँबाट पहल गरिरहेको छु। संघीय सरकारले भने जस्तो बजेट व्यवस्थापन गरेको छैन । यो सडक बनाउने संघीय सरकारले हो। मिर्चैया–कटारी घुर्मी सडक नबन्दा कटारीका जनप्रतिनिधिले गाली खानु परेको छ । यसैगरी अर्को महत्वपूर्ण काम कटारी-३ च्याँगामा मेडिकल कलेज निर्माणको लागि संघीय सरकारले प्राथमिकता दिएको छैन । हामी भनिरहेका छौँ । त्यसमा पनि संघीय सरकारले ध्यान दिए झनै राम्रो हुने थियो।
आर्थिक, सामाजिक र न्यायिक क्षेत्रमा नि ?
युवा लक्षित सीपमूलक तालिम सञ्चालन गरेका छौं । जसले सीपसिकी नेपालमै स्वरोजगार हुन सहयोग गरेको छ। जिविकोपार्जन सम्बन्धी युवा लक्षित कार्यक्रमहरू गरिरहेका छौँ । महिला उद्यमशीलता तालिम गरिरहेका छौँ । आय आर्जनका लागि अपाङ्गता भएका ब्यक्तिहरुको लागि अनुदानमा स्कुटर वितरण गरेका छौं । (ख) वर्गका अपाङ्गता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ बीमा गरिदिएका छौँ। एकल महिलाहरुको लागि नगरबाट निःशुल्क स्वास्थ्य बीमा लागू गरेका छौं । अति विपन्न, गर्भवति महिलाको लागि निःशुल्क एम्बुलेन्स, दलित सुकुम्बासी, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुको ऐलानी जग्गाको नापजाँच अनि लालपुर्जा वितरणको काम अघि बढेको छ।
कटारी क्षेत्रमा धेरै खानी छन् । खानी क्षेत्रको आम्दानी कसरी खर्च भइरहेको छ?
कटारी नगरपालिकामा विशेष गरेर चुनढुंगा खानी क्षेत्र छन्। यी खानी क्षेत्रबाट आउने आम्दामी दुई प्रकारका छन्। एउटा रियल्टी शुल्क र अर्को प्रदूषण तथा पूर्वाधार शुल्क हो। यो शुल्क मार्फत आउने आम्दानी नगरको संचित कोषमा जम्मा हुन्छ । अनि समग्र नगरको विकासमा खर्च हुने गरेको छ। प्रदूषणबाट आएको आम्दानीको ५० प्रतिशत प्रभावित क्षेत्रका वडाहरूमा थप बजेटको रुपमा पठाइन्छ । वडाहरुले नै त्यो बजेट आवश्यकताको आधारमा खर्च गर्दै आएको छ।
तपाईंको कार्यकालमा कटारी नगरमा के-के परिवर्तन हुन्छ ?
मेरो कार्यकालमा कटारीमा आमूल परिवर्तन हुन्छ, त म भन्दिन् । तर केही सकारात्मक परिवर्तन भएको देख्न सक्नुहुन्छ। जस्तैः शिक्षा र स्वास्थ्यमा भएको परिवर्तन, नगरबाट पाउने सेवामा परिवर्तन, नगरलाई सुशासनयुक्त र भ्रष्टाचारमुक्त बनाउने अभियानमा सकारात्मक संकेत पाइन्छ। नगरमा शैक्षिक, आर्थिक, रोजगारी, कृषि, स्वास्थ्य, पूर्वाधार, यातायात, सञ्चार तथा समाजिक वा सांस्कृतिक क्षेत्रमा देखिने र आशा लाग्दा काम हुनेछन्।
नामी साप्ताहिक