काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आज औपचारिक रूपमा नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्दै छन् । गौतम नेतृत्वको अभियान र एकीकृत समाजवादीबीच राष्ट्रिय सभागृहमा एकता घोषणा कार्यक्रम आयोजना गरिएको छ ।
एकीकृत समाजवादीका केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र अभियान संयोजक वामदेव गौतमले सम्बोधन गर्नेछन् ।
एकतापछि बन्ने पार्टी संरचनामा गौतमलाई अध्यक्ष नेपाल र सम्मानित नेता खनालपछि तेस्रो वरियतामा राख्ने सहमति भइसकेको बताइएको छ । गत असार २७ गते एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र अभियान संयोजक वामदेव गौतमबीच एकता सहमति पत्रमा हस्ताक्षर भएको थियो ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता सर्वोच्च अदालतको फैसलापछि विघटन भएपछि वामदेव गौतमले २०७७ पुस २५ गते ‘नेकपा एकता राष्ट्रिय अभियान’ को घोषणा गरेका थिए । त्यसअघि एमालेमा फर्किने प्रयास गरे पनि अध्यक्ष केपी शर्मा ओलीको बेवास्ताका कारण उनको प्रयास सफल हुन सकेको थिएन ।
आजको एकतासँगै गौतमले माधव नेपाल नेतृत्वको दलमार्फत आफ्नो राजनीतिक यात्रालाई औपचारिक नयाँ दिशामा अघि बढाउन लागेका छन् । गौतमलाई नेकपा एसले वरिष्ठ नेता बनाएर अध्यक्ष नेपाल र नेता खनालपछि तेस्रो वरियता दिँदैछन् ।
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०८२ ०८:१९