काठमाडौं । निरन्तर उकालो लाग्दै गएको सुनको मूल्य तोलामा तीन लाख रुपियाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला दुई लाख ९२ हजार दुई सय रुपियाँ रहेको सुनको मूल्य शुक्रबार नौ हजार दुई सय रुपियाँले बढेर तीन लाख एक हजार चार सय रुपियाँ पुगेको हो । यो हालसम्मकै उच्च मूल्य हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा परेको महासङ्घले जनाएको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ९५० अमेरिकी डलर पुगेको छ । रुस–युक्रेन युद्ध, अमेरिकाद्वारा भेनेजुएलामाथि गरिएको कारबाही तथा अन्य भूराजनीतिक तनावका कारण सुन सुरक्षित लगानीको विकल्प बनेसँगै मूल्य बढेको सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले बताए ।
सुनको मूल्य अस्वाभाविक रूपमा बढ्दा बजारमा माग घटेको छ । महासङ्घका अनुसार सुनको कारोबार करिब ९० प्रतिशतले घटेको छ । मूल्य बढेपछि व्यवसायीले पुराना गहना खरिद गर्नसमेत छाडेका छन् ।
महासङ्घका अनुसार पछिल्लो एक वर्षमा सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार चार सय रुपियाँले बढेको छ । गत वर्ष ९ माघमा प्रतितोला एक लाख ६० हजार रुपियाँ रहेको सुनको मूल्य हाल तीन लाख नाघेको हो ।
यसैबीच चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला पाँच हजार ८७० रुपियाँ रहेको चाँदी शुक्रबार तीन सय २० रुपियाँले बढेर छ हजार एक सय ९० रुपियाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔँस ९८ अमेरिकी डलरमा कारोबार भएको छ ।
प्रकाशित मिति: शनिबार, माघ १०, २०८२ ०७:०९