काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दल तथा उम्मेदवारहरूले चुनावी खर्च र आम्दानीका सबै आर्थिक कारोबार छुट्टै बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ ।
नेपाल राष्ट्र बैंकले निर्वाचन आयोगको अनुरोधमा यस्तो व्यवस्था लागू गरेको हो । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले माघ १२ गते सार्वजनिक सूचना जारी गर्दै वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूलाई निर्वाचन प्रयोजनका लागि छुट्टै खाता खोल्न निर्देशन दिएको छ ।
पारदर्शिता बढाउने उद्देश्य
निर्वाचनका क्रममा हुने आर्थिक कारोबारलाई पारदर्शी बनाउने, उम्मेदवार तथा दललाई आफ्नो चुनावी खर्चको स्पष्ट हिसाब राख्न सहज बनाउने उद्देश्यले यो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।
निर्वाचन आयोगको अनुरोधअनुसार प्रत्येक राजनीतिक दल, दलका तर्फबाट प्रतिनिधित्व गर्ने उम्मेदवार (समानुपातिक उम्मेदवारसमेत) तथा स्वतन्त्र उम्मेदवारले आफ्नो आम्दानी र खर्च छुट्टै खातामार्फत गर्नुपर्नेछ ।
कसरी खोलिन्छ चुनावी खाता ?
राष्ट्र बैंकका अनुसार निर्वाचन प्रयोजनका लागि खोलिने खाता नेपाली मुद्रा (रुपैयाँ/पैसा) मा मात्र सञ्चालन हुनेछ । प्रत्येक दल वा उम्मेदवारले एक मात्र खाता खोल्न पाउनेछन् ।
खाता खोल्नका लागि निर्वाचन आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयको सिफारिस अनिवार्य गरिएको छ ।
नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८२ अनुसार सामान्य अवस्थामा एउटै बैंक वा वित्तीय संस्थामा एउटै प्रकृतिको एकभन्दा बढी स्वदेशी मुद्राको खाता खोल्न पाइँदैन । तर निर्वाचन प्रयोजनका यी खाताको हकमा भने सो व्यवस्था लागू नहुने गरी विशेष छुट प्रदान गरिएको छ ।
यी बैंक खाताहरू स्थायी भने हुने छैनन् । निर्वाचन आयोगले आमनिर्वाचन सम्पन्न भएपछि निर्णय गरी खाता बन्द गर्न निर्देशन नदिएसम्मका लागि मात्र यी खाताहरू सञ्चालनमा रहने राष्ट्र बैंकले स्पष्ट गरेको छ ।
प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२ ०७:०३