उदयपुर । उदयपुरमा फलफूल खेती किसानको प्रमुख आम्दानीको स्रोत बन्दै गएको छ । भौगोलिक विविधता, अनुकूल जलवायु र कृषकहरूको सक्रियताका कारण जिल्लामा फलफूल उत्पादन उल्लेख्य रूपमा बढेको कृषि ज्ञानकेन्द्र उदयपुरले जनाएको छ ।
कायालयको तथ्यांकअनुसार जिल्लामा दुई हजार ९०२.५ हेक्टर क्षेत्रफलमा २९ प्रकारका फलफूल खेती हुँदै आएको छ । जिल्लामा १५ हजार ८७१.५ मेट्रिकटन विभिन्न जातका फलफूल उत्पादनबाट वार्षिक करिब ८४ करोड ६९ लाख रुपैयाँबराबरको आम्दानी भएको छ ।
कृषि ज्ञानकेन्द्र, उदयपुरका प्रमुख योगेन्द्रप्रसाद यादवका अनुसार कुल उत्पादनमध्ये करिब ४० प्रतिशत फलफूल घरायसी उपभोग, कोसेली तथा अन्य प्रयोजनमा प्रयोग हुन्छ । बाँकी ६० प्रतिशतका आधारमा आम्दानी गणना गरिएको छ । ‘यसबाट जिल्लाका किसानले वार्षिक ८४ करोड ६९ लाख रुपैयाँबराबरको आम्दानी गरिरहेका छन्,’ उनले भने ।
उदयपुरमा सबैभन्दा बढी सुन्तला र आँप उत्पादन हुन्छ । पहाडी क्षेत्रको हावापानी अनुकूल भएकाले सुन्तला खेतीले विशेष पहिचान बनाएको छ । ६६८ हेक्टरमा गरिएको सुन्तला खेतीबाट दुई हजार ४०८ मेट्रिकटन उत्पादन भई करिब २४ करोड रुपैयाँबराबरको आम्दानी भएको छ । यस्तै, भित्री मधेश क्षेत्रमा विस्तार हुँदै गएको आँप खेती ५२५ हेक्टरमा फैलिएको छ । जसबाट चार हजार ६६२ मेट्रिकटन उत्पादन भई २१ करोड ४२ लाख रुपैयाँ आम्दानी भएको छ ।
केरा खेती पनि जिल्लामा तीव्र रूपमा विस्तार भइरहेको छ । १७२ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट दुई हजार ४०८ मेट्रिकटन उत्पादन भई १८ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, ११३ हेक्टरमा गरिएको कागती खेतीबाट ८३६ मेट्रिकटन उत्पादन भई पाँच करोडभन्दा बढी आम्दानी भइरहेको छ ।
लिचीबाट करिब तीन करोड ९१ लाख, अम्बाबाट एक करोड ३८ लाख, मेवाबाट एक करोड ५८ लाख र जुनारबाट एक करोड ८८ लाख रुपैयाँ आम्दानी हुने गरेको छ । निबुवाबाट २७ लाख, नास्पातीबाट ७२ लाख, भुइँकटहरबाट ८५ लाख र कटहरबाट एक करोड ८८ लाख रुपैयाँ आम्दानी हुने गरेको तथ्यांक छ । पछिल्लो समय ड्रागनफ्रुट, किबी र एभोकाडोजस्ता उच्च मूल्यका फलफूलको परीक्षण तथा व्यावसायिक खेती पनि सुरु भएको छ । ड्रागनफ्रुट मात्र दुई हेक्टरमा खेती गर्दा १४ मेट्रिकटन उत्पादन भई ५० लाखभन्दा बढी आम्दानी भएको छ ।
कृषि ज्ञानकेन्द्रका प्रमुख यादवले उदयपुरमा फलफूल उत्पादन बढे पनि कोल्ड स्टोर नहुँदा उत्पादन सिधै बजार पठाउनुपर्ने बाध्यता रहेको बताए । कटारी नगरपालिका– ४ मा करिब चार वर्षअघि निर्माण गरिएको शीतभण्डार जग्गा विवादका कारण प्रयोगविहीन छ ।
झन्डै २० लाख रुपैयाँ लागतमा बनेको संरचनामा दुई मेट्रिकटनसम्म भण्डारण क्षमता भए पनि सञ्चालन हुन सकेको छैन । यस्तै, बेलका नगरपालिका– १, आम्बासीमा ०७८ मा निर्माण गरिएको पाँच मेट्रिकटन क्षमताको शीतभण्डार पनि विद्युत् जडान नहुँदा प्रयोगमा आउन सकेको छैन ।
प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३ २०:१२