काठमाडाैं । नेपाली पत्रकारिता आज केवल आर्थिक संकटबाट गुज्रिरहेको छैन, आफ्नो विश्वसनीयता, सामाजिक प्रतिष्ठा र नैतिक आधारसमेत जोगाउने संघर्ष गर्नु पर्ने अवस्थामा छ । सूचना प्रविधिको विकास, इन्टरनेटको विस्तार र सामाजिक सञ्जालको तीव्र प्रभावले सञ्चार जगतलाई अभूतपूर्व परिवर्तनको युगमा पुर्याएको छ । सूचना प्रवाहको गति इतिहासमै सबैभन्दा तीव्र बनेको छ। तर यही तीव्रताले सत्य, तथ्य र जिम्मेवारीलाई पछाडि धकेल्ने काम गरिरहेको छ । जसको कारण नेपाली पत्रकारिता भ्युजकारितामा रुपान्तरण हुँदै गएको छ।
पत्रकारिता समाजलाई सत्य सूचना दिने पेशा हो । तर पछिल्ला वर्षहरूमा पत्रकारिताको एउटा हिस्सा सत्यको खोजीभन्दा बढी ‘भ्युज’, लाइक’, शेयर र कमेन्ट अनि मोनिटाइजेशन’ को प्रतिस्पर्धामा केन्द्रित हुन थालेको छ । यही प्रवृत्तिलाई अहिले ‘भ्युजकारिता’ भन्दा फरक पर्दैन। भ्युजकारिता केवल पत्रकारिताको शैलीगत समस्या होइन । यो पत्रकारिताको मूल चरित्रमाथिको चुनौती हो। जसको कारण आज समाजमा एउटा गम्भीर प्रश्न उठ्न थालेको छ-पत्रकारिता जनताको सूचनाको अधिकारको पक्षमा छ कि एल्गोरिदमको दास बन्दै गएको छ ?
नेपालमा पत्रकारिताको इतिहास केवल समाचार प्रकाशनको इतिहास होइन। लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र सामाजिक चेतनाको विकाससँग जोडिएको इतिहास हो । छापाबाट सुरु भएको नेपाली पत्रकारिताको यात्रा विभिन्न राजनीतिक उतारचढाव पार गर्दै आज डिजिटल युगसम्म आइपुगेको छ। राणाकालमा प्रेस स्वतन्त्रता थिएन । पञ्चायतकालमा नियन्त्रण थियो।
बहुदलीय व्यवस्थापछि प्रेसले अपेक्षाकृत स्वतन्त्र वातावरण पायो। फेरि राजा ज्ञानेन्द्रको शासन कालमा खुम्चियो। त्यसपछि जनयुद्धबलमा भएको २०६२/६३ को जनआन्दोलनपछि नेपाली पत्रकारिता झन् विस्तार भयो। एफएम रेडियो, टेलिभिजन, अनलाइन पोर्टल र डिजिटल माध्यमहरू तीव्र रूपमा बढे । यो विकासले सूचनाको पहुँच बढायो । तर विस्तारसँगै गुणस्तर र उत्तरदायित्वको प्रश्न पनि उठ्न थाल्यो। सञ्चारमाध्यमको संख्या बढ्दै जाँदा पत्रकारिताको मर्म भने सबै ठाउँमा समान रूपमा संस्थागत हुन सकेन।
भ्युजकारिता भनेको समाचारको सार्वजनिक महत्वभन्दा बढी त्यसले कति क्लिक, कति प्रतिक्रिया वा कति आम्दानी ल्याउँछ भन्ने आधारमा सामग्री उत्पादन गर्ने प्रवृत्ति हो। जुन कन्टेनक्रियसन गर्नेहरुले गरिरहेका छन्। पत्रकारिताको आधारभूत मूल्य, मान्यता र सिद्धान्त अनि पत्रकार आचारसंहितासमेतको ज्ञान नभएकाहरुले अहिले भ्युजकारितालाई पत्रकारिता ठानिरहेका छन्।
भ्युजकारितामा डिजिटल प्लेटफर्ममा सामग्रीको सफलता त्यसको सत्यताले होइन । त्यसले कति मानिसलाई आकर्षित गर्छ भन्ने आधारमा मापन गरिन्छ। फलतः भ्युजकारिताले समाजका महत्वपूर्ण विषयभन्दा सनसनी, विवाद र भावनात्मक उत्तेजनालाई प्राथमिकता दिन्छन्। जस्तैः कुनै गाउँमा खानेपानीको समस्या समाधान भएको समाचारभन्दा श्रीमान श्रीमतिको पारिवारिक विवाद चर्चित हुन्छ। सार्वजनिक संघ संस्थामा आएका नीतिगत समस्या लगायतका कृषि, बेरोजगारी, शिक्षा र स्वास्थ्यका विषय ओझेलमा पार्दै सामाजिक सञ्जालमा भाइरल हुने सामग्रीलाई नै समाचार मान्छिन।
आज फेसबुक, युट्युब, टिकटक र इन्स्टाग्रामलाई सूचना पाउने प्रमुख माध्यमको रूपमा लिइएको छ। यी प्लेटफर्मको उद्देश्य पत्रकारिता प्रवद्र्धन गर्नु होइन, प्रयोगकर्तालाई लामो समयसम्म आफ्नो प्लेटफर्ममा राख्नु हो । त्यसैले एल्गोरिदमले सन्तुलितभन्दा उत्तेजक सामग्रीलाई बढी फैलाउँछ। विवाद, क्रोध, डर र सनसनीले बढी प्रतिक्रिया ल्याउँछ । फलतः सामग्री उत्पादकहरू पनि त्यही दिशातर्फ आकर्षित हुन्छन्।
यसरी हेर्दा भ्युजकारिता केवल व्यक्तिको कमजोरी होइन, डिजिटल अर्थतन्त्रको उत्पादन पनि हो। तर चुनौती के हो भने पत्रकारिता यदि एल्गोरिदमको मागअनुसार मात्र चल्न थाल्यो भने समाजले सत्य सूचना गुमाउँछ। समाजमा भ्युजकारिताको बढी प्रयोग हुन थाल्यो भने सामाजिक विखण्डन नै ल्याउँछ।
आज नेपाली समाजमा असहमतिलाई सम्मान गर्ने संस्कार कमजोर हुँदै गएको देखिन्छ। फरक विचार राख्ने व्यक्तिलाई तर्कले होइन, आरोपले जवाफ दिने प्रवृत्ति बढेको छ । सामाजिक सञ्जालले यसलाई अझ तीव्र बनाएको छ। अनि भ्युजकारिता गर्नेहरुले त्यसलाई समाचारको सामग्रीको रुपमा लिइरहेका छन् ।
दुर्भाग्यवश, यही संस्कृति पत्रकारितामा पनि प्रवेश गरेको छ । कतिपय सामग्रीको उद्देश्य सूचना दिनु होइन, कसैलाई बदनाम गर्नु जस्तो देखिन्छ। जस्तैः अदालतले फैसला गर्नुअघि नै मानिसहरूलाई दोषी घोषणा गरिन्छ। प्रमाणभन्दा आरोप शक्तिशाली बनाइन्छ।
पत्रकारिताले सत्यको खोजी गर्नुपर्ने हो । तर कतिपय अवस्थामा पत्रकारिता स्वयं आरोपको माध्यम बन्न थालेको छ। यसले व्यक्तिको प्रतिष्ठा मात्र होइन, पत्रकारिताको प्रतिष्ठालाई समेत क्षति पुर्याएको छ । जुन धेरे काम भ्युजकारिता गर्नेहरुले गरिरहेका छन्।
प्रेस काउन्सिलको पछिल्लो चिन्ता
हालै प्रेस काउन्सिल नेपालले जारी गरेको एक विज्ञप्तिले पत्रकारिता क्षेत्रको वास्तविक संकटलाई औपचारिक रूपमा स्वीकार गरेको छ। काउन्सिलले अनलाइन पोर्टल दर्ता गरेर समाचार नै प्रकाशन नगर्ने तर युट्युब, फेसबुक र रिलमार्फत मोनिटाइजेशन केन्द्रित सामग्री उत्पादन गर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेको छ । अपुष्ट सामग्री, चरित्रहत्या, विद्यालयभित्र अनुमति बिना अन्तर्वार्ता, सरकारी कार्यालयमा धम्कीपूर्ण शैली, पत्रकारमाथि सामाजिक सञ्जालमार्फत हुने आक्रमण तथा पत्रकारले पत्रकारमाथि तथ्यहीन आरोप लगाउने प्रवृत्तिलाई काउन्सिलले गम्भीर समस्या मानेको छ । यसले भ्युजकारिता अब व्यक्तिगत समस्या मात्र नभई संस्थागत चुनौती बनेको पुष्टि गर्दछ।
पत्रकारिताका मूल्यमान्यता र आचारसंहिता
पत्रकारिताको शक्ति सरकारसँग हुँदैन । सेना, प्रहरी वा अदालतजस्तो दण्ड दिने अधिकार पत्रकारितासँग हुँदैन। पत्रकारिताको वास्तविक शक्ति जनविश्वास हो । त्यसैले पत्रकारिताका आधारभूत मूल्यमान्यतामा सत्यता, निष्पक्षता, सन्तुलन, स्वतन्त्रता, उत्तरदायित्व, पारदर्शिता र सार्वजनिक हित पर्दछन् । यदि पत्रकारिताले यी मूल्यहरू गुमायो भने त्यो पत्रकारिता रहँदैन, केवल सामग्री उत्पादनमा सीमित हुन्छ। त्यही सामग्री बनाउने काम भ्युजकारिता हो ।
यता पत्रकार आचारसंहिता पनि महत्पूर्ण छ । त्यही अचारसंहिता उलंघन हुँदा जिम्मेवारीविहीन स्वतन्त्रता अन्ततः अराजकतामा परिणत हुन्छ। पत्रकार आचारसंहिताले सत्य सूचना दिन, चरित्रहत्या नगर्न, गोपनीयताको सम्मान गर्न, घृणा फैलाउने सामग्री नदिन तथा पीडितप्रति संवेदनशील हुन निर्देश गर्दछ ।
आजको डिजिटल युगमा पत्रकारितालाई कानुनभन्दा बढी आचारसंहिताको आवश्यकता छ। किनकि सबै गलत कुरा कानुनी अपराध नहुन सक्छन्, तर नैतिक रूपमा गलत हुन सक्छन् ।
नेपालमा प्रेस स्वतन्त्रताको लामो संघर्षको इतिहास छ । प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत आवश्यकता हो। तर स्वतन्त्रता र स्वेच्छाचारिताबीचको सीमा पनि बुझ्न आवश्यक छ । प्रेस स्वतन्त्रता भनेको अपुष्ट आरोप लगाउने स्वतन्त्रता होइन। प्रेस स्वतन्त्रता भनेको कसैको निजी जीवनमा हस्तक्षेप गर्ने अधिकार होइन । प्रेस स्वतन्त्रता भनेको चरित्रहत्या गर्ने अनुमति होइन। प्रेस स्वतन्त्रताको वास्तविक अर्थ सत्यको खोजी गर्ने स्वतन्त्रता हो।
लोकतान्त्रिक समाजमा पत्रकारिताको सबैभन्दा प्रभावकारी नियमन आत्मनियमन हो। राज्यले नियन्त्रण गर्दा प्रेस स्वतन्त्रता जोखिममा पर्न सक्छ। तर आत्मनियमन कमजोर हुँदा पत्रकारिताको विश्वसनीयता संकटमा पर्छ। त्यसैले पत्रकार, सञ्चारमाध्यम, सम्पादक र पेशागत संस्थाहरूले आफैंलाई अनुशासित बनाउनुपर्छ । यही आत्मनियमन पत्रकारिताको दीर्घकालीन सुरक्षाको आधार हो। त्यो कुरा भ्युजकारिता गर्नेलाई थाहा नै हुँदैन।
पत्रकार महासंघको बढ्दो जिम्मेवारी
नेपाल पत्रकार महासंघको भूमिका केवल पत्रकारको हकहितमा सीमित हुन सक्दैन। आज पत्रकारितामाथिको जनविश्वास पुनःस्थापित गर्ने जिम्मेवारी पनि महासंघकै काँधमा आएको छ । महासंघले प्रेस स्वतन्त्रताको रक्षा गर्ने, पत्रकारको श्रम अधिकार सुनिश्चित गर्ने, आचारसंहिताबारे सचेतना फैलाउने, डिजिटल पत्रकारिताको मापदण्ड निर्माणमा पहल गर्ने तथा पत्रकारिताको सामाजिक प्रतिष्ठा जोगाउने अभियान सञ्चालन गर्नुपर्छ। विशेष गरी पत्रकार र कन्टेन्ट क्रिएटरबीचको अन्तर स्पष्ट पार्ने बहसमा महासंघले नेतृत्वदायी भूमिका खेल्न आवश्यक छ।
लोकतन्त्र केवल निर्वाचनबाट चल्दैन । लोकतन्त्रलाई निरन्तर सचेत नागरिक चाहिन्छ। सचेत नागरिकलाई विश्वसनीय सूचना चाहिन्छ। विश्वसनीय सूचना दिन पत्रकारिता आवश्यक हुन्छ । यस अर्थमा पत्रकारिता लोकतन्त्रको अक्सिजन हो। यदि पत्रकारिता कमजोर भयो भने नागरिक गलत सूचनाबाट प्रभावित हुन्छन् । गलत सूचनाले गलत निर्णय जन्माउँछ । गलत निर्णयले लोकतन्त्रलाई कमजोर बनाउँछ। त्यसैले पत्रकारिताको संकट केवल सञ्चार क्षेत्रको संकट होइन, लोकतन्त्रकै संकट हो ।
अबको बाटो
पत्रकारिता तथा सञ्चार क्षेत्रका सरकारी नियमक निकाय, नेपाल पत्रकार महासंघ तथा अन्य पत्रकारिताका सरोकारवाल निकायले पहिलो, पत्रकारिता र भ्युजकारिताबीच स्पष्ट सीमा कोर्नुपर्छ । यस फरक के हो नागरिकलाई बुझाउनु पर्छ। दोस्रो, डिजिटल पत्रकारिताका लागि छुट्टै मापदण्ड आवश्यक छ। त्यो बनाउनु पर्छ । तेस्रो, तथ्य परीक्षण प्रणालीलाई संस्थागत बनाउनुपर्छ। चौथो, मिडिया साक्षरता बढाउनुपर्छ। पाँचौँ, सार्वजनिक हित पत्रकारितालाई प्रोत्साहन गर्नुपर्छ । छैटौँ, पत्रकारिताको नाममा हुने चरित्रहत्या र अपुष्ट आरोपलाई सामाजिक रूपमा अस्वीकार गर्नुपर्छ।
पत्रकारिता इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। आजको चुनौती प्रविधि होइन, प्रविधिको प्रयोग हो। समस्या सामाजिक सञ्जाल होइन, त्यसको प्रभावमा पत्रकारिताले आफ्नो मूल्य गुमाउनु हो। भ्युजले क्षणिक लोकप्रियता दिन सक्छ, तर विश्वासले मात्र दीर्घकालीन सम्मान दिन्छ। क्लिकले आम्दानी दिन सक्छ, तर विश्वसनीयताले मात्र पत्रकारितालाई समाजको भरोसायोग्य संस्था बनाउँछ।
आज आवश्यक कुरा भ्युज बढाउने प्रतिस्पर्धा होइन, सत्यप्रतिको प्रतिबद्धता हो। पत्रकारिताले आफूलाई पुनः सत्य, तथ्य, निष्पक्षता र सार्वजनिक हितको आधारमा पुनर्निर्माण गर्न सकेन भने भविष्यले पत्रकारितालाई लोकतन्त्रको चौथो अंगका रूपमा होइन, डिजिटल बजारको एउटा उत्पादनका रूपमा सम्झिनेछ । त्यसैले आजको सबैभन्दा ठूलो प्रश्न भ्युज कति आयो भन्ने होइनस समाजले पत्रकारितालाई कति विश्वास गर्छ भन्ने हो। नेपाली पत्रकारिताको भविष्य यही प्रश्नको उत्तरमा निर्भर छ ।
त्यसैले हातमा क्यामेरा बोकेर घाँटीमा प्रेसलेखेको परिचय झुण्ड्याउने र प्रेसको ज्याकेट भिर्नेलाई पत्रकारिता तथा सञ्चार क्षेत्रका सरोकारवालाले पनि निगरानी गर्नुपर्छ । अनि नागरिकतहबाटै बाहिष्कारको अभियान चल्नु पर्छ। पक्राउ गरेर प्रहरीलाई जिम्मा लगाउनु आजको आवश्यकता बनेको छ।