मानिसको जीवनमा स्वार्थ नआओस् भन्न सकिँदैन। आफ्ना आवश्यकता हुन्छन्, परिवार हुन्छ, जिम्मेवारी हुन्छ, सम्पत्ति र भविष्यप्रतिको चिन्ता हुन्छ।
जिउँदो हुँदा आफ्नो हित खोज्नु मानिसको स्वाभाविक प्रवृत्ति पनि होला । तर जब विपत्तिले जीवन र मृत्युको सीमा नै मेटिदिन्छ, जब कसैको सास फर्कने सम्भावना समाप्त भइसकेको हुन्छ, त्यतिबेला पनि यदि हामी स्वार्थमै अडिग रहन्छौँ भने हाम्रो संवेदनामाथि प्रश्न उठ्छ।
विपत्ति कसैको रोजाइ होइन। बाढी आउँदा धनी–गरिब छुट्याउँदैन, पहिरोले पद र प्रतिष्ठा हेर्दैन, भूकम्पले जात, धर्म र वर्ग सोध्दैन। प्राकृतिक विपत्तिको एउटा क्षणले मानिसलाई उसको सबै पहिचानबाट अलग पारेर केवल ‘मान्छे’ बनाइदिन्छ। त्यही बेला हाम्रो व्यवहारले हामी कति मान्छे हौँ भन्ने प्रमाणित गर्छ ।
हालका विपत्तिहरूमा राज्यका निकाय, सुरक्षाकर्मी, स्थानीय समुदाय, सामाजिक संस्था र सर्वसाधारणले देखाएको सहयोग र उद्धार भावना मानवताको सुन्दर उदाहरण हो । आफ्नो ज्यानको जोखिम मोलेर अरूको जीवन बचाउन दौडिनु, बेपत्ताको खोजी गर्नु, पीडितलाई खाना–कपडा उपलब्ध गराउनु र विस्थापितलाई आश्रय दिनु हाम्रो समाजमा अझै मानवता जीवित छ भन्ने प्रमाण हो।
तर विपत्तिको अँध्यारोबीच कहिलेकाहीँ देखिने असंवेदनशील दृश्यले भने मन चसक्क बनाउँछ । बाढीले बगाएर ल्याएका मृत शरीरहरूलाई बेवास्ता गर्दै भौतिक सामानको सुरक्षा र व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिने प्रवृत्ति कुनै पनि सभ्य समाजका लागि शोभनीय हुन सक्दैन।
सामान हराउँदा दुःख हुन्छ, तर आफन्त हराउँदा संसार नै रित्तिन्छ । बगेर गएको सामान फेरि किन्न सकिन्छ। घर भत्किए फेरि बनाउन सकिन्छ। सम्पत्ति गुमे फेरि कमाउन सकिन्छ । तर मृत्युको मुखमा पुगेको जीवन फर्काउन सकिँदैन। त्यसैले विपत्तिमा सबैभन्दा पहिलो प्राथमिकता मानिसको जीवन र मानवीय गरिमा हुनुपर्छ ।
मृत शरीर केवल शरीर होइन। त्यो कसैको आमा हुन सक्छ, कसैको बुबा, कसैको सन्तान, कसैको जीवनसाथी, कसैको दाजु–भाइ वा दिदी–बहिनी। त्यो शरीरसँग कसैका हजारौँ सम्झना जोडिएका हुन्छन् । परिवारका लागि त्यो मृत शरीर आफ्नो प्रियजनसँगको अन्तिम सम्बन्ध हो।
त्यसैले बेपत्ता आफन्तको खोजीमा दिनरात भौँतारिएको परिवारले अन्ततः आफ्नो प्रियजनको शव भेट्दा पीडाका बीच पनि एउटा अधुरो कर्तव्य पूरा गर्ने अवसर पाउँछ । अन्तिम दर्शन, अन्तिम संस्कार र सम्मानपूर्वक विदाइ यी केवल धार्मिक वा सांस्कृतिक प्रक्रिया मात्र होइनन्, ती मानवीय मनलाई स्वीकार र शान्तितर्फ लैजाने गहिरा भावनात्मक आधार पनि हुन् ।
हाम्रो संस्कारले मृतकलाई सम्मान गर्न सिकाएको छ । संस्कार फरक हुन सक्छन्, अन्तिम विधि फरक हुन सक्छ, तर भावना एउटै हुन्छ। मृतकप्रति सम्मान र परिवारप्रति संवेदना ।
त्यसैले विपत्तिमा भेटिएको शवलाई ‘कसैको काम नलाग्ने वस्तु’ सम्झनु मानवताको अपमान हो। त्यो कसैको संसारको अन्तिम बाँकी चिनो हो। त्यसलाई सुरक्षित राख्नु, पहिचान गर्नु, परिवारलाई खबर गर्नु र सम्मानपूर्वक अन्तिम संस्कारको वातावरण बनाउनु समाज र राज्य दुवैको जिम्मेवारी हो।हामीले कहिलेकाहीँ आफूलाई ऐनामा हेरेर प्रश्न गर्नुपर्छ । “यदि त्यो शव मेरो आफ्नै परिवारको सदस्यको हुन्थ्यो भने, म सामान खोज्थेँ कि आफन्त ?”
उत्तर हामी सबैलाई थाहा छ ।
विपत्तिमा मानवीय संवेदना हराउन नदिऔँ। पीडितको दुःखलाई अवसर नबनाऔँ। मृतकको शरीरलाई उपेक्षा नगरौँ। संकटको घडीमा कमजोरमाथि स्वार्थको बोझ नथपौँ। आज अरूको पीडा हो भनेर चुप लाग्ने हो भने भोलि हाम्रो पीडामा पनि संसार चुप लाग्न सक्छ। मानवता लेनदेन होइन; यो संकटमा देखिने चरित्र हो । जिउँदासँग सहयोग गरौँ, घाइतेसँग सहानुभूति राखौँ,बेपत्ताको खोजी गरौँ,
र मृतकसँग कम्तीमा मानवता देखाऔँ ।
किनकि अन्ततः मानिसले संसार छोडेर जाँदा उसले आफ्नो धन सम्पत्ति लिएर जाँदैन। बाँकी रहन्छ त उसको सम्झना, उसको सम्बन्ध र उसलाई अन्तिम क्षणसम्म दिइएको सम्मान।सास रहेसम्म स्वार्थ हुन सक्छ, तर सास रोकिएपछि स्वार्थको कुनै अर्थ हुँदैन। त्यसैले साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ ।
नामी साप्ताहिक