रसुवाको भोटे कोशीमा आएको विध्वंसकारी बाढीले सम्पूर्ण नेपालीलाई धेरै नै चिन्तित तुल्याएको छ। राम्रोसँग खान, बस्न र निदाउन पनि नसक्ने अवस्थामा अहिले प्राय नेपालीहरू पुगेका छन् । बाढी के कारणले आयो ? कसरी आयो ? र किन आयो भन्ने कुराको सम्बन्धित विषयको विज्ञहरूले जति राम्रोसँग बुझेका छन्, त्यति हामी कसैले पनि बुझेका छैनौँ ।
भविष्यमा यस्ता घटनाहरू नघटोस् र घटेमा पनि मानव क्षति नहोस् भन्ने अभिप्रायले हामी सबैमा यस्तो समस्यासँग जुध्नका लागि सचेतनाको आवश्यकता पर्दछ । तर, यसका लागि हामीले विज्ञहरूकै अनुसरण नगरी हुँदैन । त्यसैले पनि हामीले जलवायु सम्बन्धी अन्य कुराहरूमा भन्दा यस्तो घटनाबाट कसरीआफू बच्ने र अरुलाई बचाउने भन्ने ज्ञान पर्याप्त रूपले लिन सक्नु नै आज हाम्रो लागि मुख्य परिस्थितिजन्य विषय बनेको छ।
सम्भवत नेपालको इतिहासमा हामीले नभोगेका कुरा अहिले भोग्नुपर्यो । तर यो घटनाले दिएको चिन्ता र पीडालाई मात्र हामीले सम्झेर बसेर अथवा पिरोलिएर समस्यासँग हामीले लड्न सक्दैनौ । त्यसैले नेपालमा र संसारभरि हामी छरिएर रहेका सबै नेपालीहरूले विविध राजनैतिक विचारधारा र सिद्धान्तबाट पैदा हुनेआपसी मनोमालिन्य बिर्सेर हातेमालो गरी समस्याको समाधानार्थ अगाडि बढ्नुनै आफ्नो कर्तव्य र दायित्व मान्नै पर्छ। अन्यथा विगतको जस्तो सधैँ हरेक कुरामा राजनीति गर्ने हाम्रो संस्कार यो संकटकालीन परिस्थितिमा पनि रह्यो भने हामी मान्छे हौँ भन्ने अधिकार पनि हामीले गुमाउनेछौँ ।
यो दुःखदायी घटना घटेपछि भएका उद्धार र राहत वितरणका कार्यहरूमा देखिएको आपसी विवाद यस्तो विषम परिस्थितिमा हाम्रो लागि सुहाउने कुरा होइन । यस्तो बेलामा त हामीले उद्धार र राहतमा लागेका राष्ट्रसेवकहरू र अन्य सबैलाई उनीहरुले आफ्नो शक्ति र गक्षअनुसार गरेका कामहरूलाई हौसला दिने कार्य गर्न सक्नु पर्छ । दोष मात्र लगाउने र खोट मात्र देखाउने विगतको हाम्रो संस्कारलाई यस्तो परिस्थितिमा पनि हामीले निरन्तरता दिनु भनेको हाम्रो लागि आफैले आफ्नो खुट्टा बन्चरोले काटे सरह नै हुन्छ ।
आफूसँग सम्बन्धित रगतका नाताहरू र आफन्तहरू गुमाउनुपर्दाको पीडालाई वास्तवमा सहन संसारको कुनै पनि मान्छेले सक्दैन। यो कुरा सत्य हो। तर के गर्ने नहुनु भइसक्यो । प्राकृतिक विपतसँग कसको के लाग्छ । त्यसैले यस्तो बेलामा सम्यमता धैर्यता र एक आपसमा करुणाभाव सबैले राखेर समस्याबाट बाहिर कसरी आउन सकिन्छ त्यसमा मात्र केन्द्रित भएर अगाडि बढ्नु बाहेक अरु विकल्प कुनै पनि छैन र हुँदैन।
हुन त हामी सकारात्मक कुरा र राम्रा कुराहरु छिट्टै सिक्न सक्ने मनस्थितिका छैनौँ । विगतमा हाम्रो देशमा भएको राजनैतिक विकृतिहरूले पनि यो कुरालाई राम्रैसँग दर्शाउँछ । यो पंक्तिकारले यो कुरा किन यहाँ उल्लेख गरेको भने संसारका अन्य देशहरूमा पनि यस्ता प्राकृतिक विपतहरू नआएको होइन । तर उनीहरुले कसरी एकआपसमा सद्भावनाका साथ हातेमालो गरेर त्यस्ता विपतहरूबाट आफूहरुलाई बाहिर ल्याए त्यसतर्फ पनि हाम्रो ध्यान जान सक्नुपर्छ ।
त्यसकारण सबैलाई चेतना हुनैपर्छ कि अब हामी नेपालीहरूले राजनैतिक, सामाजिक, आर्थिक र अन्य कारणहरूले विगतमा झैँ पैदा हुने बैमनस्यतालाई छोडेर यस्तो भयावह परिस्थितिमा मुलुकप्रतिको आ-आफ्नो कर्तव्य र उत्तरदायित्व बोध गरी एकजुट भएर अगाडि बढ्यौँ भने हामी संकटबाट बाहिर आउन सजिलै सक्छौँ ।
नामी साप्ताहिक
प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३ २०:५५