मानिस जन्मिएपछि मृत्यु निश्चित छ । त्यो पनि आफूले देखेभन्दा अनुभव गरेभन्दा र सोचेभन्दा फरक हुने गर्दछ । हामीले जति नै यसआराम गरेपनि, धन कमाएपनि पद र प्रदोन्नतिमा घमण्ड गरेपनि मृत्यु संसारको सबैभन्दा निर्विवाद सत्य हो।
तर विडम्बना, यही सत्यलाई सबैभन्दा धेरै बिर्सने प्राणी पनि मानिस नै हो । हामी भविष्यका अनेक योजना बनाउँछौँ, धन कमाउन दिन–रात खटिन्छौँ, पद, प्रतिष्ठा र सुविधाको पछि दौडिन्छौँ । तर, कहिल्यै पनि सोच्दैनौँ कि जीवनको अन्तिम यात्रा कहिले सुरु हुन्छ भन्ने कसैलाई थाहा हुँदैन।
आजको समाजमा मानिसहरू प्रविधि र सुविधाले धेरै सम्पन्न भएका छन् । घरहरू ठूला भएका छन्, तर मनहरू साँघुरा हुँदै गएका छन्। साधन बढेका छन्, तर सम्बन्धहरू कमजोर बनेका छन् । पहिले सुख–दुःखमा छिमेकी, आफन्त र साथीभाइ सहजै उपस्थित हुन्थे।
आज भने एउटै टोलमा बस्ने मानिसहरू महिनौँसम्म एकअर्कालाई भेट्दैनन् । सामाजिक सञ्जालमा हजारौँ साथी छन्, तर मन खोलेर कुरा गर्ने एक जना पनि भेट्न गाह्रो हुँदै गएको छ ।
धन कमाउनु गलत होइन, प्रगति गर्नु पनि नराम्रो होइन । तर धनका लागि सम्बन्ध गुमाउनु, पदका लागि मानवीयता बिर्सनु, अहंकारका कारण आफ्नै मानिसलाई टाढा बनाउनु भने जीवनको सबैभन्दा ठूलो घाटा हो ।
किनभने अन्तिम घडीमा बैंकको खाताले आँसु पुछ्दैन, पदले काँध थाम्दैन र सम्पत्तिले अन्तिम यात्रा पूरा गरिदिँदैन। त्यो बेला आवश्यक पर्छ,आफन्त, छिमेकी, साथीभाइ र समाज नै ।
नेपालको सामाजिक संरचना अझै पनि मानवीय सम्बन्धमा आधारित छ । मृत्यु भएपछि अन्तिम संस्कार गर्न, मलामी जान, परिवारलाई सान्त्वना दिन र दुःख बाँड्न मानिस नै चाहिन्छ । केही स्थानमा विद्युतीय शवदाह गृह भए पनि हाम्रो समाजको मूल आधार अझै पनि मानवीय सहकार्य र सामाजिक सम्बन्ध नै हो ।
अन्तिम यात्रामा धन होइन, मानिस साथमा हुन्छन् । त्यसैले धन साच्न होइन मान्छे राख्न जान्नुपर्छ। तपाईँको अहंकारका कारण मौन बसेका कतिपय मनहरू तपाईँ थलिँदा पनि सहयोगी नै बनेर देखा पर्नेछन् । त्यो व्यक्तिको स्वभाव हो। तपाईँको सम्मान होइन व्यक्तिभित्र रहेको मानवता हो।
त्यसैले जीवनलाई केवल म कति कमाउँछु ? कति बिलासी छु भन्ने प्रश्नले मात्र नहेरौँ । बरु म कति राम्रो मानिस बनेँ ? मेरो कारण कसैले मुस्कान पाएकि पाएन ? मैले सम्बन्ध जोगाएँ कि तोडेँ ? भन्ने प्रश्न पनि आफैँलाई सोधौँ । जीवनको वास्तविक सफलता बैंक खाताको अंकले होइन, हाम्रा लागि प्रार्थना गर्ने र सम्झने मानिसहरूको संख्याले पनि मापन हुन्छ ।
लोभको अन्त्य हुँदैन । एउटा इच्छा पूरा भएपछि अर्को जन्मिन्छ । पदको उचाइ बढ्दै जाँदा यदि विनम्रता घट्यो भने त्यो उचाइले पनि अर्थ राख्दैन। मानिसको महानता उसको सम्पत्तिमा होइन, उसको व्यवहारमा देखिन्छ । मीठो बोली, सहयोगी मन, क्षमाशील स्वभाव र इमानदार कर्मले कमाएको सम्मान नै सबैभन्दा ठूलो सम्पत्ति हो ।
हामी यो संसारमा सधैँका लागि आएका होइनौँ । केही समयका पाहुना मात्र हौँ । त्यसैले रिस भन्दा प्रेम धेरै बाँडौँ, घृणाभन्दा सम्मान धेरै दिऔँ, लोभभन्दा सन्तोष रोजौँ, र अहंकारभन्दा विनम्रता अपनाऔँ। समय छँदै आफ्ना मानिसहरूसँग भेटौँ, उनीहरूको सुख–दुःखमा साथ दिऔँ, किनकि भोलि कसको पालाे आउँछ, कसैले भन्न सक्दैन ।
र अन्त्यमा, मृत्युले सबैलाई समान बनाउँछ । त्यसैले जीवनलाई प्रतिस्पर्धाको दौड मात्र नबनाऔँ, मानवताको उत्सव बनाऔँ। धन, पद र प्रतिष्ठा जीवनका साधन हुन्, लक्ष्य होइनन् । लक्ष्य त यस्तो जीवन बाँच्नु हो, जहाँ हाम्रो अनुपस्थितिमा पनि मानिसहरूले सम्मानका साथ सम्झून् र भनून्,“उहाँ राम्रो मानिस हुनुहुन्थ्यो ।” यही नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो ।
नामी साप्ताहिक