बैंकक (थाइल्यान्ड) कहिलेकाहीँ एउटा पुस्तक केवल पुस्तक हुँदैन। त्यसमा एउटा भूगोल बोलिरहेको हुन्छ, एउटा समाजको स्मृति बाँचिरहेको हुन्छ र एउटा स्रष्टाको लामो समयदेखि मनभित्र थुनिएको सपना शब्द बनेर बाहिर आइरहेको हुन्छ। नेपाली नोबल साहित्यकार बिक्रम भक्त जोशीको ‘चोभार ब्लुज’त्यस्तै कृति बनेर नेपालबाट थाइल्यान्ड हुँदै विश्वका नेपाली पाठकमाझ पुग्ने यात्रामा अघि बढेको छ।
थाइल्यान्डको पटाया शहरमा आयोजित भव्य नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल तथा एशिया ग्लोबल एक्सिेलन्स अवार्ड २०२६ समारोहमा जोशीको चर्चित कृति ‘चोभार ब्लुज’को दोस्रो संस्करण विश्वव्यापी रूपमा लोकार्पण गरिनुका साथै उनलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ।
यो क्षण एउटा पुस्तकको दोस्रो संस्करण सार्वजनिक भएको सामान्य औपचारिकता मात्र रहेन। एउटै मञ्चमा जोशीको सिर्जना र जीवनकर्म दुवै सम्मानित भए। चार दशक लामो व्यावसायिक यात्रा र साहित्यिक साधनालाई एउटै वृत्तमा राखेर गरिएको यो सम्मानले नेपाली साहित्यमा एउटा फरक कथा थपेको छ।
बिक्रम भक्त जोशीको जीवन आफैंमा एउटा उपन्यासजस्तो लाग्छ । सिभिल इन्जिनियरिङ अध्ययन गरे। पेशागत जीवन इन्जिनियरका रूपमा अघि बढाए। त्यसपछि बैंकिङ क्षेत्रमा प्रवेश गरे र लामो समय बैंकिङ पेशामा सक्रिय रहे। जीवनको ठूलो हिस्सा व्यावसायिक जिम्मेवारी र संस्थागत काममा बित्यो। तर मनको एउटा कुनामा भने बचपनको त्यो साहित्य मोह कहिल्यै मरेन।
सानै उमेरदेखि साहित्यप्रति आकर्षित जोशीको मनमा थुप्रै कथा थिए, अनुभूतिहरू थिए, लेखिन बाँकी शब्दहरू थिए। जीवनको व्यस्तताले ती शब्दलाई कागजमा आउन नदिए पनि मनभित्र साहित्यको त्यो ज्वारभाटा भने रोकिएन। अन्ततः बैंकिङ जीवनबाट स्वेच्छिक अवकाश लिएपछि उनले आफूभित्र लामो समयदेखि गुम्सिएका ती कथा र अनुभूतिलाई अक्षरमा उतार्ने निर्णय गरे। ५० वर्षको उमेरमा सुरु भएको उनको साहित्यिक यात्रा आज अन्तर्राष्ट्रिय मञ्चसम्म आइपुगेको छ।
त्यसैले थाइल्यान्डमा प्रदान गरिएको लाइफटाइम अचिभमेन्ट अवार्डलाई केवल साहित्यिक सम्मानका रूपमा बुझ्नु अपूर्ण हुन्छ। यो इन्जिनियरिङ, बैंकिङ र साहित्य—जीवनका तीन फरक अध्यायलाई एउटै सम्मानमा जोडिएको अभूतपूर्व क्षण मात्र नभइकन सवैको नजर परेको नोटेसेबल पल हो। धेरैजना सम्मानित बनेपनि सवैको नजरमा नेपाली नोबल साहित्यकार बिक्रम भक्त जोशी र उनको अमर कृति ‘चोभार ब्लुज’ नोटेसेबल बने । यो पल ‘चोभार ब्लुज’ र बिक्रम भक्त जोशीको सीप, साधना र संकल्पको पहिचान र सम्मान हो।
त्यसमाथि, थाइल्यान्डमा भएको यो अन्तरराष्ट्रिय अभूतपूर्व अवार्ड समारोहमा थाइल्यान्डमा नै रहेकी प्राध्यापक भारती ओख्राबो लिम्बुनीको प्रमुख आतिथ्यतामा समारोह सम्पन्न हुनु तथा नेपालवाट काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसाल विशेष अतिथिको रुपमा आउनु आफैमा गौरबताको विषय हो।
साथमा गैरआवासीय नेपाली संघ–प्रवासी नेपाली संगठनका अध्यक्ष तथा थाई नेपाली संघका पूर्व अध्यक्ष कुमार कार्की, थाई नेपाली संघकी पूर्व अध्यक्ष वासना राई लगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागिता हुनुले यसको गरिमा र उचाई अझ बढ्ेको पाइएको छ। आयोजक हिमालय कम्युनिटी प्रोजेक्टका संस्थापक अध्यक्ष रामप्रसाद सापकोटाको सभापतित्वमा उक्त अन्तर्राष्ट्रिय सम्मान कार्यक्रम सम्पन्न भएको थियो।
यसरी हेर्दा थाइल्यान्डमा सम्पन्न समारोह एउटा अवार्ड कार्यक्रम मात्र रहेन। नेपालको साहित्य, सीप, संस्कृति, पहिचान र प्रवासमा नेपाली प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा जोड्ने प्रयासका रूपमा गरिएको ठूलो छलाङको रुपमा मानिएको छ।
विक्रम भक्त जोशीको साहित्यिक परिचय स्थापित गर्ने प्रमुख कृति हो—‘चोभार ब्लुज’। २०७९ सालमा प्रकाशित यो उनको पहिलो कृति हो, जसमा १९ वटा कथा समेटिएका छन्। पुस्तकलाई साहित्यपोस्टले प्रकाशन गरेको हो। तर ‘चोभार ब्लुज’को विशेषता कथाको संख्यामा मात्र छैन। कृतिले काठमाडौं उपत्यकाको भूगोल, वाग्मती सभ्यता, जनजीवन, संस्कृतिका अवशेष र आधुनिकतासँगै बदलिँदै गएको काठमाडौंलाई कथात्मक शैलीमा समेटेको साहित्यिक अमिट दस्तावेज हो।
‘चोभार ब्लुज’मा प्रयोग भएको शैलीलाई जोशीले ‘निकथा’का रूपमा अगाडि सारेका छन्। अप्रत्याशित मोड, यात्राबाट प्राप्त अनुभूति, स्थानीय परिवेश र यथार्थलाई कल्पनाको स्पर्शसँग जोडेर कथा बुन्ने उनको अनुपम शैलीले नेपाली साहित्यमा छुट्टै मिठास सिर्जना गरेको छ । जोशीको साहित्यिक यात्रा तुलनात्मक रूपमा छोटो भए पनि ‘चोभार ब्लुज’ले उनलाई तीव्र गतिमा स्थापित गरेको देखिन्छ।
यसअघि पनि जोशीले साहित्यका क्षेत्रमा विभिन्न सम्मान प्राप्त गरिसकेका छन्। सन् २०२४ मा जोशीलाई थाइल्यान्डको राजधानी बैंककमा एशिया नेपाल इन्टरनेशनल नोबल लिट्रेचर अवार्ड प्रदान गरिएको थियो। त्यसको एक महिना लगतै संयुक्त अरब इमिरेट्सको विश्वप्रसिद्ध शहर दुबईमा आयोजित एनएल इन्टरनेशनल अवार्डमा पनि अन्तरराष्ट्रिय अवार्ड पाएका थिए।
एक पछि अर्को देशमा अवार्ड पाउने भाग्यमानी स्रष्टाका रुपमा जोशीलाई लिइएको छ। यसअर्थमा ‘चोभार ब्लुज’ जोशीको साहित्यिक पहिचानको प्रमुख आधार बनेको छ। र बन्दैगएको छ। साहित्यिक क्षेत्रमा उनको उपस्थिति यति छोटो अवधिमै प्रभावशाली बन्नुको एउटा कारण कृतिको विषय र शैली नै मानिएको छ।
नेपालको भूगोल र समाजलाई कथाको केन्द्र बनाएको पुस्तक नेपालको सीमाबाहिर पुगेर नेपाली समुदायको अन्तर्राष्ट्रिय मञ्चमा लोकार्पण हुनु नेपाली साहित्यको प्रवास यात्राको प्रतीकात्मक क्षण बनेको छ। चोभारको स्थानीय परिवेशबाट जन्मिएका कथाहरू थाइल्यान्डमा पुग्नुले नेपाली साहित्यको पाठकीय भूगोल पनि विस्तार हुँदै गएको संकेत गर्छ।
विशेषतः नेपाल–थाइल्यान्ड सम्बन्ध, प्रवासी नेपाली समुदाय र नेपाली भाषा–संस्कृतिको संरक्षणलाई केन्द्रमा राखेर आयोजना गरिएको अन्तर्राष्ट्रिय समारोहमा कृति सार्वजनिक गरिनुले यसको सांस्कृतिक पक्षलाई अझ बलियो बनाएको छ। समारोहमा साहित्यसँगै पत्रकारिता, पर्यटन, उद्यम, सामाजिक सेवा, संस्कृति, खेलकुदलगायत विभिन्न क्षेत्रमा योगदान पु¥याएका नेपाली व्यक्तित्वलाई सम्मान गरिएको थियो।
र अन्तमा, विक्रम भक्त जोशीकै शव्दमा भन्नुपर्दा ’चोभार ब्लुज’ हिँड्न थालेको चार वर्ष भयो । यस दौरान यसले दोश्रो संस्करणको संघार नाघेको छ । यसको यात्रा पनि अजिब छ । यो कहिले दुबईको बुर्ज खलिफाको सयौं तल्लामाथिबाट संसार चियाउँछ त कहिले कालापत्थरबाट विश्वको छाना सगरमाथालाई “हेल्लो“ भन्छ । कहिले दुबईकै मिराकल गार्डेनको सुन्दर बगैंचामा सुस्ताउँदै गरेको भेटिन्छ भने यसपटक यिनी थाइल्यान्डको समुद्री किनारमा सुसेल्दै हिँडेको भेटिएका छन् ।