काठमाडौं। कुनै पनि कार्यक्रम सफल बनाउन केवल आर्थिक स्रोत पर्याप्त हुँदैन, त्यसका लागि स्पष्ट उद्देश्य, निरन्तर मेहनत, व्यवस्थापन क्षमता र समाजप्रतिको सकारात्मक सोच आवश्यक हुन्छ। यही कुरालाई प्रमाणित गर्दै एभरग्रीन वल्र्डवाइड इन्टरटेनमेन्टका अध्यक्ष गोपाल ढकाल ‘छन्दे’को एकल प्रयासमा आयोजित ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०८३’ भव्य, सभ्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ।
आफ्नो क्षेत्रमा विशेष योगदान पु¥याउँदै आएका विभिन्न विधाका व्यक्तित्वहरूको सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले कला, संस्कृति र समाजसेवाको क्षेत्रमा नयाँ ऊर्जा थपेको छ। सीमित स्रोत र चुनौतीका बीच पनि एउटा राम्रो सोच र दृढ संकल्पका साथ गरिएको प्रयासले कस्तो परिणाम दिन सक्छ भन्ने उदाहरणका रूपमा यस कार्यक्रमलाई हेर्न सकिन्छ।
गोपाल ढकाल ‘छन्दे’ नेपाली कला क्षेत्रमा परिचित नाम हो। कलाकारितासँगै कार्यक्रम आयोजना, प्रतिभाको सम्मान र नेपाली मौलिक संस्कृतिको संरक्षणमा उनको सक्रियता निरन्तर देखिँदै आएको छ। आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई खोजी–खोजी सम्मान गर्ने उनको अभियानले धेरैको ध्यान आकर्षित गरेको छ।

साउन १५ गते नेपाली मौलिक पर्व खीर खाने दिनको अवसर पारेर चलचित्र विकास बोर्ड, चावहिल, काठमाडौंमा सम्पन्न भएको उक्त कार्यक्रममा चलचित्र, स्वास्थ्य, व्यवसाय, सौन्दर्य, पर्यटन, पत्रकारिता, गीत–संगीतलगायत विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रमको विशेष पक्ष भनेको केवल चर्चित व्यक्तिहरूलाई मात्र होइन, आफ्नो क्षेत्रमा निरन्तर संघर्ष गर्दै पहिचान बनाउन सफल प्रतिभाहरूलाई पनि सम्मानको दायरामा ल्याउनु थियो। सम्मानले व्यक्तिको विगतको योगदानको कदर मात्र गर्दैन, आगामी यात्राका लागि थप हौसला र जिम्मेवारी पनि प्रदान गर्छ भन्ने सन्देश कार्यक्रमले दिएको छ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने नेपाली चलचित्र क्षेत्रका अग्रज कलाकार, निर्देशक, पत्रकार, व्यवसायी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रथम नेपाली चलचित्र नायिका भुवन चन्द, प्रथम नेपाली रंगीन चलचित्र कुमारीकी अभिनेत्री चैतन्यदेवी सिंह, हास्य साम्राज्ञी बसुन्धरा भुसाल, कलाकारहरू कृष्ण मल्ल, रवीन्द्र खड्का, मोहन निरौला, उत्तम केसी लगायतका विशिष्ट कलाकारहरुको उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।
यस्ता कार्यक्रम आयोजना गर्नु आफैंमा ठूलो चुनौती हो। धेरैपटक सम्मान कार्यक्रमहरू औपचारिकतामा सीमित हुने गरेको अवस्थामा गोपाल ढकाल ‘छन्दे’को प्रयासले सम्मानलाई अर्थपूर्ण बनाउने प्रयास गरेको देखिन्छ। सम्मानित व्यक्तित्वहरूको योगदानलाई सार्वजनिक रूपमा उजागर गर्नु र नयाँ पुस्तालाई प्रेरणा दिनु नै यस्ता कार्यक्रमको मुख्य उद्देश्य हुनुपर्छ।
कार्यक्रममा सहभागी अतिथि तथा दर्शकहरूले पनि यसको व्यवस्थापन, सभ्यता र उद्देश्यको प्रशंसा गरेका थिए। कलाकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तिले आफ्नो अनुभव र सम्बन्धलाई सकारात्मक काममा प्रयोग गर्दा समाजले त्यसको प्रत्यक्ष लाभ पाउने उदाहरण यस कार्यक्रमले प्रस्तुत गरेको छ।
गोपाल ढकाल ‘छन्दे’को यो प्रयास केवल एउटा कार्यक्रम आयोजना गर्नुमा सीमित छैन, यो नेपाली कला, संस्कृति र प्रतिभाको सम्मान गर्ने अभियानको एउटा महत्वपूर्ण पाइला पनि हो। आफ्नो पहिचान बनाइसकेका मात्र होइन, संघर्षरत र सिर्जनशील व्यक्तिहरूलाई पनि सम्मानको अवसर प्रदान गर्नु उनको सकारात्मक सोचको प्रमाण हो।
आजको समयमा चर्चा र प्रचारभन्दा पनि वास्तविक योगदानको मूल्यांकन गर्ने संस्कार आवश्यक छ। यही आवश्यकतालाई आत्मसात गर्दै आयोजना गरिएको राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रमले नेपाली समाजमा सम्मानको संस्कृति विकास गर्न सहयोग पुर्याएको छ।
समग्रमा, गोपाल ढकाल ‘छन्दे’को नेतृत्व र एकल प्रयासमा सम्पन्न भएको यो कार्यक्रमले एउटा महत्वपूर्ण सन्देश दिएको छ— राम्रो उद्देश्य, इमानदार प्रयास र सकारात्मक सोच भएमा सीमित स्रोतबाट पनि ऐतिहासिक काम गर्न सकिन्छ। कला र संस्कृतिको क्षेत्रमा यस्ता सिर्जनात्मक अभियानहरू निरन्तर अगाडि बढ्न सके नेपाली प्रतिभाको सम्मान र पहिचान अझ फराकिलो बन्ने निश्चित छ।
शिवहरि बैरागीलाई ‘दीर्घ साधना सम्मान’–
पचासजनालाई एभरग्रीन वल्र्डवाइड भव्य सम्मान
कुनै पनि क्षेत्रको यात्रा छोटो समयमा निर्माण हुँदैन। वर्षौँको संघर्ष, निरन्तर साधना, सिर्जनशीलता र समाजप्रतिको जिम्मेवारीले मात्र एउटा व्यक्तित्वको पहिचान निर्माण हुन्छ। यस्तै कर्मशील र समर्पित व्यक्तित्वहरूको योगदानलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०८३’ भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।
एभरग्रीन वल्र्डवाइड इन्टरटेनमेन्टको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा यसै वर्षदेखि सुरु गरिएको विशेष ‘दीर्घ साधना सम्मान पुरस्कार’ निरन्तर नेपाली चलचित्र क्षेत्रमा सक्रिय विशिष्ट चलचित्रकर्मी शिवहरि नेपाल ‘बैरागी’लाई प्रदान गरिएको छ। नगद रु.३३ हजार ३ सय ३३ रुपैयाँ राशिसहित प्रदान गरिएको उक्त सम्मानले नेपाली चलचित्र क्षेत्रमा उनको लामो योगदान, समर्पण र साधनाको उच्च मूल्यांकन गरेको छ।
विभिन्न क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल व्यक्तित्वहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा चलचित्र, सञ्चार, स्वास्थ्य, शिक्षा, साहित्य, व्यवसाय, समाजसेवा, सौन्दर्य, गीत–संगीत तथा संस्कृतिका क्षेत्रमा योगदान पु¥याउने करिब ५० जना व्यक्तित्वहरू सम्मानित भएका छन्।
सम्मानित हुने व्यक्तित्वहरूमा विशिष्ट सञ्चारकर्मी, उद्घोषिका तथा समाचारवाचिका कल्याणी रिमाल, विशिष्ट चलचित्रकर्मी, सुभाष प्रसाद गजुरेल, श्याम राई, बद्री प्रसाद पुडासैनी, नरेन्द्र थापा, आरपी पन्त, कमलकान्त मैनाली, सुशील पोखरेल, एन.बी. महर्जन, कृष्ण प्रसाद ढुङ्गाना, विजय देउजा, मुकुन्द थापा, उमेश खड्का, राजेन्द्र केसी (राजु), धिरेन शाक्य, चलचित्रकर्मी तथा व्यवसायी किशोर घिमिरे, चलचित्रकर्मी राजु शाही, विशिष्ट चलचित्रकर्मी तथा कलाकार शिवशंकर प्रसाद रिजाल (जोगिन्दर), अभिनेता तथा निर्देशक शिबन पोखरेल, चलचित्र निर्देशक तथा सञ्चारकर्मी जनक खड्का, कलाकार तथा निर्देशक इन्द्रबहादुर लामा तामाङ (खम्बे), कलाकार लेखक तथा निर्देशक विनयराज पौडेल, निर्देशक देवेन्द्र पाण्डे, कलाकार चन्द्रकला राई (लब्ली), नायिका तथा मोडल सबिना कार्की रहेका छन्।
त्यस्तै विश्व साइकालयात्री तथा विश्व शान्तिका अभियन्ता पुष्कर शाह, वरिष्ठ नेत्ररोग विशेषज्ञ, शिक्षाविद् तथा अनुसन्धानकर्ता प्रा.डा. मिनु चौधरी, नृत्य–थेरापी प्रशिक्षक चरण प्रधान, साहित्यकार राधा पराजुली भण्डारी, होटल सञ्चालन निर्देशक दिपेन्द्र सिंह, शिक्षासेवी तथा समाजसेवी छवि घिमिरे, शिक्षाविद् तथा शैक्षिक नेतृत्वकर्ता रमिला सुवेदी, वरिष्ठ पत्रकार तथा गीतकार शान्तिप्रिय, वरिष्ठ पत्रकार श्याम स्मृत, विशिष्ट सम्पादक बनिश शाह, शैक्षिक व्यक्तित्व बैकुण्ठ पाठक, वरिष्ठ समाजसेवी विश्वराम माकजु, कृषि अभियन्ता तथा उद्योगपति हेमकान्त पराजुली, गायक तथा संगीतकार तिलकध्वज कट्टेल, अडियो–भिडियो निर्देशक तथा क्रिएटिभ सञ्चारकर्मी मनिषराज पौडेल, नायिका तथा मोडल प्रेरणा शर्मा, वरिष्ठ समाजसेवी उद्धव प्रसाद पाण्डे, गायक तथा समाजसेवी गणेश थापा, अटो व्यवसायी तथा समाजसेवी रोशनकुमार श्रेष्ठ, छायाँकार, सम्पादक तथा कलाकार अमृत सागर, वरिष्ठ नाट्यकर्मी तथा चलचित्रकर्मी जेबी डिसी, नायिका तथा मोडल मोनिका दाहाल, विशिष्ट भिजुअल इफेक्ट्सकर्ता अच्युत बजगाई, समाजसेवी तथा महिला सशक्तीकरण अभियन्ता दिलमाया तामाङ राना लगायत रहेका छन्।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने नेपाली चलचित्र क्षेत्रका अग्रज कलाकार, निर्देशक, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिताले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो। नेपाली मौलिक संस्कृति संरक्षण र प्रतिभाको सम्मानलाई प्राथमिकता दिइएको उक्त कार्यक्रममा बालाजुको नौमती बाजा समूहले सांस्कृतिक रौनक थपेको थियो। सुप्रसिद्ध नृत्य निर्देशक चुडामणि फुयाँलको नृत्य निर्देशनमा गायक तथा संगीतकार कृष्ण भट्टराईको प्रस्तुति, एन.के डान्स एन्ड फिल्म प्रोडक्सन तथा महान् सिद्धार्थ हाइस्कुलका विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुतिले उपस्थित दर्शकको मन जितेको थियो।
कार्यक्रमको आयोजनामा चलचित्र विकास वोर्ड लगायत विभिन्न संघसंस्था तथा सहयोगीहरूको महत्वपूर्ण भूमिका रहेको थियो। सम्मान समारोहलाई सफल बनाउन चलचित्रकर्मी रवीन्द्र खड्का, नायक तथा मोडल श्रीदेव भट्टराई, सञ्चारकर्मी सोनितराज ढुंगेल, समाजसेवी राजन थापा, कलाकार तथा निर्देशक जीवन थापा, छायाँकार हर्कमान वाइबा ‘रिदम’, स्वास्थ्यकर्मी सिकृता वस्ती तथा गीतकार एवं लेखक भानुभक्त ढकाल लगायतको योगदान रहेको थियो। कार्यक्रमलाई संचारकर्मी, गायक तथा संगीतकार सरोज कोईरालाले संचालन गरेका थिए । अफिसियली फोटोग्राफी बद्री थापाको थियो। समग्रमा, गोपाल ढकाल ‘छन्दे’को नेतृत्वमा सम्पन्न यो कार्यक्रम सम्मानको औपचारिकता मात्र नभई नेपाली कला, संस्कृति र समाजका लागि योगदान दिने कर्मशील व्यक्तित्वहरूको कदर गर्ने एउटा सकारात्मक अभियानका रूपमा स्थापित भएको छ।