तिम्रो सोकेसमा सजिएका
किताबहरु मध्यकै
सबैभन्दा दुःखी किताब हुँ म
आफैँ सँग विलौना गरिरहेको
केही पनि नभएको जस्तो
कोहि पनि नभएको जस्तो
म त्यही किताब हुँ
धेरै पहिले
कुनै पुरानो पुस्तकालयबाट
निक्कै जतनले सुटुक्क टिपेका थियौ तिमीले
बर्षौसम्म
सजाइराख्यौ आफ्नो सोकेसमा
हावाका झोँकाहरु सँगै आएका
धूलोकणहरुले रंगिरहेँ म
कहिले
मेरै ढाडमाथि ओछ्याएर श्वेत कागज
कुन्नी के के ! के-के
केरमेट- केरमेट गरिरहन्थ्यौ तिमी
प्रत्येक सरस्वती पुजामा
सुम्सुम्याउँदै चढाउने गर्थ्यौ
अवीर, केशरी, फुलपाती र नैवेध
हेर न आज !
यत्तिका बर्षपछि एक्कासी !
तिमीलाई मेरो याद आएको बेला
म- त
च्यातिदाँ च्यातिदाँ
बाँकी रहेको कागजको टुक्रा मात्रै भएँ छु
फगत ! कागजको टुक्रा
केही पनि नभएको जस्तो
कोहि पनि नभएको जस्तो
मेरो कुनै सुरुवात छैन
मेरो कुनै अन्त्य छैन
मेरो कुनै कहानी छैन।
प्रकाशित मिति: शनिबार, असोज २०, २०८० ०८:१९