Top Navigation
Main Navigation
शुक्रबार, जेठ ८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शुक्रबार, जेठ ८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • गाउँमै निःशुल्क विज्ञान पढाउने जनता नमूना मावि
गाउँमै निःशुल्क विज्ञान पढाउने जनता नमूना मावि शिक्षक नखटेसम्म गुणस्तर सुधार हुँदैन: प्रधानाध्यापक राई 
विदुर कटुवाल
विदुर कटुवाल शुक्रबार, जेठ ८, २०८३

उदयपुर । उदयपुरको बेलका नगरपालिका–४, गुरुङचौरीमा अवस्थित श्री जनता माध्यमिक विद्यालय आज केवल एउटा सरकारी विद्यालयको नाम मात्र होइन, ग्रामीण शिक्षामा परिवर्तनको एउटा जीवित कथा बन्दै गएको छ । विज्ञान विषयमा निःशुल्क अध्ययनको अवसर, नेपाली र अंग्रेजी दुवै माध्यममा गुणस्तरीय शिक्षाको व्यवस्था, चार वर्षे सिभिल इन्जिनियरिङ कार्यक्रम, आफ्नै लगानीमा विद्यालय बस सञ्चालन, खेलकुद तथा अतिरिक्त क्रियाकलापको विस्तार, र हजारौँ विद्यार्थीको आकर्षणले यो विद्यालयले सरकारी विद्यालयबारेको पुरानो सोच बदल्ने प्रयास गरिरहेको छ । 
      
सीमित स्रोत, भवन अभाव, शिक्षक दरबन्दीको कमी र जग्गा अतिक्रमणजस्ता चुनौतीबीच पनि विद्यालयले गाउँमै गुणस्तरीय शिक्षा सम्भव छ भन्ने विश्वास जगाउँदै अघि बढिरहेको छ । ‘हामीले एउटा मात्र सपना देख्यौँ–गाउँका विद्यार्थी विज्ञान पढ्नका लागि शहर धाउन नपरोस्,’ विद्यालयका प्रधानाध्यापक सम्मर राई भन्छन्, ‘गाउँमै अवसर पाएपछि विद्यार्थीको आत्मविश्वास बढ्छ, अभिभावकको खर्च घट्छ र समाजमै सकारात्मक परिवर्तन आउँछ ।’
     
विद्यालयको यात्रा कुनै सामान्य शैक्षिक संस्थाको कथा होइन । यो एउटा त्यस्तो संस्थाको कथा हो, जसले सीमित साधन–स्रोतका बीच पनि आफ्नो समुदायको भविष्य निर्माण गर्ने जिम्मेवारीलाई गम्भीरतापूर्वक लिएको छ ।
     
विद्यालयको इतिहास २०२९ सालबाट सुरु हुन्छ । त्यस समय कक्षा ५ सम्मको अध्ययन–अध्यापन सञ्चालन गर्ने उद्देश्यसहित स्थापना भएको विद्यालय आज शिशु कक्षादेखि कक्षा १२ सम्मको शिक्षाको केन्द्र बनेको छ । विद्यालयले समयसँगै आफ्नो दायरा विस्तार गर्दै २०४२ सालदेखि कक्षा १० सम्म पढाइ सुरु ग¥यो । पछि २०६४ सालबाट उच्च माध्यमिक तह अर्थात् कक्षा ११ र १२ को पढाइ पनि सुरु भयो ।
     
आज विद्यालयमा शिशु कक्षादेखि कक्षा १२ सम्म अध्ययन हुन्छ । शिक्षा, व्यवस्थापन र विज्ञान संकाय सञ्चालनमा छन् । यससँगै विद्यालयले प्राविधिक शिक्षालाई समेत महत्व दिँदै चार वर्षे सिभिल इन्जिनियरिङ कार्यक्रम सञ्चालन गरिरहेको छ । ग्रामीण क्षेत्रमा बसेर प्राविधिक शिक्षा हासिल गर्न सकिने व्यवस्था हुनु स्थानीय समुदायका लागि ठूलो उपलब्धिका रूपमा हेरिएको छ ।
     
२०७७ साल असारदेखि विद्यालयले ‘जनता नमूना माध्यमिक विद्यालय’ को पहिचान प्राप्त ग¥यो। यही समयपछि विद्यालयको शैक्षिक र संस्थागत विकासले नयाँ गति लिएको देखिन्छ । संयोग पनि यस्तै रह्यो–२०७७ सालमै सम्मर राई विद्यालयको प्रधानाध्यापक बने । विद्यालय परिवारका अनुसार त्यसपछि विद्यालयमा शैक्षिक वातावरण, व्यवस्थापन, विद्यार्थी आकर्षण तथा योजनागत सुधार उल्लेख्य रूपमा अघि बढेको छ ।

ग्रामीण क्षेत्रका धेरै विद्यार्थी आर्थिक कारणले विज्ञान विषय पढ्नबाट वञ्चित हुने गरेका छन् । महँगो शुल्क, पुस्तक खर्च, प्रयोगशाला खर्च, कोचिङ तथा शहरमा बसाइको अतिरिक्त आर्थिक भारका कारण धेरै अभिभावकले आफ्ना छोराछोरीलाई विज्ञान पढाउन सक्दैनन् । यही समस्यालाई बुझेर जनता माध्यमिक विद्यालयले फरक निर्णय गर्‍यो । विज्ञान शिक्षा गाउँमै सहज र लगभग निःशुल्क बनाउने ।

प्रधानाध्यापक सम्मर राईका अनुसार विद्यालयले विज्ञान संकायमा अध्ययन गर्ने विद्यार्थीबाट केवल दुई हजार रुपैयाँ भर्ना शुल्क मात्र लिन्छ । त्यसबाहेक ट्युसन, पुस्तक, प्राक्टिकल र अन्य धेरै खर्च विद्यालयले व्यवस्थापन गर्ने प्रयास गरेको छ । ‘गाउँका विद्यार्थी भाइबहिनीले विज्ञान पढ्न बाहिर महँगो शुल्क तिरेर जान नपरोस् भन्ने हाम्रो सोच हो । हामी विज्ञानमा दुई हजार रुपैयाँ भर्ना शुल्क लिन्छौँ, बाँकी धेरै कुरा निःशुल्क बनाएका छौँ । अभिभावक खुशी हुनुहुन्छ, त्यो नै हाम्रो सफलता हो ।’  प्रधानाध्यापक राई भने ।

यस निर्णयपछि अभिभावकमा उत्साह बढेको विद्यालय प्रशासन बताउँछ । आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई गाउँमै विज्ञान शिक्षा उपलब्ध भएपछि धेरै विद्यार्थीले आफ्नो शैक्षिक सपना निरन्तरता दिन सकेका छन् । विद्यालयको अर्को महत्वपूर्ण विशेषता भनेको नेपाली र अंग्रेजी दुवै माध्यममा अध्ययनको व्यवस्था हुनु हो । विद्यालयमा शिशु कक्षादेखि कक्षा १२ सम्म विद्यार्थीले आफ्नो आवश्यकता र रुचिअनुसार माध्यम छनोट गर्न सक्छन् ।

अंग्रेजी माध्यममा अध्ययन गर्न चाहने विद्यार्थीका लागि विद्यालयले वार्षिक शुल्कको व्यवस्था गरेको छ । प्रधानाध्यापक राईका अनुसार नर्सरी कक्षामा अध्ययनका लागि करिब ६ हजार रुपैयाँ शुल्क लाग्छ भने कक्षा १० सम्म पुग्दा वार्षिक शुल्क करिब १५ हजार ६ सय रुपैयाँसम्म पुग्छ । अन्य कक्षाका लागि स्तरअनुसार शुल्क निर्धारण गरिएको छ । तर विद्यालयको दाबी छ–गुणस्तर, अनुशासन र शैक्षिक वातावरणका कारण निजी विद्यालयभन्दा सरकारी विद्यालयमा आकर्षण बढिरहेको छ । ‘यस क्षेत्रमा निजी विद्यालयभन्दा हाम्रो विद्यालयमा विद्यार्थीको चाप बढी छ । निजी विद्यालयभन्दा अंग्रेजी माध्यम पढ्ने विद्यार्थीसमेत हामीसँग धेरै छन्, राईले भने ।

हाल विद्यालयमा करिब २ हजार विद्यार्थीहरु अध्ययनरत छन् । नयाँ भर्ना कार्यक्रम जारी रहेकाले यो संख्या अझ बढेर जाने अनुमान विद्यालयले गरेको छ । ग्रामीण क्षेत्रमा सरकारी विद्यालयमा यति ठूलो विद्यार्थी संख्या हुनु भनेको आफैँमा विद्यालयप्रतिको विश्वास र जिम्मेवारीको संकेत मानिन्छ ।

विद्यालय पुग्न टाढाबाट आउने विद्यार्थीलाई सहज बनाउने उद्देश्यले विद्यालयले ६ वटा स्कूल बस सञ्चालन गरेको छ । विशेष कुरा के छ भने, ती बस कुनै सरकारी अनुदानबाट खरिद गरिएका होइनन् । विद्यालयले आफ्नै स्रोत, ऋण तथा सापटीको व्यवस्था गरेर बस खरिद गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज तामाङका अनुसार विद्यार्थीको सुरक्षा र नियमित उपस्थितिका लागि बस सेवा प्रभावकारी बनेको छ । ‘छ वटा बस ऋण सापटीमा खरिद गरेका छौँ । त्यसको भुक्तानी व्यवस्थापन गर्न स्थानीय, प्रदेश र संघीय सरकारसँग सहयोगको अपेक्षा गरेका छौँ । सरकारले साथ दिए विद्यालयलाई थप सहज हुन्थ्यो।’ अध्यक्ष तामाङले थप्दै भने । विद्यालयले केवल परीक्षा केन्द्रित शिक्षा मात्र होइन, विद्यार्थीको समग्र व्यक्तित्व विकासलाई पनि महत्व दिएको छ । विद्यालयमा महिलाका लागि फुटबल एकेडेमी सञ्चालन भइरहेको छ । यससँगै तेक्वान्दो, भलिबल प्रशिक्षण तथा नृत्य कार्यक्रमसमेत सञ्चालनमा छन् ।

विद्यालय प्रशासनका अनुसार अतिरिक्त गतिविधिले विद्यार्थीको आत्मविश्वास, नेतृत्व क्षमता, अनुशासन र सामाजिक सम्बन्ध सुधार्न महत्वपूर्ण भूमिका खेलेको छ । विद्यालयमा सरकारी तथा निजी स्रोतबाट व्यवस्थापन गरिएका गरी जम्मा ७२ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् । तीमध्ये ३५ जना सरकारी दरबन्दीअन्तर्गत छन् भने बाँकी निजी स्रोतबाट नियुक्त गरिएका हुन् । बस चालक, सुरक्षा गार्ड तथा अन्य सहयोगी कर्मचारी पनि निजी व्यवस्थापनमार्फत राखिएका छन् ।

विद्यालयका अनुसार सरकारी शिक्षक दरबन्दी अपर्याप्त भएकाले निजी स्रोतको सहारा लिनुपरेको छ । विशेषगरी कम्प्युटर शिक्षकको दरबन्दी नहुनु चुनौतीपूर्ण रहेको अध्यक्ष तामाङको दाबी छ । ‘हामीले कम्प्युटर शिक्षक दरबन्दी माग्दा पनि पाएका छैनौँ । धेरै कुरा निजी लगानीबाट धानिरहेका छौँ।’ उनले भने ।

यो उपलब्धिसँगै विद्यालयका चुनौती पनि साना छैनन् । बढ्दो विद्यार्थी संख्याअनुसार पर्याप्त भवन अभाव रहेको विद्यालय प्रशासन बताउँछ । हाल विद्यालयमा पाँच वटा पक्की र चार वटा कच्ची गरी जम्मा नौ वटा भवन मात्र छन् । विज्ञान प्रयोगशालाका लागि छुट्टै भवन अभाव छ । क्यान्टिन सञ्चालनका लागि भवन छैन । होस्टेल निर्माणको आवश्यकता पनि महसुस गरिएको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तामाङका अनुसार विद्यालयको डीपीआर तयार भइसकेको छ र भवन तथा पूर्वाधार विस्तारका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारसँग सहयोग माग गरिएको छ । अन्तर्राष्ट्रिय दातृ निकायसँग समेत समन्वय भइरहेको छ । ‘हामी विद्यालयको घेराबेरा, भवन र पूर्वाधार विस्तारका लागि पहल गरिरहेका छौँ। तीनै तहका सरकारसँग सहयोग खोजिरहेका छौँ ।’ उनले भने ।

विद्यालयको अर्को संवेदनशील विषय हो–जग्गा अतिक्रमण । विद्यालय स्थापना हुँदा २७ विगाहा क्षेत्रफल रहेको जग्गा अहिले अतिक्रमणका कारण २७ कठ्ठामा सीमित भएको विद्यालय प्रशासन बताउँछ । विद्यालय व्यवस्थापन समितिले बाँकी जग्गा संरक्षणलाई प्राथमिकतामा राखेको जनाएको छ । घेराबेराको काम अझै बाँकी छ, तर योजना र डीपीआर तयार भइसकेको छ ।

प्रधानाध्यापक सम्मर राई सरकारी विद्यालयमा लागू गरिएको ‘निःशुल्क शिक्षा’को अवधारणामाथि प्रश्न उठाउँछन् । उनका अनुसार पुस्तक र शिक्षक उपलब्ध गराउँदैमा शिक्षा पूर्ण रूपमा निःशुल्क हुँदैन । विद्यालय सञ्चालनका लागि विद्युत, इन्टरनेट, भवन मर्मत तथा अतिरिक्त व्यवस्थापन खर्च पनि महत्वपूर्ण हुन्छ । ‘निःशुल्क शिक्षाको सरकारी परिभाषा सुधारिनुपर्छ । किताब मात्र दिएर हुँदैन, शिक्षक मात्र दिएर पनि हुँदैन । विद्युत, इन्टरनेट र मर्मत खर्चसमेत सरकारले धान्नुपर्छ ।’ प्रअ राईले पुनः भने ।

विद्यालयका अनुसार सरकारले मसलन्द खर्चका नाममा वार्षिक करिब ६० हजार रुपैयाँ उपलब्ध गराउँछ, जुन आवश्यकताको तुलनामा निकै कम रहेको छ । विद्यालय व्यवस्थापनले एउटा फरक अभ्यास पनि अघि बढाएको छ । विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक–कर्मचारी तथा जनप्रतिनिधिका छोराछोरीलाई यही विद्यालयमा अध्ययन गराउने नियम बनाइएको छ । विद्यालय प्रशासनको विश्वास छ कि यसले विद्यालयप्रति उत्तरदायित्व बढाएको छ र गुणस्तर सुधारमा सकारात्मक दबाब सिर्जना गरेको छ ।

श्री जनता माध्यमिक विद्यालय बेलका एउटा यस्तो उदाहरण हो, जसले देखाएको छ–सीमित स्रोतसाधन भए पनि दूरदृष्टि, नेतृत्व, समुदायको साथ र सकारात्मक सोच भए परिवर्तन सम्भव छ । गाउँमै विज्ञान शिक्षा निःशुल्क बनाउने प्रयास, प्राविधिक शिक्षाको पहुँच विस्तार, नेपाली र अंग्रेजी दुवै माध्यम सञ्चालन, आफ्नै लगानीमा स्कूल बस सेवा, अतिरिक्त क्रियाकलापमा जोड, र हजारौँ विद्यार्थीको विश्वास जित्नु सामान्य उपलब्धि होइन ।

अवश्य, विद्यालयसँग भवन अभाव, शिक्षक दरबन्दी, कम्प्युटर शिक्षकको कमी, प्रयोगशाला र होस्टेलको आवश्यकता, तथा जग्गा संरक्षणजस्ता चुनौती छन् । तर यी चुनौतीका बीच पनि विद्यालयले हरेक वर्ष आशा बढाइरहेको छ । जनता माध्यमिक विद्यालय बेलकाको कथा एउटा स्पष्ट सन्देश हो–सरकारी विद्यालय चाहियो भने बदलिन सक्छ, समुदाय र प्रतिबद्ध नेतृत्व भए गाउँमै गुणस्तरीय शिक्षा सम्भव छ । यदि राज्यको थप साथ, पूर्वाधारमा लगानी र नीति–गत सहयोग मिल्ने हो भने यो विद्यालय केवल बेलकाको गौरव मात्र होइन, देशभरका सरकारी विद्यालयका लागि प्रेरणादायी नमुना बन्न सक्छ ।

शिक्षक नखटेसम्म गुणस्तर सुधार हुँदैन: प्रधानाध्यापक राई 

जनता नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक सम्मर राई शिक्षामा सुधार सम्भव छ भन्ने उदाहरण बनेका छन् । केही समयअघि बेलका नगरपालिकाबाट उत्कृष्ट प्रधानाध्यापकको रूपमा सम्मानित भएपछि उनको कार्यशैली र विद्यालय सुधारको प्रयास थप चर्चामा आएको छ । प्रअ राई भने यो सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा जिम्मेवारीको मूल्याङ्कनका रूपमा लिन्छन् ।

प्रअ राईका अनुसार विद्यालय सुधार कुनै चमत्कारबाट होइन, निरन्तर मेहनत, अनुशासन र समर्पणबाट सम्भव हुन्छ । २०७७ सालमा जनता नमूना माध्यमिक विद्यालयमा प्रधानाध्यापक भएर आएपछि उनले विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई पहिलो प्राथमिकता बनाए । विद्यालयमा राजनीतिक गतिविधि रोक्ने, शिक्षकलाई नियमित र जिम्मेवार बनाउने तथा विद्यार्थी र अभिभावकसँग प्रत्यक्ष सम्पर्क बढाउने कामलाई विशेष महत्व दिए ।

उनको नेतृत्वमा विद्यालयमा शिक्षक तथा कर्मचारीलाई विद्यालय समयभित्र पूर्ण जिम्मेवारीका साथ काम गर्नुपर्ने वातावरण निर्माण गरियो । शिक्षक विद्यालयको समयमा राजनीतिक कार्यक्रममा सहभागी भए कारबाही हुने व्यवस्था गरियो । अभिभावकसँग नियमित फोन सम्पर्क गरेर विद्यार्थीको उपस्थितिदेखि अध्ययन अवस्थासम्म जानकारी लिने अभ्यास सुरु भयो । यसले विद्यालय र अभिभावकबीच विश्वासको सम्बन्ध बलियो बनाएको र विद्यार्थी आकर्षण बढेको राईको अनुभव छ ।

विद्यालयलाई विद्यार्थीमैत्री बनाउन प्रअ राईले व्यावहारिक सुधारका कार्यक्रम पनि अघि बढाए । गाउँक्षेत्रका विद्यार्थीलाई सहज बनाउन स्कूल बस सञ्चालन गरियो । कक्षा ११ मा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क शिक्षाको व्यवस्था गरियो । गरीब, जेहेन्दार तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको खर्च विद्यालयले नै व्यहोर्ने नीति लागू गरियो । यी प्रयासका कारण विद्यालयमा विद्यार्थी संख्या निरन्तर बढिरहेको छ ।

प्रअ राई प्रविधिमैत्री शिक्षालाई आजको आवश्यकता मान्छन् । ‘हामीले कालोपाटीबाट सुरु गर्यौँ‍ अहिले डिजिटल बोर्डको समय आएको छ । विद्यार्थीलाई आकर्षित गर्न शिक्षण प्रणाली पनि समयअनुसार बदलिनुपर्छ,’ उनी भन्छन् । स्थानीय सरकारले विद्यालयलाई प्रविधिमैत्री बनाउन सहयोग गर्नुपर्ने उनको सुझाव छ ।

शिक्षा ऐन, नीति वा संरचनाभन्दा पनि शिक्षकको इमानदार भूमिका महत्वपूर्ण हुने उनको स्पष्ट धारणा छ । ‘विद्यालयको गुणस्तर सुधार्न शिक्षक खटिनै पर्छ, आफ्नो पेशागत धर्म निभाउनै पर्छ,’ उनी भन्छन् । उनको अनुभवले एउटा सकारात्मक सन्देश दिन्छ–यदि विद्यालयमा अनुशासन, जिम्मेवारी, मेहनत र दूरदृष्टि भयो भने सामुदायिक विद्यालयले पनि उत्कृष्ट नतिजा दिन सक्छन् । सम्मान केवल पुरस्कार होइन, समाज र राष्ट्रप्रतिको उत्तरदायित्व अझ बढाउने प्रेरणा पनि हो भन्ने कुरा प्रधानाध्यापक राईको यात्राले देखाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ८, २०८३  २०:२८
प्रतिक्रिया दिनुहोस्
थप समाज
उदयपुरमा घरकाे आँगनमै बसेकी महिलामाथि मामाद्वारा खुकुरी प्रहार, अवस्था गम्भीर
उदयपुरमा घरकाे आँगनमै बसेकी महिलामाथि मामाद्वारा खुकुरी प्रहार, अवस्था गम्भीर बिहीबार, जेठ ७, २०८३
३७ वर्षको निष्ठा: एउटा अभिभावकीय रिक्तता 
३७ वर्षको निष्ठा: एउटा अभिभावकीय रिक्तता  आइतबार, जेठ ३, २०८३
वरिष्ठ पत्रकार कौशल चेम्जोङको नयाँ कृति ‘नेपालको इतिहासमा उदयपुर’ लोकार्पण
वरिष्ठ पत्रकार कौशल चेम्जोङको नयाँ कृति ‘नेपालको इतिहासमा उदयपुर’ लोकार्पण शुक्रबार, जेठ १, २०८३
सम्झनामा सुरेश किरण: अब घण्टाघरले कोसँग समय सोध्छ होला..?
सम्झनामा सुरेश किरण: अब घण्टाघरले कोसँग समय सोध्छ होला..? शनिबार, वैशाख २६, २०८३
दुई दिवसीय क्षमता विकास तथा अभिवृद्धि कार्यक्रम सञ्चालन
दुई दिवसीय क्षमता विकास तथा अभिवृद्धि कार्यक्रम सञ्चालन शनिबार, वैशाख २६, २०८३
मेघौलीको माया
मेघौलीको माया आइतबार, वैशाख २०, २०८३
सुकुम्बासी व्यवस्थापनमा सरकारको पहलः अवसर र चुनौती
सुकुम्बासी व्यवस्थापनमा सरकारको पहलः अवसर र चुनौती आइतबार, वैशाख २०, २०८३
डोजरले भत्किएको बस्ती, उखेलिएको जीवन र हराएको आश्रय
डोजरले भत्किएको बस्ती, उखेलिएको जीवन र हराएको आश्रय शनिबार, वैशाख १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ उदयपुरमा घरकाे आँगनमै बसेकी महिलामाथि मामाद्वारा खुकुरी प्रहार, अवस्था गम्भीर
  • नंः ३ बालेनको बन्द मुख र लोकतान्त्रिक जवाफदेहिता
  • नंः ४ वरिष्ठ पत्रकार कौशल चेम्जोङको नयाँ कृति ‘नेपालको इतिहासमा उदयपुर’ लोकार्पण
  • नंः ५ नामी साप्ताहिक
विचार
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’ NamiNews- नामीन्यूज
‘एक पटक बोलिदेउन बालेन सरकार’
‘एक पटक बोलिदेउन बालेन सरकार’ विदुर कटुवाल
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ?
प्रचण्ड किन वाम एकताको आह्वान गरिरहेका छन् ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्