काठमाडौं । आज नवनियुक्त दुई मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएको छ।
आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय, शीतलनिवासमा नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई शपथ खुवाएको हो ।
यसअघि आज बिहान चार मन्त्रीले शपथ लिने भनिए पनि अन्तिम समयमा दुई जना मन्त्रीको मात्रै शपथ भएको हो।
डा गौतम स्वास्थ्य मन्त्रालयका पूर्वसचिव हुन् भने गुप्ता जेनजी आन्दोलनका अगुवा हुन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरुलाई राष्ट्रपति पौडेलले आज नियुक्ति गरेको हो ।
गत भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्को सङ्ख्या आजको विस्तारसँगै १० पुगेको छ । यसअघि गत भदौ ३० र असोज ६ गते मन्त्रिपरिषद् विस्तार भएको थियो ।
प्रकाशित मिति: आइतबार, कात्तिक १०, २०८२ १९:१५