उदयपुर । देशको राष्ट्रिय एकता सुदृढ बनाउँदै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न बामपन्थी शक्तिहरूको एकता अपरिहार्य रहेको नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले बताएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी उदयपुरगढी गाउँपालिकाद्वारा आयोजित एकता सन्देश सभाका प्रमुख अतिथि डा. रावलले नेपालमा जलविद्युत्, जडीबुटी, पर्यटन, उद्योगधन्दा र मेहनती जनशक्ति जस्ता अपार सम्भावना हुँदाहुँदै पनि ती स्रोतको राष्ट्रिय हितअनुकूल उपयोग हुन नसकेको बताए ।
उनले २००७ सालपछि विदेशी शक्तिहरूले देशभित्रका प्रतिक्रियावादी शक्तिसँग मिलेर नेपाललाई प्रयोगशालाका रूपमा प्रयोग गर्दै आएको आरोप लगाए । “एकपछि अर्को प्रयोग गरेर देशलाई अस्थिर बनाइयो । अब नेपाली कम्युनिस्ट पार्टीले त्यस्ता प्रयोगहरूलाई रोक्न चाहन्छ,” उनले भने ।
डा. रावलले प्राकृतिक स्रोत–साधनलाई राष्ट्रिय हितमा प्रयोग गरी देशलाई समृद्ध बनाउने पार्टीको स्पष्ट लक्ष्य रहेको उल्लेख गर्दै उत्तरमा चीन र दक्षिणमा भारत रहेको भूराजनीतिक अवस्थालाई सन्तुलनमा राख्दै अघि बढ्नु आजको आवश्यकता भएको बताए ।
प्रत्येक नेपाली नागरिकले समान रूपमा रोजगारी, उद्यम, शिक्षा, स्वास्थ्य तथा गाँस–बाँसको अधिकार पाउने गरी समाजवाद निर्माण गर्ने योजना नेपाली कम्युनिस्ट पार्टीसँग रहेको उनको दाबी थियो ।
उनले भदौ २३ र २४ गते भएको घटनालाई स्मरण गर्दै सिंहदरबार, उच्च अदालत, संसद् भवनलगायत राज्यका प्रमुख संरचना तथा अर्बौंको सम्पत्ति नष्ट भएको उल्लेख गरे । “अब फेरि देशलाई खरानी हुन नदिने गरी राष्ट्रलाई बलियो बनाउन चाहन्छौँ,” उनले भने ।
डा. रावलले जनतालाई सशक्त बनाएर राष्ट्रिय स्वाभिमान मजबुत बनाउने पार्टीको प्रतिबद्धता दोहोर्याए । साथै, उदयपुर जिल्ला कृषि, पशुपालन, पर्यटन र खनिज सम्भावनाले भरिपूर्ण रहेको उल्लेख गर्दै ती सम्भावनाको सदुपयोग गरिने बताए । सप्तकोशी, त्रियुगा र तावाको कटान रोक्ने योजनामा पनि पार्टी गम्भीर रहेको उनले जनाए ।
“हाम्रो देश मातृभूमि हो, हामी सबैको साझा घर हो,” उनले भने, “देश बलियो भए नेपाली बलियो हुन्छन् । देश कमजोर भए मधेसी, तामाङ, मगर, ब्राह्मण, क्षेत्री, राई—कोही पनि बलियो हुँदैनौँ । त्यसैले नेपाली बलियो हुनुपर्छ ।”