काठमाडाैं । हिजोबाट (आइतबार) नेपाली कांग्रेसको १५ औँ महाधिवेशन काठमाडौंको खुलमञ्चमा सुरु भएको छ । त्यही खुला खुलामञ्चलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाह उर्फ बालेनले एक स्टाटस लेखे । जुन ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् ।’
त्यही खुलामञ्चमा कार्यक्रम गरेर पुराना पार्टीले नयाँ पार्टीलाई गाली गर्न पाएको शाहको दाबी देखिन्छ । तर खुलामञ्च कसैलाई उपहार दिएको मैदान होइन, जनताको कर र सार्वजनिक स्रोतबाट बनेको जनताको साझा थलो हो । त्यसैले ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’ भन्दै त्यसलाई आफ्नो राजनीतिक उपलब्धिको शैलीमा प्रस्तुत गर्नु र त्यही मञ्चमा सरकारको आलोचना गर्न पुगेकाहरूलाई ‘गाली गर्न पाएका छन्’ भनेर व्यंग्य गर्नु एउटा फेसबुक स्टाटसभन्दा ठूलो विषय हो । प्रधानमन्त्रीले सार्वजनिक सम्पत्तिलाई जनताको साझा अधिकारका रूपमा हेर्छन् कि आफ्नो राजनीतिक योगदानको स्मारकका रूपमा ? प्रश्न खडा भएको छ । अनि सत्तामाथि उठेको असहमति उनलाई लोकतन्त्रको आवाज लाग्छ कि ‘गाली’ ?
शाहले हिजो आइतबार साँझ सामाजिक सञ्जालमा गरेको टिप्पणी नेपाली कांग्रेसको १५औँ महाधिवेशनसँग जोडिएको छ । प्रधानमन्त्रीले कुनै राजनीतिक दलको आलोचना गर्न नपाउने भन्ने होइन । उनी पनि राजनीतिक व्यक्ति हुन् र आफ्नो धारणा राख्ने अधिकार उनलाई छ । तर प्रधानमन्त्री र सामान्य सामाजिक सञ्जाल प्रयोगकर्ताबीच एउटा आधारभूत अन्तर हुन्छ–प्रधानमन्त्रीको शब्दमा राज्यको पदको वजन जोडिएको हुन्छ । त्यसैले प्रधानमन्त्रीको फेसबुक स्टाटस पनि केवल व्यक्तिगत प्रतिक्रिया भएर रहँदैन ।
सार्वजनिक काममा निजी स्वामित्व हुँदैन
खुलामञ्चको स्तरोन्नति बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा अघि बढेको हो । सार्वजनिक संरचना व्यवस्थित गर्नु निर्वाचित जनप्रतिनिधिको जिम्मेवारी हो । त्यसको श्रेय लिन सकिन्छ, तर त्यसबाट निजी स्वामित्वको भाव सिर्जना गर्न मिल्दैन । जनताको पैसाले बनेको सडक मेयरको हुँदैन । जनताको पैसाले बनेको अस्पताल मन्त्रीको हुँदैन । त्यसैगरी सार्वजनिक स्रोतबाट व्यवस्थित गरिएको खुलामञ्च पनि कुनै नेताको निजी उपलब्धिको मैदान हुँदैन । जनप्रतिनिधि सार्वजनिक सम्पत्तिको मालिक होइन, जिम्मेवार व्यवस्थापक हो ।
त्यसैले ‘खुलामञ्च राम्रो बनाइएछ’ भन्ने वाक्यसम्म समस्या देखिँदैन । समस्या त्यसपछि सुरु हुन्छ । ‘नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् ।’ यदि कुनै दलले प्रधानमन्त्री वा सरकारको आलोचना गरेको छ भने त्यो आलोचना गलत हुन सक्छ । आरोप तथ्यहीन हुन सक्छ । तर त्यसको उत्तर तथ्य र तर्कबाट आउनुपर्छ । प्रधानमन्त्रीसँग सरकारको काम देखाउने, आरोप खण्डन गर्ने र आफ्ना नीति स्पष्ट पार्ने पर्याप्त माध्यम छन् । आलोचनालाई ‘गाली’ भनेर छोट्याउनु त्यसको उत्तर होइन । आलोचना लोकतन्त्रको समस्या होइन । राजनीतिमा आलोचना अपरिहार्य हुन्छ । सत्तामा बसेको व्यक्तिले आफूलाई मन पर्ने कुरा मात्र सुन्ने हो भने लोकतान्त्रिक शासनको अर्थ कमजोर हुन्छ ।
कांग्रेसले खुलामञ्चमा कार्यक्रम गरेको छ । भोलि अर्को दलले गर्न सक्छ । कुनै नागरिक समूहले पनि कार्यक्रम गर्न सक्छ । खुलामञ्चको अर्थ नै यही हो । फरक विचार भएका मानिसहरूका लागि सार्वजनिक ठाउँ । सरकारमा भएको दल भोलि प्रतिपक्षमा हुन सक्छ । सरकारको आलोचना गर्ने व्यक्ति भोलि सरकारमै पुग्न सक्छ । त्यसैले सार्वजनिक संस्थालाई तत्कालीन राजनीतिक सम्बन्धका आधारमा हेर्नु उचित हुँदैन । खुलामञ्च कांग्रेसको होइन, बालेनको होइन, कुनै नयाँ पार्टीको पनि होइन । जनताको हो । हिजो राजतन्त्रको समयमा खुलामञ्च जनताकै थियो । राजनीतिक दलकै थियो । विरोधीहरुकै थियो । त्यहाँ सरकारको समर्थनमा आवाज उठ्न सक्छ भने सरकारको विरोधमा पनि उठ्न सक्छ ।
प्रधानमन्त्रीको गैर जिम्मेवारपूर्ण भाषा
बालेनको राजनीतिक पहिचान सामाजिक सञ्जालसँग गहिरो रूपमा जोडिएको छ । छोटो, प्रत्यक्ष र व्यंग्यात्मक अभिव्यक्ति उनको सार्वजनिक शैलीको हिस्सा रहँदै आएको छ । तर प्रधानमन्त्री भएपछि जिम्मेवारीको स्तर बदलिएको छ । अब उनी केवल ‘बालेन’ होइनन्, प्रधानमन्त्री हुन् । सामान्य नागरिकले लेखेको ‘गाली गर्न पाए’ भन्ने वाक्य व्यक्तिगत प्रतिक्रिया हुन सक्छ । प्रधानमन्त्रीले त्यही शब्द प्रयोग गर्दा त्यसलाई सत्ताको व्यवहारसँग जोडेर हेरिन्छ ।
प्रधानमन्त्रीलाई आलोचना मन नपर्न सक्छ । तर आलोचनाको जवाफ दिने उनको भाषा प्रधानमन्त्रीकै स्तरको हुनुपर्छ । प्रधानमन्त्रीको शक्ति आलोचकलाई होच्याउनमा होइन, आलोचनाको तथ्यगत जवाफ दिन सक्ने क्षमतामा देखिन्छ । यो स्टाटसको भाषा गैरजिम्मेवार छ भन्दा फरक पर्दैन । यदि कांग्रेसले गलत कुरा उठाएको छ भने प्रधानमन्त्रीले तथ्य सार्वजनिक गर्न सक्छन् । यदि पुराना दलले गलत आरोप लगाएको छ भने त्यसको खण्डन गर्न सक्छन् । यदि भाषणमा अतिरञ्जना छ भने तथ्यले त्यसलाई खण्डन गर्न सक्छ । त्यसका लागि ‘गाली गर्न पाए’ भन्ने व्यंग्य आवश्यक छैन । लोकतन्त्रमा विरोध गर्न पाइन्छ ।
लोकतन्त्रमा सार्वजनिक मञ्चको सुन्दरता के हाे ?
खुलामञ्च राम्रो बनाइएको छ भने त्यसमा गर्व गर्न सकिन्छ । तर सार्वजनिक स्थलको वास्तविक सफलता त्यहाँको घाँस, पैदलमार्ग वा भौतिक संरचनामा मात्र मापन हुँदैन । त्यहाँ फरक विचारका मानिसले निर्भय भएर बोल्न पाउँछन् कि पाउँदैनन् । त्यो अझ महत्वपूर्ण कुरा हो । लोकतन्त्रमा सार्वजनिक मञ्चको सुन्दरता त्यहाँ सत्ताको प्रशंसा मात्र हुनुमा होइन, सत्तामाथि प्रश्न गर्ने आवाज पनि गुञ्जिनुमा हुन्छ ।
त्यसैले प्रधानमन्त्रीले खुलामञ्चलाई आफ्नो विगतको राजनीतिक उपलब्धिको रूपमा मात्र होइन, नागरिकको साझा लोकतान्त्रिक सम्पत्तिका रूपमा हेर्नुपर्ने हुन्छ । ‘मैले बनाएको मञ्चमा अरूले आएर मलाई गाली गरे’ भन्ने भाव लोकतान्त्रिक राजनीतिका लागि स्वस्थ सन्देश होइन । किनकि सार्वजनिक मञ्च बनाउनु जनप्रतिनिधिको काम हो, तर त्यहाँ जनताले के बोल्ने भन्ने अधिकार जनताको हो ।
अब जवाफ फेसबुकबाट होइन, कामबाट दिदाँ झनै राम्रो हुन्छ । प्रधानमन्त्रीसँग सरकारको आलोचनाको जवाफ दिने सबैभन्दा प्रभावकारी माध्यम फेसबुकको कटाक्ष होइन, शासनको परिणाम हो । काम राम्रो छ भने जनताले देख्छन् । नीति प्रभावकारी छ भने परिणामले बोल्छ । आलोचना गलत छ भने तथ्यले खण्डन हुन्छ । त्यसैले प्रधानमन्त्रीले आफूविरुद्ध उठेको आवाजलाई ‘गाली’ भनेर व्यंग्य गर्नुभन्दा ‘आलोचना गर्न पाएका छन्, जवाफ हामी कामबाट दिन्छौँ’ भन्न सकेको भए त्यो अझ शक्तिशाली राजनीतिक सन्देश हुन्थ्यो ।
अन्ततः प्रश्न कांग्रेसले खुलामञ्चमा के भन्यो भन्ने मात्र होइन । प्रश्न प्रधानमन्त्रीले असहमतिलाई कसरी ग्रहण गरे भन्ने पनि हो । लोकतन्त्रको वास्तविक परीक्षा आफूलाई मन पर्ने कुरा सुन्नु होइन, आफूलाई मन नपर्ने कुरा सुनेर पनि संयमित रूपमा जवाफ दिन सक्नु हो । खुलामञ्च राम्रो हुनु सकारात्मक कुरा हो । तर त्यसको सबैभन्दा ठूलो उपलब्धि घाँस हरियो हुनु होइन–त्यहाँ विचार खुला हुनु हो ।
त्यसैले प्रधानमन्त्रीले पनि बुझ्नुपर्ने कुरा सरल छ । खुलामञ्च जनताको हो । त्यहाँ उठ्ने आवाज पनि जनताकै हो । प्रधानमन्त्रीको पद ती आवाजभन्दा माथि होइन; बरु ती आवाजप्रति जवाफदेहीता हो । लोकतन्त्रमा सार्वजनिक मञ्चको सुन्दरता पनि त्यही हो । यसमा प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो भन्दा फरक पर्दैन् ।