काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ।
सम्बन्धित जिल्ला तथा निर्वाचन क्षेत्रमा पुगेर उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयले तोकेको स्थानमा आज मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ। मनोनयनका लागि उम्मेदवारले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।
साथै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि आवश्यक पर्ने आयोगले स्पष्ट पारेको छ। आयोगले अन्य आवश्यक सरकारी कागजातसमेत साथमा ल्याउन आग्रह गरेको छ।
राजनीतिक दलको तर्फबाट उम्मेदवारी दिएको भए, उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकारप्राप्त दलको केन्द्रीय कार्यकारिणी समिति वा सोसरहको समितिको पदाधिकारीले जारी गरेको प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोनयनको औपचारिक पत्र अनिवार्य हुनेछ।
एकल चुनाव चिह्न लिएर संयुक्त रूपमा निर्वाचनमा सहभागी दलहरूको हकमा भने प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र पनि पेस गर्नुपर्नेछ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारले रु १० हजार धरौटी रकम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा जम्मा गरेको रसिद वा भौचर पनि बुझाउनुपर्नेछ। महिला, दलित, अल्पसंख्यक समुदाय वा आर्थिक रूपमा विपन्न उम्मेदवारको हकमा उक्त धरौटी रकममा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ।
आर्थिक रूपमा विपन्न उम्मेदवारले सम्बन्धित स्थानीय तहबाट आर्थिक विपन्न भएको सिफारिस पत्र पनि पेस गर्नुपर्ने आयोगले जनाएको छ। साथै, उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ बमोजिमको स्वघोषणा पत्र पनि बुझाउनुपर्नेछ।
उम्मेदवारले आफ्नो चल तथा अचल सम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेका खाता, धितोपत्र, सेयर, ऋणपत्र, कसैलाई दिएको वा लिएको ऋणसम्बन्धी सम्पूर्ण विवरण उल्लेख गरी सिलबन्दी रूपमा सम्पत्ति विवरण पेस गर्नुपर्नेछ। वैयक्तिक विवरण फाराम पनि भर्नुपर्ने व्यवस्था छ।
यसैगरी, उम्मेदवारले निर्वाचित, मनोनीत वा नियुक्त भएको कुनै निकायबाट कुनै प्रकारको पेस्की लिएको भए सो पेस्की फछ्र्योट गरेको निस्सा उपलब्ध गराउनुपर्नेछ। लेखा परीक्षणबाट उम्मेदवारको नाममा किटानीसाथ असुल उपर गर्नुपर्ने बेरुजु कायम भएको भए त्यसको फछ्र्योटको निस्सा पनि अनिवार्य गरिएको छ।
उम्मेदवारी मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म समय तोकिएको छ। निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ता प्रक्रिया सञ्चालन गरिरहेको जनाएको छ।