गुल्मी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गुल्मी निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा उम्मेदवार सागर ढकालले कम्तीमा ५० हजार मत ल्याएर ऐतिहासिक जित हासिल गर्नुपर्ने बताएका छन् । उनले यस निर्वाचनमा ६० हजार मतको लक्ष्य राखिएको स्पष्ट गरे ।
उम्मेदवारी मनोनयन दर्तापछि क्षेत्र नम्बर–१ का मतदातालाई सम्बोधन गर्दै ढकालले गुल्मीका जनताले बौद्धिकता, इमान्दारिता र क्षमताको परिचय दिँदै देशको भविष्यका लागि सोचेर मतदान गर्न आग्रह गरे । “यसपटक गुल्मीको छोरो आएको छ,” उनले भने, “कांग्रेस–एमाले मात्र होइन, रास्वपा भन्दा पनि माथि उठेर देशलाई केन्द्रमा राखेर सोच्नुपर्ने समय आएको छ ।”
ढकालका अनुसार गुल्मी क्षेत्र नम्बर–१ र २ मा करिब ७० हजार मतदाता छन् । उनले चितवनमा रवि लामिछानेले पाएको मत, झापामा बालेन शाहले पाउने अपेक्षित मत र डडेलधुरामा आफूले पाएको समर्थनभन्दा पनि ठूलो जनसमर्थन गुल्मीबाट प्राप्त हुने विश्वास व्यक्त गरे ।
“६० हजार मतको लक्ष्य राखेर कम्तीमा ५० हजार मत पार गर्न सके नेपालको राजनीतिक इतिहासमै नयाँ रेकर्ड राख्न सकिन्छ,” ढकालले भने, “१६५ वटै निर्वाचन क्षेत्रमा पहिलो हुने प्रयास गर्नुपर्छ । गुल्मी क्षेत्र नम्बर–१ र २ बाट परिवर्तनको बिगुल देशभरि फुक्नुपर्छ ।”
उनले पार्टीका वरिष्ठ नेता बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै त्यसका लागि गुल्मीका जनता मात्र होइन, सरकारी कर्मचारीले पनि पूर्ण सहयोग गर्नुपर्ने बताए । सरकारी संयन्त्रमा आमूल परिवर्तनको आवश्यकता रहेको उल्लेख गर्दै उनले आफूलाई अत्यधिक मतले विजयी गराउन आग्रह गरे ।
“हामी सबै मिलेर देशको कायापलट गर्नुपर्छ,” ढकालले भने, “समय धेरै छैन । अबको २०–२५ वर्षभित्र देश बनाउन सकेनौं भने हाम्रो भविष्य अन्धकारमय हुनेछ ।”
यसअघि सागर ढकाल प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुरा–१ बाट प्रतिनिधिसभा उम्मेदवार बन्ने चर्चा भए पनि देउवाले उम्मेदवारी छोडेपछि उनले निर्वाचन क्षेत्र परिवर्तन गर्दै जन्मथलो गुल्मी–१ बाट रास्वपाको उम्मेदवार बनेका हुन् ।
प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२ २०:२८