काठमाडाैं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने (एफपीटीपी) निर्वाचन प्रणालीतर्फ देशभर उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार १६५ निर्वाचन क्षेत्रमा गरी करिब तीन हजार उम्मेदवारी परेको छ ।
आयोगका अनुसार साँझ ६ बजेसम्म कुल २ हजार ९२५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन प्रक्रिया शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको भन्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल, उम्मेदवार र सरोकारवाला सबैलाई धन्यवाद व्यक्त गरेका छन् । बाँकी निर्वाचन कार्यक्रम पनि सबैको सहयोगमा सफलतापूर्वक सम्पन्न हुने उनले विश्वास व्यक्त गरे ।
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले दिएको जानकारीअनुसार कुल उम्मेदवारमध्ये ३३६ जना महिला र २ हजार ५८९ जना पुरुष छन् । यस्तै, अपांगता भएका व्यक्तिबाट ८५ जना तथा पिछडिएको क्षेत्रबाट १३८ जनाको उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन कार्यक्रमअनुसार मनोनयन दर्ता भएका उम्मेदवारविरुद्ध माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिनेछ । सोही दिन दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ तथा निर्णय हुनेछ ।
माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । त्यसपछि माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२ २०:४९