काठमाडौं । मलेसियाको विस्ट्रोन टेक्नोलोजी एसडिएनबिएचडी नामक बहुराष्ट्रिय कम्पनीले नेपालबाट शून्य लागतमा आठ सय श्रमिक लैजाने भएको छ।
आकर्षण इन्टरनेसनल र लालधनुष इन्टरनेसनल सर्भिसेज प्रालिमार्फत छ सय महिला र दुई सय पुरुष गरी आठ सय नेपाली श्रमिकलाई न्यायोचित भर्ती प्रणालीअनुसार रोजगारीमा लैजान लागिएको हो।
कम्पनीले राहदानी, श्रम स्वीकृति, आवत–जावत टिकट, स्वास्थ्य परीक्षण, बिमा, सामाजिक सुरक्षा तथा पूर्वप्रस्थान अभिमुखीकरण तालिमलगायत सम्पूर्ण खर्च व्यहोर्ने आकर्षण इन्टरनेसनलका सञ्चालक विष्णु केसीले जानकारी दिए। उनका अनुसार प्रतिश्रमिक करिब एक लाख २० हजार रुपियाँ बराबरको खर्च कम्पनीले नै वहन गर्दै आएको छ ।
सन् २०१८ मा नेपाल र मलेसियाबीच श्रम सम्झौता भएपछि उत्पादन, सेवा र अन्य क्षेत्रमा नेपाली श्रमिक वैधानिक रूपमा रोजगारीमा जाने क्रम बढ्दै आएको छ । शून्य लागत प्रणालीमार्फत विदेश गएका श्रमिकले ऋण नलिई काम गर्न पाउने र औपचारिक माध्यमबाट विप्रेषण पठाउन सक्ने केसीको भनाइ छ ।
मलेसियामा हाल न्यूनतम तलब एक हजार सात सय रिङ्गिट रहेको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका पूर्वअध्यक्ष राजेन्द्र भण्डारीका अनुसार हाल करिब १० प्रतिशत नेपाली श्रमिक शून्य लागतमा विदेश गइरहेका छन् । श्रमविज्ञ रामेश्वर नेपालले बहुराष्ट्रिय कम्पनीमा श्रमिकको कार्यस्थल, सेवा सुविधा र सुरक्षा तुलनात्मक रूपमा राम्रो हुने बताए ।
प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२ ११:२१