काठमाडौं । निर्वाचन गराउने संवैधानिक जिम्मेवारी बोकेको सुशिला कार्की नेतृत्वको अन्तरिम सरकार गम्भीर राजनीतिक नैतिक संकटमा फसेको छ । प्रधानमन्त्री कार्कीले सार्वजनिक रूपमा ‘चुनाव नलड्ने’ प्रतिबद्धता जनाएका चार मन्त्रीले एकाएक राजीनामा दिएर निर्वाचन मैदानमा उत्रिएपछि सरकारको विश्वसनीयता र कार्यसम्पादनमै प्रश्न उठेको हो ।
सरकारलाई बीच बाटोमै छाडेर जाने ती चार मन्त्री—जगदीश खरेल, कुलमान घिसिङ, बब्लु गुप्ता र डा. महावीर पुन माथि जेएनजी आन्दोलनको भावना र जनअपेक्षामाथि उपहास गरेको आरोप लागेको छ ।
प्रधानमन्त्री कार्कीले निर्वाचन निष्पक्ष गराउने उद्देश्यले ‘नन–पोलिटिकल’ र ‘नयाँ पुस्ता’ का अनुहारलाई मन्त्रिपरिषद्मा समेटेकी थिइन् । तर ती पात्रहरूले मन्त्री पदलाई चुनावी लन्चप्याड बनाएको आरोप अहिले सार्वजनिक बहसको विषय बनेको छ ।
४८ घण्टामै बद्लिएका खरेल
सञ्चार तथा सूचना प्रविधि मन्त्रीका रूपमा अत्यधिक विश्वाससहित मन्त्रिपरिषद्मा प्रवेश गरेका जगदीश खरेलले ‘म कुनै दलको सदस्य होइन, चुनाव लड्दिन’ भन्ने सार्वजनिक अभिव्यक्तिलाई ४८ घन्टा पनि टिकाउन सकेनन् ।
५ महिनासम्म सत्ता स्वाद चाखेका खरेलले अन्तिम समयसम्म मिडियालाई ‘चुनाव नलड्ने’ सन्देश दिइरहेका थिए । तर माघ ५ गते राजीनामा र माघ ६ गते रास्वपाबाट ललितपुर–२ मा उम्मेदवारी दर्ता भएपछि उनको नियतमाथि गम्भीर प्रश्न उठेको छ ।
सरकारका प्रवक्ता समेत रहेका खरेलले निर्वाचन सफल बनाउनेभन्दा जेएनजीको छायामा आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्ने ‘मौका मा चौका’ रणनीति अपनाएको स्रोतहरूको दाबी छ ।
यस्ताे छ कुलमानकाे रहस्य
ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास जस्ता तीन महत्वपूर्ण मन्त्रालय सम्हालेका कुलमान घिसिङ प्रधानमन्त्रीका सम्भावित उत्तराधिकारीसमेत मानिन्थे । तर काम गरेर देखाउने ऐतिहासिक अवसर हुँदाहुँदै उनी पनि पद त्यागेर चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।
‘म कुनै पार्टीको नेता होइन’ भन्दै मन्त्री पद जोगाएका घिसिङले उज्यालो नेपाल पार्टी खोले, रास्वपासँग एकता गरे, फेरि सम्झौता तोडे र अन्ततः आफ्नै पार्टीबाट काठमाडौँ–३ मा उम्मेदवारी दिए ।
नागरिक सरकारमा बसेर नागरिक चरित्र देखाउन नसकेको, विकास आयोजनाहरू अलपत्र पारेर ‘उज्यालोको नायक’ को छवि बेच्न खोजेको आरोप उनीमाथि लागेको छ ।
गुप्ताकाे राजनीतिक सिँढी
जेनजी पुस्ताको प्रतिनिधि भन्दै युवा तथा खेलकुद मन्त्री बनेका बब्लु गुप्ताले मन्त्री पदलाई राजनीतिक उडानको सिँढी बनाएको आरोप खेपिरहेका छन् ।
सिराहा–१ बाट चुनाव लड्न सरकार छाडेका गुप्ता अमेरिका भ्रमण विवादमा समेत तानिए । जेनजीको प्रतिनिधि भएर पनि सोहीअनुसारको आचरण नदेखाएको भन्दै सामाजिक सञ्जालमा उनको तीव्र आलोचना भइरहेको छ ।
मन्त्रीबाट किताब बेच्ने उम्मेदवार बने पुन
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनलाई बाटोमा किताब बेच्दै गर्दा मन्त्री बनाइएको प्रसंग उनकै स्वीकारोक्ति हो । तर पाँच महिना मन्त्रालय सम्हाल्दा उनले देखिने खालको उपलब्धि दिन नसकेको आरोप छ ।
सामाजिक सञ्जालमा आलोचकलाई जवाफ दिन सक्रिय पुनले राजीनामा भने फेसबुकमा होइन, चुनावी मैदानमा देखाए । म्याग्दी–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका पुनले ‘नयाँ पुस्ताको शैली मन नपरेपछि झोक चलेर चुनाव लडेको’ बताएका छन् ।
उनका पूर्व स्वकीय सचिव डा. सागर ढकालले भने ‘राजीनामा चुनावका लागि होइन’ भने पनि पुन अहिले गाउँ–गाउँमा किताब बेच्दै भोट मागिरहेका छन् ।
चारै मन्त्री प्रश्नकाे घेरामा
चार मन्त्रीको सामूहिक ‘यू–टर्न’ ले निर्वाचन गराउने सरकारलाई प्रशासनिक रूपमा मात्र होइन, नैतिक रूपमा पनि कमजोर बनाएको छ । प्रधानमन्त्री कार्कीले मन्त्रीहरूका सार्वजनिक प्रतिबद्धतामा भरोसा गरेकी थिइन्, तर खरेल, घिसिङ, गुप्ता र पुनले त्यो विश्वास तोडेका छन् ।
सत्ताको भर्याङ चढेर आफ्नै राजनीतिक भर्याङ सोझ्याउने यस्तो प्रवृत्तिले नयाँ पुस्ताको राजनीतिप्रतिको भरोसा झन् कमजोर बनाउने निश्चित देखिन्छ । भोलि यीमध्ये कोही निर्वाचित भए भने ‘जनप्रतिनिधि कति उत्तरदायी होलान् ?’
यो प्रश्न अहिले नै गम्भीर रूपमा उठिसकेको छ ।