काठमाडौँ । हिउँदका झन्डै दुई महिना सुक्खा बितेपछि वर्षा र हिमपात गराउने प्रणाली फेरि सक्रिय बन्न थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (मंगलबार) पश्चिम नेपालबाट सुरु हुने वर्षा प्रणाली भोलि (बुधबार) देशभर फैलिने सम्भावना छ ।
गत शुक्रबार र शनिबार पश्चिम नेपालमा वर्षासँगै मध्यम हिमपात भए पनि यसपटक भने सबै प्रदेशमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने पूर्वानुमान गरिएको छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय बन्दै पूर्वतर्फ सर्ने क्रममा रहेको छ ।
उनले भने, “पश्चिमी न्यूनचापीय प्रणालीसँगै अरब सागरबाट समेत सहयोग भइरहेको छ । त्यसैले दुई दिन देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना देखिएको हो ।”
विभागको तथ्यांकअनुसार १६ मंसिरदेखि १२ माघसम्म देशभर औसत ३.५ मिलिमिटर मात्र वर्षा मापन भएको छ, जुन हिउँदको औसत वर्षाको करिब ५.८ प्रतिशत मात्र हो । हिउँदमा सामान्यतया औसत ६०.१ मिलिमिटर वर्षा हुनुपर्ने भए पनि यस वर्ष हालसम्म निकै कम वर्षा भएको विभागले जनाएको छ ।
यद्यपि, १६ फागुनसम्म हिउँद अवधि बाँकी रहेकाले आगामी दिनमा वर्षाको मात्रा थपिन सक्ने आकलन गरिएको छ । यस वर्षको पहिलो उल्लेखनीय हिमपात माघ महिनामा देखिन थालेको हो । हिउँद सुरु हुनुअघि कात्तिकमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भए पनि त्यसपछि लामो समयसम्म हिमपात हुन सकेको थिएन ।
आज र भोलिको मौसम पूर्वानुमान
विभागका अनुसार मंगलबार दिउँसोदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षा तथा ती प्रदेशका उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना छ । मंगलबार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने अनुमान छ ।
त्यसैगरी, गण्डकी र लुम्बिनीका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा तराईका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने देखिएको छ ।
मौसमविद् अधिकारीका अनुसार न्यूनचापीय प्रणाली मंगलबार रातिदेखि पूर्वतर्फ सर्ने भएकाले बुधबार धेरै ठाउँमा वर्षा र हिमपात हुनेछ । “बुधबार मधेश र कोशी प्रदेशमा भने हल्का वर्षा मात्र हुने देखिन्छ,” उनले बताए ।
बुधबार देशभर बादल लाग्ने र सबै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा अन्य क्षेत्रमा हल्का वर्षा हुने पूर्वानुमान छ ।
विभागका अनुसार बिहीबारदेखि भने मौसम क्रमशः सुधार हुँदै जानेछ ।
प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२ ०६:५२