काठमाडौं । प्रतिनिधिसभा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा निर्वाचन आयोगले विभिन्न निर्वाचन क्षेत्रका पाँच जना उम्मेदवारसँग स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिताविपरीत गतिविधि गरेको ठहर भएपछि आयोगले लिखित रूपमा स्पष्टीकरण मागेको हो ।
आयोग स्रोतका अनुसार झापा निर्वाचन क्षेत्रका उम्मेदवार बालेन्द्र शाह (बालेन), सुनसरी–१ का उम्मेदवार हर्क साङपाङ, रुपन्देही–२ का उम्मेदवार कमल भुसाल (निकोलस), भक्तपुर–२ का उम्मेदवार महेश बस्नेत तथा सोही क्षेत्रकी उम्मेदवार जानुका पाठकसँग स्पष्टीकरण सोधिएको हो ।
बालेन्द्र शाहको हकमा अर्का उम्मेदवार केपी शर्मा ओलीले सामाजिक सञ्जालमा राखेको विषयमा टिप्पणी गरेको प्रसङ्गलाई लिएर स्पष्टीकरण मागिएको आयोगले जनाएको छ ।
रुपन्देही–२ का उम्मेदवार कमल भुसाल (निकोलस) ले ‘जेन–जी आन्दोलन’सँग जोडिएको आइकोनिक जुत्तालाई निर्वाचन चिह्नका रूपमा प्रचार गरेको विषयमा आचारसंहिता उल्लङ्घन भएको ठहर गरिएको छ ।
त्यस्तै, सुनसरी–१ का उम्मेदवार हर्क साङपाङले चुनावी प्रयोजनका लागि बालबालिकालाई प्रयोग गरी टी–सर्ट लगाउन लगाएको आरोपमा स्पष्टीकरण सोधिएको हो ।
भक्तपुर–२ का उम्मेदवार महेश बस्नेतले बालेन्द्र शाहलाई लक्षित गर्दै अपमानजनक शब्द प्रयोग गरेको विषयमा आयोगले स्पष्टीकरण मागेको छ । सोही निर्वाचन क्षेत्रकी उम्मेदवार जानुका पाठकसँग पनि अर्का उम्मेदवारविरुद्ध घृणाजन्य टिप्पणी गरेको आरोपमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
यसैगरी, निर्वाचन आचारसंहिता लागू भइसकेपछि स्वास्थ्य स्वयंसेवक सङ्घले अनुमति नलिई अधिवेशन गरेको विषयमा पनि आयोगले स्पष्टीकरण माग गरेको छ ।
उता, राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचनलाई लक्षित गर्दै घृणाजन्य टिप्पणी नगर्न सबै पक्षलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता टिकाराम पोख्रेलले मंगलबार विज्ञप्ति जारी गर्दै निर्वाचनको समयमा शान्ति, सुरक्षा र मानवअधिकारको संरक्षण सुनिश्चित गर्न सरकारलाई शान्ति–सुरक्षा व्यवस्था थप मजबुत बनाउन अनुरोध गरेका छन् ।
प्रकाशित मिति: बुधबार, माघ १४, २०८२ १०:०५