उदयपुर । उदयपुर जिल्लामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई पदका लागि ३१ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । आ–आफ्ना दलका नीति–कार्यक्रम र व्यक्तिगत विकासे योजनाको सूची बोकेर उम्मेदवारहरू मत माग्दै जनताको घर–घर पुगिरहेका छन् । सबै उम्मेदवारले जितको दाबी गरिरहेका वेला मतदातामा भने पुराना दलप्रति असन्तुष्टि र नयाँ दलप्रति अविश्वास छ। जसबाट उदयपुरमा प्रश्नचिह्न खडा भएको छ । जुन प्रतिनिधिसभा क्षेत्र १ मा नेपाली कांग्रेसको विरासत जोगिन्छ कि जोगिँदैन ? र क्षेत्र २ मा कम्युनिस्ट किल्ला कायम रहन्छ कि भत्किन्छ ?
१ मा जोगिएला त कांग्रेसको विरासत ?
देश संघीय संरचनामा गएयता उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ बाट लगातार विजयी हुँदै आएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. नारायण खड्काले यसपटक उम्मेदवारी नदिने घोषणा गरे। पार्टीको विशेष महाधिवेशनपछि बनेको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै खड्काले उम्मेदवारीबाट हात झिकेका थिए । खड्काको ठाउँमा कांग्रेसले पूर्वजिल्ला सभापति विदुर बस्नेतलाई उम्मेदवार बनाएको छ । खड्काले ०७४ सालमा तत्कालीन एमाले–माओवादी गठबन्धनलाई पराजित गरेका थिए भने ०७९ को निर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा विजयी भएका थिए । ०६४ र ०७० सालको संविधानसभा निर्वाचनमा पनि खड्काले नै जित निकालेका थिए । उनी यस क्षेत्रमा लोकप्रिय नेताका रूपमा चिनिन्छन् । तर, यसपटक खड्का स्वयं मैदानमा नहुँदा कांग्रेसका लागि विरासत जोगाउन चुनौतीपूर्ण देखिन्छ । बस्नेत ०७४ सालको प्रदेश सभा निर्वाचनमा पराजित भइसकेका उम्मेदवार हुन् ।
क्षेत्र १ मा १८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । एमालेबाट बेलका नगरपालिकाका पूर्वमेयर दुर्गाकुमार थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पारश गेलाल, श्रम संस्कृति पार्टीबाट राजेशकुमार राई उम्मेदवार छन् । यस्तै, राप्रपाबाट सुवासचन्द्र खड्का, उज्यालो नेपाल पार्टीबाट अर्जुन तामाङ तथा एमालेका बागी उम्मेदवार देवराज रोक्का पनि मैदानमा छन् । यसपटक क्षेत्र १ मा अधिकांश दलका उम्मेदवार नयाँ अनुहार हुन् ।
०७९ सालको निर्वाचनमा यहाँ खसेको ७१ हजार ४५५ मतमध्ये कांग्रेसका डा. खड्काले ३१ हजार २७० मत ल्याएर जित हासिल गरेका थिए । पराजित एमालेकी मञ्जुकुमारी चौधरीले २८ हजार ८९१, राप्रपाका ध्रुवकुमार रायमाझीले तीन हजार ९१५ र राष्ट्रिय स्वतन्त्र पार्टीका उद्धव अधिकारीले तीन हजार ४४४ मत पाएका थिए । खड्काको जितमा कांग्रेससहित माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनको मत निर्णायक थियो ।
समानुपातिकतर्फ ७२ हजार २०४ मतमध्ये एमालेले २३ हजार ८३६, कांग्रेसले १९ हजार ४७६, माओवादी केन्द्रले नाै हजार ७३९, राष्ट्रिय स्वतन्त्र पार्टीले सात हजार ३३७, एकीकृत समाजवादीले एक हजार ६२८ र राप्रपाले चार हजार ३७५ मत प्राप्त गरेका थिए। श्रम संस्कृति पार्टी र उज्यालो नेपाल पार्टी थपिँदा यसपटक प्रतिस्पर्धा अझ रोचक बन्ने देखिन्छ ।
क्षेत्र १ अन्तर्गत चौदण्डीगढी नगरपालिकामा ४० हजार ३४९, बेलका नगरपालिकामा ३४ हजार दुई सय र त्रियुगा नगरपालिकामा ६८ हजार २५५ गरी कुल एक लाख ४२ हजार ८०४ मतदाता छन् ।
कम्युनिस्ट किल्लामा चुनौती
०७४ पछि ०७९ को निर्वाचनमा पनि कम्युनिस्ट प्रभाव देखिएको उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा यसपटक एमालेका निवर्तमान सांसद अम्बरबहादुर रायमाझी पुनः उम्मेदवार बनेका छन् । उनका प्रतिस्पर्धीका रूपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट सुरेशकुमार राई ‘हिमाल’, नेपाली कांग्रेसबाट रामकुमार राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सूर्यबहादुर तामाङ, श्रम संस्कृति पार्टीबाट बलराज राई र स्वतन्त्र उम्मेदवार मेजरकुमार राईसहित १३ जना चुनावी मैदानमा छन् ।
०७९ को निर्वाचनमा ४२ हजार १६१ मत सदर हुँदा रायमाझीले १५ हजार २५१ मत ल्याएर जितेका थिए । तत्कालीन एकीकृत समाजवादीका उम्मेदवार जगन्नाथ खतिवडाले १२ हजार ८९३ मत पाएर पराजित भएका थिए । कांग्रेसबाट असन्तुष्ट रहेर स्वतन्त्र उम्मेदवार बनेका रामकुमार राईले १० हजार ३७९ मत ल्याउँदा खतिवडाको हार भएको थियो । सोही राई अहिले कांग्रेसका आधिकारिक उम्मेदवार हुन् ।
यस क्षेत्रमा बहुदलपछि पनि कम्युनिस्ट र गणतन्त्रपछि ०७० सालमा भएको संविधानसभाको एक चुनावमा मात्र कांग्रेस विजयी भएको छ भने बाँकी सबै निर्वाचनमा कम्युनिस्ट पार्टी नै विजयी हुँदै आएको क्षेत्र हो । समानुपातिकतर्फ ४२ हजार ३५६ मतमध्ये एमालेले १३ हजार ९०३, कांग्रेसले १० हजार ५१५, माओवादी केन्द्रले सात हजार ४०६ र एकीकृत समाजवादीले दुई हजार २३५ मत पाएका थिए । यी मत जोड्दा अहिलेको नेपाली कम्युनिस्ट पार्टीको करिब नाै हजार ६४१ मत हुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले तीन हजार ८०६ मत पाएको थियो ।
क्षेत्र २ अन्तर्गत उदयपुरगढी गाउँपालिकामा २० हजार ८७९, रौतामाईमा १४ हजार ९९३, लिम्चुङबुङमा आठ हजार ६८९, कटारी नगरपालिकामा ४१ हजार ४०६ र ताप्ली गाउँपालिकामा १० हजार १५५ गरी कुल ९६ हजार १२२ मतदाता छन् ।
मत परिवर्तन हुँदा पुरानालाई सकस, नयाँलाई अवसर
बदलिँदो राजनीतिक वातावरणसँगै उदयपुरका दुवै क्षेत्रमा मत परिवर्तनको संकेत प्रस्ट छ । यसले एमाले, कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीजस्ता पुराना दललाई चुनौती थपेको छ भने नयाँ दललाई अवसर देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ०७९ को निर्वाचनमै समानुपातिकतर्फ उल्लेख्य मत ल्याइसकेको दल हो । प्रत्यक्षतर्फ मत बढेमा पुराना दलका उम्मेदवारलाई जित निकाल्न कठिन हुने देखिन्छ ।
बागी उम्मेदवारको त्रास
क्षेत्र १ मा एमालेका उम्मेदवार थापाविरुद्ध बागी उम्मेदवार देवराज रोक्का तथा क्षेत्र २ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवार मेजरकुमार राई मैदानमा छन् । रोक्का ‘मुढा’ चुनाव चिह्न लिएर चुनावी प्रचारमा छन् भने राई ‘भँगेरो चरा’ चिह्न लिएर मत मागिरहेका छन् । रोक्का ०७९ मै एमालेबाट टिकटका दाबेदार थिए । राई भने तत्कालीन माओवादी केन्द्रबाट लिम्चुङबुङ गाउँपालिकामा दुईपटक अध्यक्ष निर्वाचित जनप्रतिनिधि हुन् । राजनीतिबाट राजीनामा दिएर उनी स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।