म नेपाली हुनुमा गर्व गर्छु । प्रकृतिले दिएका अनुपम प्राकृतिक सम्पदा, स्रोत साधनले भरिएको सुन्दर मेरो देश नेपाल। जलस्रोतको दोस्रो धनी, सानो भएपनि सबै किसिमका प्राकृतिक सौन्दर्य र वातावरणले भरिएको स्वर्गको टुक्रा मान्छु-म मेरो देश नेपाललाई।
ऐतिहासिक सम्पदाहरू देशका पहिचान र गौरव हुन् । सम्पदा नष्ट हुँदा इतिहास संस्कृति र पहिचानमा पर्ने असरहरू सामान्य देखिए पनि नेपालीपन, नेपालीमनका लागि पीडा र भावनात्मक आघात सधै रहिरहने रहेछ। साथै भावी पुस्ताले गुमाएको ऐतिहासिक महत्वको सिकाइ र सम्पदाको मूल्यलाई हामीले सामान्य रुपमा हेर्नुहुन्छ भन्ने लाग्दैन। यी कुराहरूले भोलिको पिढीमा देशप्रतिको अपनत्व र माया टाढिँदै जाने निश्चित हुन्छ।
नेपाल संस्कार, संस्कृति तथा सभ्यताले ऐतिहासिक धरोहरले भरिएको राष्ट्र हो। मठमन्दिर दरबार चैत्य गुम्बा पुरातात्विक संरचनाहरू केवल ढुङ्गा माटो इटा मात्र होइनन् । हाम्रो पहिचान र गौरवका जिउँदो प्रमाण हुन्। तर, आज परिवर्तन र विकासको नाममा ती ऐतिहासिक सम्पदाहरू जल्दै जाँदा आफ्नो दाजुभाई एकआपसमा लड्दै जाँदा नेपाली मन अत्यन्त पीडामा छ।
हरेक अवस्था र सिर्जनालाई माया ममता स्नेह राख्न जरुरी छ । छुटेर होइन जुटेर मात्र देश बन्छ। ऐतिहासिक धरोहर, धर्म, संस्कार, संस्कृति, चाडपर्व रीतिरिवाज, देशमा बोलिने सम्पूर्ण भाषालाई माया गरौँ । प्रयोग गरौँ । जोगाउने कोसिस गरौं। यी सबै हाम्रा पहिचान हुन्।
विकास आवश्यक छ । सकारात्मक परिवर्तन आवश्यक छ। तर, इतिहास मेटेर गरिएको विकासले राष्ट्रलाई खोक्रो बनाउँछ। राजनीतिक स्वार्थका लागि हरेक आन्दोलनहरूले देशका ऐतिहासिक सम्पदाहरू आगलागी भए, भत्काइए, उपेक्षाको शिकार बनाइए। यस्ता घटनाहरुले हामीले पितापूर्खाबाट पाएको अमूल्य धरोहर गुमाउँदै गइरहेका हुनेछौं।
अहिले हामी देख्छौं फरक राजनीतिक विचार बोकेका आफ्नै दाजुभाइ-दिदीबहिनी बीच द्वन्द, घृणा हिंसा, बढ्दै गइरहेको छ। यो त अझ दु:खद पक्ष हो। हिजो देखिएको आपसी सद्भाव मेलमिलाप सहयोगलाई नेपाली संस्कारका रुपमा लिइन्थ्यो। खै त आज एकता ! यसरी एकताको प्रतीकका रुपमा रहनुपर्ने नेपाली समाज विभाजनको बाटोमा लाग्दा सम्पदा मात्र होइन मानवीय सम्बन्ध पनि जल्दै गएको अनुभूति हुन्छ।
परिवर्तनका नाममा इतिहास बोकेका ऐतिहासिक सम्पदाहरू जल्दै गर्दा, विरोधीका नाममा आफ्नै दाजुभाई एकआपसमा जुध्दै गर्दा, शान्तिभूमिमा रक्त श्राप हुँदै गर्दा, आमाले कसरी सहिन होला आँखा अगाडि आफ्नै सन्तान ढल्दै गर्दा ! ऐतिहासिक सम्पदा जोगाउनु भनेको विगत जोगाउनु मात्र होइन भविष्य सुरक्षित गर्न पनि हो ।
त्यसैले राज्य, समाज र प्रत्येक नागरिकले सचेत भएर हाम्रा सम्पूर्ण सम्पदाहरु संरक्षणमा जुट्नुपर्छ। नेपाली हिजो जस्तै नेपाली मनमा बाँधिन आवश्यक छ । सकारात्मक परिवर्तन आवश्यक छ तर, इतिहास र आपसी सम्बन्धको बलिदान दिएर होइन इतिहास जोगाएर दाजुभाइ-दिदीबहिनीको एकता मजबुत बनाएर अघि बढ्नु नै साँचो परिवर्तन हो।
नामी साप्ताहिक