काठमाडौं । नेपालमा जलपन्छीको संख्या एक वर्षमै ६ हजारभन्दा बढीले घटेको पाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको ‘एसियन वाटरबर्ड सेन्सस २०२६’ को नतिजाले देशभर जलपन्छी संख्या उल्लेख्य रूपमा घट्दै गएको देखाएको हो ।
गत ३ देखि १८ जनवरी २०२६ सम्म देशभरका १८ सिमसार क्षेत्र र तिनअन्तर्गतका ७८ साना क्षेत्रमा गरिएको गणनाअनुसार यस वर्ष नेपालमा ८९ प्रजातिका ९० हजार ६ सय ८८ जलपन्छी मात्र रहेका छन् । यो संख्या सन् २०२५ को तुलनामा ६ हजारभन्दा बढीले कम हो । गत वर्ष ९४ प्रजातिका ९६ हजार ५ सय ६५ जलपन्छी गणनामा परेका थिए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट एवं सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार जलपन्छी संख्यामा आएको गिरावट सिमसार क्षेत्रको बिग्रँदो अवस्था, मानव गतिविधिको बढ्दो चाप, प्रदूषण तथा प्राकृतिक आवास नष्ट हुँदै जानुको संकेत हो ।
तथ्यांक अनुसार काठमाडौं उपत्यकाभित्र टौदह र बागमती नदी क्षेत्रमा जलपन्छी संख्या घटेको छ । यस वर्ष यहाँ १६ प्रजातिका १ सय ६४ जलपन्छी मात्रै भेटिएका छन् । गत वर्ष यही क्षेत्रमा १८ प्रजातिका २ सय ४ पन्छी गणना गरिएको थियो ।
तर मनोहराफाँटमा भने जलपन्छी संख्या बढेको छ । यस क्षेत्रमा १४ प्रजातिका ३ सय ७९ जलपन्छी भेटिएका छन् ।
त्यस्तै पोखरा उपत्यकाका सिमसार क्षेत्रमा ४६ प्रजातिका ३ हजार ७ सय ६४ जलपन्छी गणनामा परेका छन्, जुन अघिल्लो वर्षको तुलनामा बढी हो ।
रारातालमा यस वर्ष १३ प्रजातिका २ सय ५३ जलपन्छी भेटिएका छन्, जुन गत वर्षभन्दा कम हो ।
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ६३ प्रजातिका २५ हजार ३ सय ५८ जलपन्छी गणनामा परेका छन् । यहाँ पनि संख्या घटेको देखिएको छ ।
त्यस्तै कोशी टप्पु वन्यजन्तु आरक्ष र आसपासमा ५६ प्रजातिका ५ हजार ८ सय ९० जलपन्छी भेटिएका छन् । यस क्षेत्रमा पनि जलपन्छी संख्या घट्दो क्रममा देखिएको छ । यसबीच केही सिमसार क्षेत्रमा भने सकारात्मक संकेत देखिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ७० प्रजातिका २२ हजार ८ सय १७ जलपन्छी भेटिएका छन्, जहाँ संख्या बढेको छ ।
पुरैनी र बन्धाताल क्षेत्रमा ५६ प्रजातिका २ हजार ३ सय ५२ जलपन्छी भेटिएका छन्, जुन अघिल्लो वर्षभन्दा बढी हो । त्यस्तै नाखोडी ताल (कैलाली) मा १५ प्रजातिका ३ सय १४, लुम्बिनी क्षेत्रमा ४७ प्रजातिका ४ हजार २ सय ९, राप्ती नदी आसपास ३० प्रजातिका १ हजार १ सय ९४ र धनुषाधाम तथा कमला नदी क्षेत्रमा ३३ प्रजातिका २ हजार ५१ जलपन्छी गणनामा परेका छन् । यी क्षेत्रमा जलपन्छी संख्या बढेको विभागले जनाएको छ ।
विभागका अनुसार नेपालमा हरेक वर्ष जनवरीको पहिलो शनिबारदेखि जलपन्छी गणना गरिँदै आएको छ । यस गणनाको उद्देश्य बसाइँसराइ गर्ने तथा पानीमा आश्रित चराको अनुगमन, सिमसार क्षेत्रको अवस्था मूल्याङ्कन तथा संरक्षणप्रति आम नागरिकको चेतना र सहभागिता बढाउनु हो ।
प्रकाशित मिति: सोमबार, माघ २६, २०८२ १९:०७