काठमाडाैं । आसन्न फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले प्रभावकारी मतदाता शिक्षा कार्यान्वयनमा जोड दिएको छ। आम मतदातालाई मतदान प्रक्रियाबारे पूर्ण जानकारी गराउने उद्देश्यले आयोगबाट स्वीकृत विशेष कार्यक्रम अनुसार यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिने भएको छ।
घरदैलो कार्यक्रममार्फत परिचालित स्वयंसेवकहरूले मतदातालाई मताधिकारको महत्व, मतको सही प्रयोग, मतदान गर्ने तरिका तथा सम्पूर्ण निर्वाचन प्रक्रियाबारे जानकारी गराउने छन्। यस कार्यक्रमले मतदातामा सचेतना अभिवृद्धि गर्दै बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोगले लिएको छ।
निर्वाचन आयोगको अनलाइन पोर्टलमा प्रकाशित जानकारी अनुसार निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आयोगबाट मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको छ। आयोगले यस कार्यक्रमलाई थप प्रभावकारी बनाउन आमसञ्चार माध्यमको प्रयोगमार्फत मतदाता शिक्षा सामग्री उत्पादन गरी प्रकाशन तथा प्रसारण गर्ने तयारी पनि अघि बढाएको जनाएको छ।
मतदाता शिक्षालाई व्यापक र प्रभावकारी बनाउन आयोगले सम्बन्धित सरोकारवालासँग अन्तक्रिया गर्दै सहकार्यको माध्यम अपनाइरहेको छ। यस अभियानमा सातै प्रदेश सरकार, ७५३ वटै स्थानीय तह, निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका राजनीतिक दल, उम्मेदवार, आमसञ्चार माध्यम तथा सम्पूर्ण सरोकारवालाबाट सक्रिय सहयोगको अपेक्षा गरिएको छ।
यसै सन्दर्भमा निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले निर्वाचन आयोगले मतदाता शिक्षालाई सधैं उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको बताएकी छन्। उनले निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गर्न आयोगले सम्पूर्ण तयारी पूरा गरिसकेको उल्लेख गर्दै निर्धक्क भएर निर्वाचनमा सहभागी हुन सम्पूर्ण मतदातालाई आग्रह गरेकी छन्।
निर्वाचन आयोगको यस सक्रिय पहलले मतदाता सचेतना बढाउँदै लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: बुधबार, माघ २८, २०८२ ०९:१६