काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको पात्रो (पञ्चाङ्ग) सार्वजनिक गरेको छ। समितिद्वारा प्रकाशित पात्रो अनुसार आगामी वर्षका प्रमुख चाडपर्वहरूको तिथि र मिति सार्वजनिक गरिएको हो।
पात्रो अनुसार २०८३ साल वैशाख ४ गते शुक्रबार मातातीर्थ औँसी परेको छ। उक्त दिन आमाको मुख हेर्ने दिनका रूपमा मनाइन्छ । वैशाख ७ गते सोमबार अक्षय तृतीया परेको छ।
यसै दिनदेखि त्रेतायुग सुरु भएको मान्यता छ। वैशाख १८ गते शुक्रबार गौतमबुद्ध जयन्ती, चण्डीपूर्णिमा तथा उभौली पर्व परेको छ । आषाढ ११ गते बिहीबार निर्जला एकादशी व्रत परेको छ। यस दिन तुलसीको दल राख्ने परम्परा छ।
साउन १ गते श्रावण सङ्क्रान्ति (लुतो फाल्ने दिन) मनाइनेछ। साउन ९ गते हरिशयनी एकादशीका दिन तुलसीको बिरुवा रोपिन्छ र चतुर्मास व्रत सुरु हुन्छ। साउन १३ गते गुरुपूर्णिमा (व्यास जयन्ती) तथा साउन २८ गतेदेखि गुँला धर्म आरम्भ हुनेछ ।
भदौ १ गते नागपञ्चमी, १२ गते रक्षाबन्धन तथा जनैपूर्णिमा, १३ गते गाईजात्रा, १९ गते श्रीकृष्ण जन्माष्टमी व्रत, २६ गते कुशे औँसी (बुवाको मुख हेर्ने दिन), २९ गते हरितालिका तीज र ३० गते ऋषिपञ्चमी व्रत परेको छ।
असोज १ गते विश्वकर्मा पूजा, ९ गते कुमारी इन्द्रजात्रा, ११ गतेदेखि सोह्रश्राद्ध सुरु भई असोज २४ गते औँसी श्राद्धपछि पितृ विसर्जन गरिनेछ ।
यस वर्षको बडा दसैँ असोज २५ गते घटस्थापनासँगै सुरु हुनेछ । असोज ३१ गते फूलपाती, कार्तिक १ गते महाअष्टमी, ३ गते महानवमी र ४ गते विजयादशमी (टीका) परेको छ। कार्तिक ८ गते कोजाग्रत पूर्णिमासँगै दसैँ समापन हुनेछ।
तिहार भने कार्तिक २० गतेदेखि सुरु हुनेछ। कार्तिक २२ गते लक्ष्मी पूजा, २४ गते गोवर्धन पूजा तथा म्ह पूजा र नेपाल संवत् ११४७ आरम्भ हुनेछ । कार्तिक २५ गते भाइटीका मनाइनेछ।
मंसिर ४ गते हरिबोधनी एकादशी (तुलसी विवाह), २१ गते बालाचतुर्दशी तथा २८ गते विवाह पञ्चमी परेको छ। पुस ९ गते धान्यपूर्णिमा तथा उधौली पर्व, माघ १ गते माघे सङ्क्रान्ति (उत्तरायण आरम्भ), माघ ८ गतेदेखि श्रीस्वस्थानी व्रत सुरु हुनेछ। माघ २४ गते सोनाम ल्होसार तथा २८ गते वसन्त पञ्चमी (श्रीपञ्चमी) मनाइनेछ।
फाल्गुन २२ गते महाशिवरात्रि, २५ गते ग्याल्पो ल्होसार, चैत्र ७ गते पहाडी जिल्लामा फागु पूर्णिमा र ८ गते तराईमा होली मनाइनेछ । चैत्र २३ गते घोडेजात्रा पर्व परेको छ।
समितिका अनुसार सार्वजनिक गरिएको पात्रो अनुसार नै वर्षभरि धार्मिक तथा सांस्कृतिक चाडपर्व मनाइनेछन्।