काठमाडौं । आज ७६औँ प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस भव्यताकासाथ मनाइँदैछ।
सरकारी तथा गैरसरकारी संघसंस्थाहरु सबैले देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो ।
७६औँ प्रजातन्त्र दिवसको यस महत्वपूर्ण अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।
विसं २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदै आइएको छ।
प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ।
राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ।
तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो।
प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता लगायतले शुभकामना दिएका छन्।
प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२ ०८:५६