जीवनको यात्रामा कहिलेकाहीँ यस्ता मोडहरू आउँछन्, जसले हाम्रो अस्तित्व नै फेरिदिन्छन्। संगीतको लयमा रमाएको युवावस्था, सपनाले भरिएको कलेज जीवन, अनि अनपेक्षित रूपमा भेटिएको एक सरल अनुहार-यी सबै मिलेर बनेको कथा हो यो। सिक्किमको नाम्चीबाट झापाको दमकसम्म फैलिएको यो प्रेम केवल दुई व्यक्तिको सम्बन्ध मात्र थिएन, यो विश्वास, समर्पण र बलिदानको गहिरो दस्तावेज थियो।
निर्जला केवल मेरी जीवनसाथी थिइनन्; उनी मेरो हिम्मत, मेरो आत्मबल र मेरो भविष्यप्रतिको भरोसा थिइन्। तर नियतिले हाम्रो साथ छोट्यायो। समय बित्दै जाँदा घाउ सुक्दै गए, तर सम्झना अझै ताजा छ। आज मेरी छोरीको अनुहारमा म निर्जलाको मुस्कान देख्छु। जब उसले मलाई “बाबा” भन्छे, म फेरि बीस वर्षअघिको त्यो अस्पतालको कोठामा पुग्छु।
यो कथा प्रेमको आरम्भ, बिछोडको वेदना र सम्झनाको अमर स्वरको कथा हो । सन् २००५ तिरको कुरा हो। म दमक बहुमुखी क्याम्पसमा आई.एड दोस्रो वर्ष अध्ययनरत थिएँ । युवावस्था जोशले भरिएको थियो। केही साथीहरूसँग मिलेर हामीले “कोशेली सांगीतिक व्याण्ड” स्थापना गरेका थियौँ। झापाका विभिन्न स्थानमा साना–ठूला कार्यक्रम गथ्र्यौं । मञ्चमा उभिँदा आफूलाई संसारकै भाग्यमानी मान्थें।
तिहारको अवसर पारेर सिक्किमको नाम्चीस्थित आफन्तको घर जाने अवसर मिल्यो। पहाडको चिसो हावा, फराकिलो आकाश र शान्त वातावरणले मन हर्षित बनायो । त्यहीँ पहिलो पटक निर्जला प्रधानसँग भेट भयो । उनी मेरी फुपूकी छोरी निशाकी साथी थिइन्।
सादा पहिरन, मधुर मुस्कान र बोलाइमा सिक्किमे लवजको मिठास। पहिलो नजरमै मन तानियो।
तिहार कार्यक्रममा उनले नृत्य प्रस्तुत गरिन् ।
उनको आत्मविश्वास र लयले म स्तब्ध भएँ ।
कार्यक्रमपछि सामान्य परिचय भयो ।
“तपाईं दिपक दाइ ?”
“हो, अनि तपाईं निर्जला ?”
“निशाले धेरै सुनाएको थियो तपाईंको बारेमा ।
तिहारको कार्यक्रममा निर्जलाको नृत्य देखेर म स्तब्ध भएँ । उनको आत्मविश्वास, लय र भाव–भंगिमाले म प्रभावित भएँ। त्यही बेला निशाले मलाई जिस्क्याउँदै भनिन् ।
“दिपक दाइ, निर्जलालाई भाउजू बनाउने मन छ कि छैन ?”
म मुस्कुराएँ, तर मनभित्र चाहना जागिसकेको थियो । तर डर पनि थियो-निर्जला जस्ती सुन्दर र शिक्षित युवतीले मलाई किन स्वीकार्लिन् ? उनी व्याचलर अध्ययनरत् थिइन्, र उमेरमा म भन्दा एक वर्ष जेठी । निशाले भने हार मानिनन् ।
“दाइ, म कुरा मिलाउँछु । तपाईं ओके मात्र भन्नुस् ।”
मैले लाज र डर मिसिएको स्वरमा ‘हुन्छ’ भनेँ ।
केही दिनपछि निर्जला फुपूको घरमा आइन् । हामीबीच गम्भीर संवाद भयो। उनको परिपक्वता, सादगी र स्पष्ट सोचले मलाई झन् आकर्षित गर्यो । उमेर, दूरी र भविष्यका अन्योलताभन्दा ठूलो बन्यो हाम्रो आपसी समझदारी।
अन्ततः मैले निर्जलालाई लिएर नाम्चीबाट सिलिगुडी हुँदै दमक फर्कने निर्णय गरेँ। त्यो निर्णय सजिलो थिएन, तर मन दृढ थियो। घरमा उनलाई भित्र्र्याउँदा परिवारबाट ठूलो समर्थन र माया पाइयो। सबैले निर्जलालाई आफ्नै छोरीझैँ अपनाए।
आमाले स्नेह दिएर भनिन्,
“छोरी, अब यो घर पनि तिम्रै हो ।”
निर्जला चाँडै सबैसँग घुलमिल भइन् । बिहान चिया बनाउँदा उनको स्वरले घर गुञ्जिन्थ्यो। म कलेज र कार्यक्रमतिर व्यस्त हुन्थें, उनी घर सम्हाल्थिन्।
एक वर्षपछि खुसीको खबर आयो-निर्जला आमा बन्ने भइन् ।
“अब तपाईं साँच्चै बाबा बन्नुहुन्छ,” उनले हाँस्दै भनिन् ।
“हाम्रो सानो संसार आउँदैछ,” मैले उनको हात समाउँदै भनेँ ।
हामी भविष्यका सपना बुन्दै थियौँ।
सुत्केरीको समय आयो। झापाको आम्दा अस्पतालमा भर्ना गरियो। सुरुवातमा सबै सामान्य थियो। तर केही घण्टापछि डाक्टरको अनुहार गम्भीर देखियो।
“हामीले सक्दो प्रयास गरिरहेका छौं,” डाक्टरले भने ।
म हतारिँदै उनको बेडमा पुगेँ । निर्जलाको अनुहार फिक्का थियो, तर आँखा अझै उज्यालो।
“दिपक...”
“म यतै छु निर्जला, केही हुँदैन ।”
उनले कमजोर स्वरमा भनिन्,
“छोरीलाई माया गर्नु है... उसको भविष्य राम्रो बनाउनु ।”
मेरो घाँटी अवरुद्ध भयो ।
“हामी सँगै हुर्काउने हो,” मैले आँसु पुछ्दै भनें ।
त्यसपछि उनले पहिलो पटक मलाई अत्यन्त मायालु स्वरमा सम्बोधन गरिन्-
“बाबा... अब छोरीको जिम्मा तपाईंलाई सुम्पें...”
त्यो ‘बाबा’ शब्दले मेरो अस्तित्व नै हल्लियो ।
मैले उनका हात कस्सिएर समातेँ ।
“निर्जला, यति चाँडो हार मान्न पाइँदैन,” म कराएँ ।
तर केही क्षणपछि उनका आँखा बिस्तारै चिम्लिए ।
म चिच्याउन पनि सकेनँ ।
मेरो संसार त्यही अस्पतालको कोठामा रोकियो ।
सम्झनाको निरन्तरता
छोरी स्वस्थ जन्मिइन् । उनको अनुहारमा निर्जलाको झल्को थियो। पहिलो पटक उसले रोएर सास फेर्दा मलाई निर्जलाको अन्तिम सास सम्झना आयो।
वर्षहरू बित्दै गए । म बाबाको जिम्मेवारीमा रमाउन खोजेँ । तर हरेक तिहारमा नाम्ची सम्झिन्थेँ।
छोरीले एकदिन सोधी,
“बाबा, आमा कस्ती थिइन् ?”
मैले गहिरो सास फेरें ।
“तिमी जस्तै-साहसी, नम्र र धेरै माया गर्ने ।”
जब छोरीले पहिलो पटक स्पष्ट स्वरमा भनिन्,
“बाबा...”
म रोएँ । त्यो आवाजमा निर्जलाको अन्तिम शब्द मिसिएको थियो ।
सिक्किमको नाम्चीबाट सुरु भएको प्रेम झापाको अस्पतालमा टुंगियो । तर सम्झना कहिल्यै मरेन। निर्जलाले मलाई सिकाइन्-प्रेम भनेको सँगै बाँच्नु मात्र होइन, जिम्मेवारी बोक्नु पनि हो ।
आज छोरी २० वर्ष पुगेकी छिन् । उसको हाँसोमा निर्जलाको जीवन बाँचिरहेको छ ।
कहिलेकाहीँ म आकाशतिर हेरेर भन्छु-
“निर्जला, तिमीले दिएको ‘बाबा’ शब्दलाई म अझै जोगाइरहेको छु ।”
प्रेम कहिल्यै समाप्त हुँदैन ।
कहिलेकाहीँ त्यो एउटी छोरीको आवाजमा फेरि जीवित भएर आउँछ-
“बाबा...”
याे पनि :
नामी साप्ताहिक