नेपाली समाजमा उत्सव, चाडपर्व र सामाजिक कार्यहरू भोजभतेर बिना अधुरा मानिन्छन्। तर अचेल हाम्रा भोजहरू खुसी साट्ने माध्यम भन्दा पनि धन र प्रतिष्ठा प्रदर्शन गर्ने थलो बन्न थालेका छन्। विशेषगरी विवाह, व्रतबन्ध र अन्य उत्सवहरूमा देखिने ’बफे’ शैलीको खानामा मानिसको एउटा अनौठो स्वभाव प्रकट हुने गर्छ।
त्यो हो, आफ्नो भोक र क्षमताभन्दा बढी खाना थालमा भर्ने! हामी आफ्नै पेटको अड्कल गर्न सक्दैनौ भने भोलि आउने समस्या र अवस्थाको सोच मस्तिष्कमा कसरी राख्न सक्छौं। त्यसैले सबैभन्दा पहिला आफ्नो भोक र भोजन अड्कल गर्न सिकौँ। हामी प्रायः आँखाको भोकका अगाडि पेटको आयतन बिर्सन्छौँ। थरीथरीका परिकार देखेपछि सबै चाखौँ भन्ने लोभमा थालभरि खाद्यान्न थुपार्छौँ। तर, केही गाँस खाएपछि बाँकी सबै फोहोरको डब्बामा मिल्काइदिन्छौँ। यो केवल खानाको बर्बादी मात्र होइन, बरु अन्नको ठुलो अपमान र मानवीय संवेदनाको खडेरी पनि हो।
हामीले थालमा जुठो बनाएर छोडेको त्यो एक गाँस भातको मूल्य बुझ्न अफ्रिकाका ती सुक्खाग्रस्त क्षेत्रका बालबालिकाहरूलाई हेर्नुपर्छ। जो एक छाक अन्नको अभावमा हड्डी र छाला मात्र बाँकी भएर मृत्यु पर्खिरहेका छन्। हामी रवाफ देखाउन र ठूलो मान्छे कहलिनका लागि जति खाना फ्याँक्छौँ। त्यति खानाले कयौँ भोका पेटहरूको प्राण जोगिन सक्छ।
भोक र भोजनले विश्वको एउटा कठोर र विडम्बनापूर्ण यथार्थलाई चित्रण गर्छ। एकातिर बाँच्नका लागि एक गास अन्न नपाएर तड्पिरहेको अफ्रिकाको एउटा ठूलो हिस्सा खडेरी अनिकाल र गरिबीका कारण लाखौं बालबालिकाहरू कुपोषणको सिकार भइरहेका छन्। अर्कोतिर सम्पन्नता र देखासेखीको नाममा खानाको बर्बादी गरिरहेको नेपाली समाजले नैतिकता बिर्सिएको यथार्थलाई चित्रण गर्न सकिन्छ।
नेपाली संस्कृतिमा अन्नलाई लक्ष्मी मानिन्छ तर, आधुनिकताको नाममा यही मूल्यलाई बिर्सँदै भोजमा फ्याकिएको खानालाई प्रतिष्ठासँग जोड्न थालिएको छ। नेपालकै कैयौ सुकुम्बासी बस्तीका भोका बालबालिकाहरुका लागि हामीमा खाना संरक्षण गर्ने चेत भइदिए भोक मेटाउने अवसर मिल्न सक्छ। खाना फ्याक्नु भनेको केवल वस्तु नष्ट गर्न मात्र होइन बरु कसैको गाँस खोस्नु र किसानको पसिनाको अपमान गर्नु पनि हो।
प्रकृतिसँग एउटा कठोर नियम छ । आज हामीले जसको कदर गर्दैनौँ, भोलि त्यसकै अभावमा हामी छटपटाउनुपर्ने हुन सक्छ। अहिले प्रशस्त छ भन्दैमा खानाको अपहेलना गर्नु भनेको भविष्यको अनिकाललाई निम्तो दिनु हो। कुनै दिन परिस्थिति प्रतिकूल भई भोको बस्नुपर्दा, हिजो फ्याँकिएको त्यही एक टुक्रा रोटी वा एक गाँस भातको यादले मुटु पोल्ने निश्चित छ।
त्यसैले, भोजमा जाँदा आफ्नो पेटमा कति अटाउँछ भन्ने अड्कल आफैँले गरौँ। खाना फ्याँक्नु आधुनिकता होइन, बरु एक गम्भीर अपराध हो। याद राखौँ, हाम्रो थालमा जुठो छोडिएको खाना कसैको लागि सपना हुन सक्छ।
यसैले भन्न सकिन्छ अफ्रिकाको भोक र नेपालको भोजको यो अन्तरले हाम्रो मानवीय संवेदना कति कमजोर हुँदैछ भन्ने देखाउँछ। हामीले प्लेटमा खाना हाल्नु अघि एकपटक भोको पेटको बारेमा सोच्न जरुरी छ जसका लागि अन्नको एउटा दाना पनि अमृत समान हुन्छ। खाना त्यति मात्र लिऊ जति खान सकिन्छ। फाल्नुभन्दा अघि एकपटक सोचौँ कोही भोकै त छैनन्?
प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३ ०६:३२