Top Navigation
  • Contact
Main Navigation
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सम्झनामा सुरेश किरण: अब घण्टाघरले कोसँग समय सोध्छ होला..?
सम्झनामा सुरेश किरण: अब घण्टाघरले कोसँग समय सोध्छ होला..?
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, वैशाख २६, २०८३

काठमाडाैं । काठमाडौं महानगरका बहाल, बही तथा मठमन्दिर अनि गल्ली-गल्ली, संस्कृति, इतिहास र समाजका कथाहरूमा गहिरो दख्खल राख्ने सुरेश किरणलाई म यही महानगरमा खोज्ने मान्छेहरूको भीडमा अर्को मान्छे हुँ । कविता, व्यंग्य, निबन्ध र सम्पादनमार्फत नेपाली र नेपालभाषा साहित्यमा अमिट छाप छोडेका उनै मेरा अग्रज सुरेश किरण अब यो संसारमा छैनन् भन्दा मैले अहिलेसम्म पनि विश्वास गर्न सकेको छैन ।

विसं. २०७५ सालतिर एघार महिना काठमाडौं महानगरपालिकाको सहायक विज्ञ भएर कार्यरत रहँदा मैले नजिकबाट चिनेको मान्छे–सुरेश किरण ! हुन त यसअघि पनि सुरेश किरणलाई नचिनेको होइन, काठमाडौंबाट निस्कने सन्ध्याकालीन नेपालभाषाको लोकप्रिय दैनिक ‘सन्ध्या टाइम्स’को सम्पादक हुँदादेखि चिनेको मान्छे ! उही रफ्तारमा शालीन तथा सौम्य स्वभावमा रहने अनि तुरुन्तै सबैसँग नखुले पनि विस्तारै खुल्दै जाने गहिरो भावको उनको जीवन, सिर्जना र सांस्कृतिक योगदानबाट म अझ नजिक बनेको थिएँ ।

उनीसँग मूर्त तथा अमूर्त काठमाडौं महानगरको सम्पदा विषयमा भएको विज्ञताले काठमाडौं महानगरपालिकाले महानगरको सम्पदा संरक्षण तथा विकासमा ठूलै सहयोग पाएको थियो । जसको साक्षी म आफैँ पनि हुँ । उनको त्यो विज्ञताले मलाई सधैँ लोभ्याइरहन्थ्यो । काठमाडौं महानगरपालिका वडा नम्बर ५ हाडीगाउँस्थित लिच्छविकालीन राजा अंशुवर्माको कैलाशकुट दरबारको खोज तथा अनुसन्धानमा उनीसँगै जाँदा देखिएको उनको विद्वता तथा विज्ञताबाट मैले धेरै सिकेको थिएँ ।

लिच्छविकालबाट सुरु भएको काठमाडौंको सभ्यता तत्कालीन राजा मानदेवको राजधानी आलामपुर, हाल कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर २ आलापोट हुँदै हाडीगाउँ पुगेको र त्यहाँबाट असनमा स्थानान्तरण भएको जस्ता जीवित दस्तावेज खोज्ने क्रममा सुरेश किरण मेरो अगुवाकै रूपमा थिए । त्यति मात्र नभई, काठमाडौं नगरपालिकाबाट महानगरपालिका घोषित भएपछि बनेका पहिलो काठमाडौं महानगरपालिकाका पिता अर्थात् मेयर पी.एल. सिंहसँग भएको ‘टक टु टक’ वार्तामा पनि उनी सूत्रधार बनेका थिए ।

उनले नचिनेका शायद कोही थिएनन् । सबैलाई उनले चिनेको पाउँदा मलाई अत्यन्तै गौरव लागेको थियो । जसको साथ–सहयोगका कारण मलाई काठमाडौं महानगरपालिकामा एघार महिने सहायक विज्ञको जागिरे जीवन अति नै सहज बनेको थियो । हरेक कुरामा अत्यन्तै सहयोगी तथा मृदुभाषी सुरेश किरण अँध्यारो जीवनका आशालाग्दा किरण नै थिए ।

काठमाडौं महानगरपालिकाको एघार महिने कार्यकाल सकेपछि पनि मैले सुरेश किरणसँगको सामीप्यतालाई निरन्तरता नै दिएको थिएँ । काठमाडौं महानगरपालिका पछि उनीसँग मेरो सहकार्य नेपाल मण्डल लिटरेचर कल्चर ट्रस्टमा भयो । 

उनी नेपालमण्डलका शोधविज्ञ नै भएको कारण त्यहाँबाट हुने हरेक कला–साहित्य र संस्कृति सम्बन्धी अनुसन्धानमा उनको साथविना अधुरो मात्र नभई अपूरो नै हुने गर्थ्यो । जुन कुरा नेपालमण्डलका साथीहरूले कहिल्यै पनि बिर्सन सक्तैनन् र मैले पनि बिर्सने छैन ।

जुन त्यो अमिट छाप उनी नेपाल सरकारको भाषा आयोगको माननीय सदस्य हुँदा समेत कायमै रह्यो । अभिभावकीय भूमिका उनीबाट हरपल नै भयो । तर, अकस्मात् सुरेश किरण अब रहेनन् भन्ने खबर जब प्रिज्मा टेलिभिजनका अध्यक्ष तथा महाप्रबन्धक निर्जल कुमार श्रेष्ठको मुखबाट सुन्दा मलाई पत्यार नै लागेको थिएन । 

दुई दिनअघि मात्र नेपालमण्डलको सामाखुशी-रानीबारीस्थित कार्यालयमा रमाइलो मूडमा भेटिएको मान्छे–लाग्थ्यो, कुनै पनि दुःख-पीर तथा रोगव्याधि नदेखिएको मान्छे एकाएक गयो भन्दा पत्याउने कुरा पनि थिएन ।

तर पनि नियतिको खेलमा आँधी चलेपछि पत्याउनै पर्‍यो । सुरेश किरणको भौतिक शरीर हामीसामुन्ने नभए पनि सधैँ नेपाली कला–संस्कृति, सम्पदा अनि साहित्यमा उनी जीवित रहनेछन् । काठमाडौंका गल्ली, बहा-बही अनि मठ-मन्दिरहरूलाई अब सुरेश किरणको न्यास्रो लागिरहनेछ । जुन मलाई लागिरहेको छ । उनी नहुँदाको न्यास्रोले जीवनभर सताइरहनेछ ।

कविता साहित्यको कुरा गर्दा मैले जीवनमा पहिलो पटक लेखेको कविताको शीर्षक थियो-‘घण्टाघरसँग बज्ने घण्टाकर्णहरू’ ! यो कविता तत्कालीन पञ्चायतकालमा मैले घण्टाघरलाई विम्बका रूपमा प्रस्तुत गरेको थिएँ । जुन कविता ‘मातृभूमि’ साप्ताहिकमा प्रकाशित भएको थियो । 

म थोरै कविता लेख्ने भए तापनि असाध्यै धेरै कविता लेख्ने सुरेश किरणको नेपालभाषामा उनको एक मात्रै कवितासंग्रह प्रकाशित छ, ‘थौँ घण्टाघरं जिके ई न्यानाच्वन’ (आज घण्टाघरले मसँग समय सोधिरहेछ) । यो असरदार शीर्षकले आज ब्रह्मलीन भइसकेका कवि सुरेश किरणलाई सधैँ सम्झाइरहनेछ-अब घण्टाघरले कोसँग समय सोध्छ होला ?
असलमा सुरेश किरण थिए- एक शालीन संस्कृतिकर्मी, नेपालभाषा आन्दोलनका अथक योद्धा । उनी जीवित थिए, अनेकौँ व्यक्तित्वमा- नेपालभाषाको दैनिक पत्रिका ‘सन्ध्या टाइम्स’का सम्पादक, ‘नेपाल भाषा टाइम्स’का संस्थापक सम्पादक, व्यंग्यकार, कवि, भाषा आयोगका माननीय सदस्य, नेपालभाषा एकेडेमीका प्राज्ञ परिषद् सदस्य, अनि दर्जनौँ पुस्तकका सम्पादक ।

सोमबार (२५ फागुन २०८२) हृदयघातले उनको महाप्रस्थान भएको छ । उनको पार्थिव शरीरलाई काठमाडौँको विजेश्वरी, ढल्को, क्षेत्रपाटी, ट्यङ्ग, बाँगेमुढा, जनबहाल, नरदेवी हुँदै इन्द्रायणीस्थित घाट पुर्‍याएर राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको थियो । उनीप्रतिको यो अतुलनीय सम्मान हो । जसको जति तारिफ गरे पनि कम नै हुन्छ ।

र, अन्त्यमा अब सम्पूर्ण नेपाली साहित्य, पत्रकारिता अनि नेपालभाषा आन्दोलनलाई सुरेश किरण नहुनुको गहिरो क्षति पुगेको छ । यद्यपि, सुरेश किरणको कविताको उचाइ, व्यंग्यको तीक्ष्णता, नेपालमण्डल सभ्यताप्रतिको गहिरो लगाव र बहुभाषिक लेखनको सिद्धहस्तता नेपाली साहित्यमा सदा जीवन्त रहनेछ । (नामी साप्ताहिकका लागि सुरेश किरण स्मृति ग्रन्थबाट साभार)

प्रकाशित मिति: शनिबार, वैशाख २६, २०८३  ०७:१६
प्रतिक्रिया दिनुहोस्
थप समाज
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्