काठमाडाैं । काठमाडौं महानगरका बहाल, बही तथा मठमन्दिर अनि गल्ली-गल्ली, संस्कृति, इतिहास र समाजका कथाहरूमा गहिरो दख्खल राख्ने सुरेश किरणलाई म यही महानगरमा खोज्ने मान्छेहरूको भीडमा अर्को मान्छे हुँ । कविता, व्यंग्य, निबन्ध र सम्पादनमार्फत नेपाली र नेपालभाषा साहित्यमा अमिट छाप छोडेका उनै मेरा अग्रज सुरेश किरण अब यो संसारमा छैनन् भन्दा मैले अहिलेसम्म पनि विश्वास गर्न सकेको छैन ।
विसं. २०७५ सालतिर एघार महिना काठमाडौं महानगरपालिकाको सहायक विज्ञ भएर कार्यरत रहँदा मैले नजिकबाट चिनेको मान्छे–सुरेश किरण ! हुन त यसअघि पनि सुरेश किरणलाई नचिनेको होइन, काठमाडौंबाट निस्कने सन्ध्याकालीन नेपालभाषाको लोकप्रिय दैनिक ‘सन्ध्या टाइम्स’को सम्पादक हुँदादेखि चिनेको मान्छे ! उही रफ्तारमा शालीन तथा सौम्य स्वभावमा रहने अनि तुरुन्तै सबैसँग नखुले पनि विस्तारै खुल्दै जाने गहिरो भावको उनको जीवन, सिर्जना र सांस्कृतिक योगदानबाट म अझ नजिक बनेको थिएँ ।
उनीसँग मूर्त तथा अमूर्त काठमाडौं महानगरको सम्पदा विषयमा भएको विज्ञताले काठमाडौं महानगरपालिकाले महानगरको सम्पदा संरक्षण तथा विकासमा ठूलै सहयोग पाएको थियो । जसको साक्षी म आफैँ पनि हुँ । उनको त्यो विज्ञताले मलाई सधैँ लोभ्याइरहन्थ्यो । काठमाडौं महानगरपालिका वडा नम्बर ५ हाडीगाउँस्थित लिच्छविकालीन राजा अंशुवर्माको कैलाशकुट दरबारको खोज तथा अनुसन्धानमा उनीसँगै जाँदा देखिएको उनको विद्वता तथा विज्ञताबाट मैले धेरै सिकेको थिएँ ।
लिच्छविकालबाट सुरु भएको काठमाडौंको सभ्यता तत्कालीन राजा मानदेवको राजधानी आलामपुर, हाल कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर २ आलापोट हुँदै हाडीगाउँ पुगेको र त्यहाँबाट असनमा स्थानान्तरण भएको जस्ता जीवित दस्तावेज खोज्ने क्रममा सुरेश किरण मेरो अगुवाकै रूपमा थिए । त्यति मात्र नभई, काठमाडौं नगरपालिकाबाट महानगरपालिका घोषित भएपछि बनेका पहिलो काठमाडौं महानगरपालिकाका पिता अर्थात् मेयर पी.एल. सिंहसँग भएको ‘टक टु टक’ वार्तामा पनि उनी सूत्रधार बनेका थिए ।
उनले नचिनेका शायद कोही थिएनन् । सबैलाई उनले चिनेको पाउँदा मलाई अत्यन्तै गौरव लागेको थियो । जसको साथ–सहयोगका कारण मलाई काठमाडौं महानगरपालिकामा एघार महिने सहायक विज्ञको जागिरे जीवन अति नै सहज बनेको थियो । हरेक कुरामा अत्यन्तै सहयोगी तथा मृदुभाषी सुरेश किरण अँध्यारो जीवनका आशालाग्दा किरण नै थिए ।
काठमाडौं महानगरपालिकाको एघार महिने कार्यकाल सकेपछि पनि मैले सुरेश किरणसँगको सामीप्यतालाई निरन्तरता नै दिएको थिएँ । काठमाडौं महानगरपालिका पछि उनीसँग मेरो सहकार्य नेपाल मण्डल लिटरेचर कल्चर ट्रस्टमा भयो ।
उनी नेपालमण्डलका शोधविज्ञ नै भएको कारण त्यहाँबाट हुने हरेक कला–साहित्य र संस्कृति सम्बन्धी अनुसन्धानमा उनको साथविना अधुरो मात्र नभई अपूरो नै हुने गर्थ्यो । जुन कुरा नेपालमण्डलका साथीहरूले कहिल्यै पनि बिर्सन सक्तैनन् र मैले पनि बिर्सने छैन ।
जुन त्यो अमिट छाप उनी नेपाल सरकारको भाषा आयोगको माननीय सदस्य हुँदा समेत कायमै रह्यो । अभिभावकीय भूमिका उनीबाट हरपल नै भयो । तर, अकस्मात् सुरेश किरण अब रहेनन् भन्ने खबर जब प्रिज्मा टेलिभिजनका अध्यक्ष तथा महाप्रबन्धक निर्जल कुमार श्रेष्ठको मुखबाट सुन्दा मलाई पत्यार नै लागेको थिएन ।
दुई दिनअघि मात्र नेपालमण्डलको सामाखुशी-रानीबारीस्थित कार्यालयमा रमाइलो मूडमा भेटिएको मान्छे–लाग्थ्यो, कुनै पनि दुःख-पीर तथा रोगव्याधि नदेखिएको मान्छे एकाएक गयो भन्दा पत्याउने कुरा पनि थिएन ।
तर पनि नियतिको खेलमा आँधी चलेपछि पत्याउनै पर्यो । सुरेश किरणको भौतिक शरीर हामीसामुन्ने नभए पनि सधैँ नेपाली कला–संस्कृति, सम्पदा अनि साहित्यमा उनी जीवित रहनेछन् । काठमाडौंका गल्ली, बहा-बही अनि मठ-मन्दिरहरूलाई अब सुरेश किरणको न्यास्रो लागिरहनेछ । जुन मलाई लागिरहेको छ । उनी नहुँदाको न्यास्रोले जीवनभर सताइरहनेछ ।
कविता साहित्यको कुरा गर्दा मैले जीवनमा पहिलो पटक लेखेको कविताको शीर्षक थियो-‘घण्टाघरसँग बज्ने घण्टाकर्णहरू’ ! यो कविता तत्कालीन पञ्चायतकालमा मैले घण्टाघरलाई विम्बका रूपमा प्रस्तुत गरेको थिएँ । जुन कविता ‘मातृभूमि’ साप्ताहिकमा प्रकाशित भएको थियो ।
म थोरै कविता लेख्ने भए तापनि असाध्यै धेरै कविता लेख्ने सुरेश किरणको नेपालभाषामा उनको एक मात्रै कवितासंग्रह प्रकाशित छ, ‘थौँ घण्टाघरं जिके ई न्यानाच्वन’ (आज घण्टाघरले मसँग समय सोधिरहेछ) । यो असरदार शीर्षकले आज ब्रह्मलीन भइसकेका कवि सुरेश किरणलाई सधैँ सम्झाइरहनेछ-अब घण्टाघरले कोसँग समय सोध्छ होला ?
असलमा सुरेश किरण थिए- एक शालीन संस्कृतिकर्मी, नेपालभाषा आन्दोलनका अथक योद्धा । उनी जीवित थिए, अनेकौँ व्यक्तित्वमा- नेपालभाषाको दैनिक पत्रिका ‘सन्ध्या टाइम्स’का सम्पादक, ‘नेपाल भाषा टाइम्स’का संस्थापक सम्पादक, व्यंग्यकार, कवि, भाषा आयोगका माननीय सदस्य, नेपालभाषा एकेडेमीका प्राज्ञ परिषद् सदस्य, अनि दर्जनौँ पुस्तकका सम्पादक ।
सोमबार (२५ फागुन २०८२) हृदयघातले उनको महाप्रस्थान भएको छ । उनको पार्थिव शरीरलाई काठमाडौँको विजेश्वरी, ढल्को, क्षेत्रपाटी, ट्यङ्ग, बाँगेमुढा, जनबहाल, नरदेवी हुँदै इन्द्रायणीस्थित घाट पुर्याएर राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको थियो । उनीप्रतिको यो अतुलनीय सम्मान हो । जसको जति तारिफ गरे पनि कम नै हुन्छ ।
र, अन्त्यमा अब सम्पूर्ण नेपाली साहित्य, पत्रकारिता अनि नेपालभाषा आन्दोलनलाई सुरेश किरण नहुनुको गहिरो क्षति पुगेको छ । यद्यपि, सुरेश किरणको कविताको उचाइ, व्यंग्यको तीक्ष्णता, नेपालमण्डल सभ्यताप्रतिको गहिरो लगाव र बहुभाषिक लेखनको सिद्धहस्तता नेपाली साहित्यमा सदा जीवन्त रहनेछ । (नामी साप्ताहिकका लागि सुरेश किरण स्मृति ग्रन्थबाट साभार)