हिजो मेरो गाउँमा मानिसहरुको
उत्पात घुइँचो थियो
कुनै पनि बुट्यान पाखाहरु
कही पनि बाँझो बारी थिएन
सबै-सबै हराभरा थिए
हरियालीले छाएको थियो
मर्दा पर्दा अर्मपर्म सबै थियो ।
आज मेरो गाउँ
उजाड बनाई
शहर ढाकिएको छ ।
त्यही शहर हो हिजो गाउँबाट
तरकारी ल्याएर चुला बलाएको
त्यही गाउँ हो हिजो शहरबाट
ढाकरका ढाकर नुन ल्याएर
गाउँको जिवन बचाएको ।
मेरो गाउँ पनि शहरमा रुपान्तरण भएको छ
शहरका पिज्जा बर्गर
मेरो भान्सामा समेत पाक्न थालेको छ
गुन्द्रुक र ढिँडो शहर पसेका छन्
शहरका छोटा-छोटा कपडा
मेरा दिदी बहिनीका पहिरन भएका छन
हिजोसम्म कुर्था सुरुवाल नलगाउने आमाहरु
मिनिस्कटमा निस्कन थालेका छन्
त्यसैले मेरो गाउँ, गाउँ नभएर
शहरमा रुपान्तरण भएको छ ।
गाउँलाई उजाड बनाउँदै शहर पस्नेहरु
बस्तीसम्म आइरहेका छन्
आफ्नो जन्मथलो भन्दै
कर्मथलोबाट चाउचाउका काटन बोकेर
गाउँ फर्कीरहेका छन्
पोको पन्तुरो बाँधेर ।
हामी भने आफ्नो कमाइको अंश छुट्याउँदै
शहरका गल्ली-गल्ली दौडिरहेका छौं
खै कहाँ रह्यो र गाउँ र शहरको अस्तित्व ।
गाउँमा बसेकाहरु शहर खोजीरहेका छन्
शहरमा बस्नेहरु गाउँ खोजिरहेका छन्
महलमा बस्नेहरु बस्ती नियाली रहेकाछन्
अनि बस्तीमा बस्नेहरु महलको सपना देखिरहेका छन्
सपना सबैले देख्ने नै रहेछ
बस ! अन्तर यही नै छ
कोही खोला किन्ने सपना देखिरहेका छन्
कोही जनता लुट्ने सपना देखिरहेका छन्
अब हामीले महल होईन
दिगो बस्ती बनाउँने सपना देखौ
जहाँ गाउँ र शहरको बिचमा
कुनै भेदभाव नहोस्
केवल सद्भाव र प्रेमको मानकको रुपमा
अडिएको एउटा सुन्दर
बस्ती बनाउँन सकियोस्
जहाँबाट देशको मुहार फेर्न सकियोस् ।
न्यायको विगुल फुक्न सकियोस् ।
प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२ २२:१९