काठमाडौं । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदै छ ।
हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रूखलाई रंगीचंगी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ ।
त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।
त्यसैबेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १९, २०८२ ०९:४७