रुकुमपूर्व । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्वबाट प्रतिनिधिसभा सदस्यमा भारी मतान्तरसहित विजयी भएका छन् ।
निर्वाचन कार्यालयका अनुसार प्रचण्डले ११ हजार २ सय ८२ मत प्राप्त गर्दै प्रभावशाली विजय हासिल गरेका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार लीलामणि गौतमले ३ हजार ९ सय ३३ मत प्राप्त गरे।
त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार कुसुम थापाले ३ हजार २ सय ८० मत ल्याउनुभयो भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लखनकुमार थापाले ७ सय ९१ मत प्राप्त गरे । प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्दीप पुनले २ सय १ मत पाए।
यस विजयसँगै प्रचण्ड लगातार पाँचौँ पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। रुकुमपूर्वमा प्राप्त यो परिणामलाई वामपन्थी आन्दोलनप्रति जनताले व्यक्त गरेको विश्वास र समर्थनका रूपमा समेत विश्लेषण गरिएको छ ।
जनतासँगको निरन्तर सम्पर्क, लामो राजनीतिक अनुभव तथा राष्ट्रिय राजनीतिमा निर्वाह गरेका नेतृत्वकारी भूमिकाका कारण मतदाताले उनलाई पुनः विश्वासका साथ विजयी बनाएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
प्रचण्ड यसअघि पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं-१० र रोल्पा-२ बाट विजयी भएका थिए। त्यसपछि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सिरहा क्षेत्र नम्बर-५ बाट निर्वाचित भएका थिए।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर-३ बाट विजयी भएका थिए। २०७९ सालमा गोरखा क्षेत्र नम्बर-२ बाट पनि निर्वाचित भएका थिए । रुकुमपूर्वबाट प्राप्त पछिल्लो विजयले उनको संसदीय यात्रालाई थप बलियो बनाएको छ।
प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२ १९:३८