दिपक विवश आँशु
मानिसको जीवनमा केही सम्बन्ध यस्ता हुन्छन्, जसलाई समय, दूरी वा परिस्थितिले टाढा पार्न सक्छ, तर मनको गहिराइबाट कहिल्यै मेटाउन सक्दैन। बाल्यकालमा जन्मिएका निश्चल भावनाहरू निर्दोष र स्वार्थरहित हुन्छन्। तर समाजका नियम, परिवारका निर्णय र समयको प्रवाहले ती भावनाहरूलाई अलग बाटोमा धकेलिदिन्छ। धेरैजसो यस्ता सम्बन्धहरू अधुरा रहन्छन्, तर ती अधुरापनमै एउटा अनौठो पूर्णता लुकेको हुन्छ सम्झनाको, पीडाको र मधुर अनुभूतिको।
जीवन अगाडि बढ्दै जान्छ। मानिस नयाँ जिम्मेवारी, नयाँ सम्बन्ध र नयाँ परिवेशमा रमाउन खोज्छ। तर कहिलेकाहीँ विगतका ती स साना क्षणहरू, पुराना अनुहारहरू र अधुरा संवादहरू फेरि मनको ढोका ढकढक्याउँछन्। आधुनिक प्रविधिले टाढिएका मनहरूलाई नजिक ल्याउने अवसर दिएको छ, तर यसले पुराना भावनाहरूलाई पनि फेरि जीवित बनाइदिन्छ।
यही यथार्थको सेरोफेरोमा घुमेको यो कथा दुई मनहरूको कथा हो, जोसँगै हुर्किए, समयले छुटायो, तर माया कहिल्यै टुटेन। म र रमा थापा कक्षा १ देखि जनजागृती माध्यमिक विद्यालय, लमजुङको गुरुङटारमा सँगै पढ्थ्यौं। पहिलो दिनदेखि नै एउटै बेञ्चमा बस्ने, एउटै बाटो हिँड्ने र टिफिन साटासाट गर्ने हाम्रो बानी थियो। त्यो बेला हामीलाई माया के हो भन्ने थाहा थिएन, तर हाम्रो सम्बन्ध अरू साथीसँग भन्दा फरक थियो।
हामी फरक टोलका थियौं, तर मनको दूरी कहिल्यै भएन। समय बित्दै जाँदा हामी कक्षा ८ मा पुग्यौं। त्यही बेला गाउँमा हाम्रो बारेमा हल्ला फैलिन थाल्यो। हाम्रो मित्रतालाई प्रेमको नाम दिइयो। सुरुमा हामीले यसलाई सामान्य रूपमा लियौं, तर बिस्तारै त्यो कुरा घरसम्म पुग्यो।
एकदिन रमा उदास अनुहार लिएर स्कुल आइन्। उनले बिस्तारै भनिन्, अब मलाई काठमाडौं पठाउने कुरा भइरहेको छ। मेरो मन एक्कासि खिन्न भयो। केही दिनमै उनलाई काठमाडौं पठाइन्।
त्यो दिनपछि मेरो जीवनमा एउटा ठूलो खालीपन आयो। स्कुल जान्थेँ, तर पढाइमा मन लाग्दैनथ्यो। साथीहरूका बीचमा हुँदा पनि म एक्लो महसुस गर्थें। अन्ततः मैले पनि काठमाडौं जाने निर्णय लिएँ। त्यो समय करिब २०५१÷०५२ सालतिरको थियो। गाउँबाट काठमाडौं पुगेर मैले शारदालाई खोज्ने धेरै प्रयास गरेँ, तर त्यो ठूलो शहरमा उनी हराइसकेकी थिइन्। समय बग्दै गयो। मैले पढाइलाई सम्हालेँ। एसएलसी पास गरेँ, त्यसपछि कलेजमा भर्ना भएँ। पढ्दै जाँदा जीवनलाई अघि बढाउनुपर्ने बाध्यता महसुस गरेँ।
एमए पूरा गरेपछि जागिर सुरु भयो । र पारिवारिक जीवन पनि सुरु भयो। तर मनको कुनै कुनामा शारदा सधैं जिउँदै थिइन्। करिब २५÷२६ वर्षपछि एक दिन काठमाडौंमै एउटा कार्यक्रममा हाम्रो भेट भयो। सुरुमा हामीले एकअर्कालाई चिन्यौं, तर बोल्न केही समय लाग्यो। अन्ततः हाम्रो आँखाले एकअर्कालाई स्वीकार गर्यो।
रमा अहिले सम्पन्न र शिक्षित परिवारमा विवाह भएर बसेकी रहिछिन्। उनका छोराछोरी कलेज जाने भइसकेका थिए। म पनि आफ्नो परिवार र जिम्मेवारीमा बाँधिएको थिएँ। तर हाम्रो भेटसँगै पुराना सबै भावना फेरि जागे। हामी फेसबुकमा साथी भयौं। कहिलेकाहीँ भेटघाट हुन थाल्यो। एकदिन उनले भनिन्, म तिमीलाई कहिल्यै बिर्सन सकिनँ। उनले मोबाइलमा मेरो फोटो राखेकी रहिछिन्। त्यो देख्दा मेरो मन हल्लियो।
मैले उनलाई धेरै सम्झाएँ, हाम्रो आफ्नै परिवार छ, यस्तो गर्नु ठीक होइन। तर उनले मेरो कुरा खासै सुन्न चाहिनन्। त्यही समयमा म आफ्नै घर बनाउने तयारीमा व्यस्त थिएँ। आर्थिक समस्या पनि थियो। उनले सहयोग गरिन् र भनिन् सके फर्काउ, नसके पनि केही भन्दिन रामु ! धेरै वर्षपछि उनले मेरो नाम यसरी उच्चारण गर्दा मेरो मन भित्रैदेखि काँप्यो।
समय बित्दै गयो। तर एकदिन अचानक नयाँ नम्बरबाट फोन आयो। मैले नमस्कार गरेँ, तर उताबाट कठोर आवाज आयो तँ को होस्, फटाहा, लुच्चा, मेरो श्रीमतीको पछि किन लाग्छस्। म एकछिन स्तब्ध भएँ। त्यो रमाकै श्रीमान् थिए।
त्यसपछि मैले सबै सम्पर्क तोड्ने निर्णय लिएँ। फेसबुकबाट हटाएँ, कुरा गर्न छोडेँ। तर मनलाई रोक्न सकिनँ। आज पनि कहिलेकाहीँ नयाँ नम्बरबाट फोन आउँछ। उताबाट उही पुरानो आवाज सुनिन्छ रमाको !
केहीबेर कुरा हुन्छ, फेरि मौनता छाउँछ। हामीलाई थाहा छ, हामी सँगै हुन सक्दैनौं। तर पनि मनले माया मार्न छोडेको छैन। सायद साँचो माया कहिल्यै समाप्त हुँदैन। समयले टाढा बनाउँछ, तर मनले छुटाउन सक्दैन। माया न त हो,,मनले कहाँ मान्छ र !! मायाको मायाले पहिलो माया अधुरो भएपनि अमर हुन्छ। कहिले पनि विर्सन सकिदैन । त्यही कारण त भनिएको हो–पहिलो माया अकबरी सुन हो भनेर ! नामी साप्ताहिकमा प्रकाशित कथा