उदयपुर । उदयपुरको कटारीस्थित एक होटलको कोठामा सँगै बसेका प्रेमी–प्रेमिकाबीच भएको विवादका क्रममा युवकको मृत्यु भएको छ भने युवती घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन चापागाईंका अनुसार कटारी बजारमा रहेको हिमगंगा होटलको कोठाभित्र सँगै बसेका प्रेमी मृत अवस्थामा फेला परेका हुन् भने प्रेमिका घाइते अवस्थामा भेटिएकी हुन्।
सिन्धुलीको दुधौली नगरपालिका–११ घर भएका २८ वर्षीय सिपिन कुमार कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेका थिए। उनीसँगै रहेकी २८ वर्षीया सविना मगर भने घाइते अवस्थामा फेला परेकी हुन्।
प्रहरीका अनुसार उनीहरू आइतबार दिउँसो होटलमा प्रवेश गरेका थिए। कोठाभित्रै विवाद भएपछि युवकले युवतीकै सल प्रयोग गरी पंखामा झुण्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। त्यसपछि सविनाले पनि सोही सल प्रयोग गरी आत्महत्या प्रयास गरेकी थिइन्।
घटनापछि सविनाले सिपिनलाई बचाउने प्रयास गरे पनि सफल हुन नसकेपछि आफूले पनि आत्महत्या प्रयास गरेको प्रहरीको भनाइ छ। कोठाबाट अस्वाभाविक आवाज आएपछि होटल सञ्चालकले ढोका खोलेर हेर्दा सविना अचेत अवस्थामा फेला परेकी थिइन्। त्यसपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो।
प्रहरीले घाइते सविनाको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो। हाल उनको उपचारपछि डिस्चार्ज गरिएको छ र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कटारीको नियन्त्रणमा राखिएको छ।
सिपिनको शव पोस्टमार्टमका लागि कटारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। प्रारम्भिक बयानअनुसार मृतक सिपिनका दुई श्रीमती रहेको तथ्य पनि खुलेको छ। प्रहरीले घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान तीव्र बनाएको जनाएको छ।
प्रकाशित मिति: सोमबार, चैत २३, २०८२ ०७:३२