काठमाडौं। सरकार गठन भएको एक महिना नपुग्दै रास्वपाका तीन मन्त्री विवादमा मुछिएका छन्। तीमध्ये श्रममन्त्री दीपककुमार साहले पद गुमाइसकेका छन् भने स्वास्थ्यमन्त्री निशा मेहतालाई पार्टीले सचेत गराएको छ।
यी दुई प्रकरण सेलाउन नपाउँदै जल्दाबल्दा गृहमन्त्री सुधन गुरुङ पनि नयाँ विवादमा तानिएका छन्। यसअघि फेवाताल जग्गा प्रकरणमा नाम जोडिए पनि उक्त विषय विस्तारै सेलाएको थियो।
तर यसपटक सम्पत्ति शुद्धीकरण मुद्दाका अभियुक्त दीपक भट्टसँग सम्बन्ध देखिएपछि गुरुङमाथि गम्भीर प्रश्न उठेको छ।सार्वजनिक विवरणअनुसार ‘स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड’मा गुरुङको पनि सेयर रहेको देखिएको छ। उक्त कम्पनीमा भट्ट र सुलभ अग्रवालसमेत जोडिएका छन्, जो अहिले अनुसन्धानको दायरामा छन्।
कागजातअनुसार गुरुङको नाम प्रारम्भिक सेयर लगतको ४९औँ नम्बरमा रहेको छ र उनले २५ लाख रुपैयाँ बराबरको लगानी गरेको देखिन्छ। तर उक्त सेयर लगानी आफ्नो सम्पत्ति विवरणमा उल्लेख नगरेको विषयले थप विवाद सिर्जना गरेको छ। यसअघि सार्वजनिक गरिएको सम्पत्ति विवरणमा उनले अन्य दुई कम्पनीमा मात्र लगानी रहेको उल्लेख गरेका थिए।
जसका कारण पार्टीभित्र गुरुङमाथि नैतिक र राजनीतिक दबाब बढ्दै गएको स्रोतको भनाइ छ। प्रधानमन्त्री बालेन शाहका प्रियपात्र मानिएका गृहमन्त्री गुरुङ उक्त प्रकरणका कारण बालेनलाई समेत समस्या परेको छ। उनलाई राजीनामा गर्न समेत भनिसकेको समाचारहरुमा उल्लेख भैसकेको अवस्थामा बालेनका राजनीतिक सल्लाहकार कुमार बेन लगायतले राजीनामाको कदमले राम्रो सन्देश नदिने भएको कारण पर्ख र हेरको सिद्धान्त प्रयोग गर्नु भनेपछि उक्त कदममा ब्रेक लागेको छ।
प्रकाशित मिति: मंगलबार, वैशाख १५, २०८३ १७:०७