हिजाे शुक्रबारको बिहान साधारण थिएन । आकाशमा हल्का बादल तैरिरहेको थिए, बिस्तारै झरिरहेको पानीले माटो भिजाउँदै थियो । तर बागमती किनारका बस्तीहरूमा त्यो बिहानको अर्थ फरक थियो । त्यो दिन उनीहरूका लागि समयजस्तै भारी थियो । जसले एकैछिनमा दशकौँको जीवनलाई बदलिदिन सक्थ्यो ।
शंखमूल, बल्खु, बालाजु र टेकुको वंशीघाट–यी नामहरू आज केवल स्थान होइनन्, पीडाको कथा बनेका छन् । करिब आठ सयभन्दा बढी टहराहरू एकै दिनमा भत्काइँदा त्यहाँको धुलोमा केवल माटो मात्र होइन, मानिसहरूको स्मृति, संघर्ष र आशा पनि मिसिएको थियो । डोजरको आवाजले बिहानको शान्ति चिर्दै गर्दा धेरैका हातमा अझै आधा चिया गिलास थिए । कतिपयले रातभरि नसुतेर सामान समेट्दै थिए । कति त्रासमा थिए ।
अनि आशा पनि थियो । कि शायद सरकारको मन पग्लिन्छ । शायद केही दिन समय पाइन्छ । तर त्यो ‘शायद’ ले उनीहरूलाई जोगाउन सकेन । डोजर आयो । जिन्दगीलाई वास राख्ने टहरो ध्वस्त पारिदियो । सामान होइन, जीवन सार्न खोज्दै थिए उनीहरू वस्तिका वासिन्दाहरु । भन्दै थिए, ‘हामी त कोठा खोज्दै छौँ । तर अचानक डोजर आयो,’ बल्खुकी मधुमाया लामाको आवाज एकाएक दबियो ।
उनका आँखामा पानीभन्दा बढी पीडा थियो । किनकि त्यो पानीले उनको घरको काठ भिजाइरहेको थियो, उनका छोराछोरीको किताब भिजाइरहेको थियो, र उनको सपनाको छाना भत्किरहेको थियो ।
उनका लागि त्यो टहरो केवल काठ र टिन थिएन । त्यो थियो वर्षौँको श्रम, दिनरातको भरिया कामको कमाइ, अनि बालबालिकाको हाँसोले भरिएको सानो संसार थियो । तर संसार एकैछिनमा ध्वस्त भयो । सीता कार्की पनि त्यही पीडाको अर्को अनुहार हुन् । उनले भनिन्, ‘हामी अपराधी होइनौँ, तर हामीलाई अपराधीजस्तै व्यवहार गरियो । बच्चा बोकेर सडकमा उभिएका छौँ ।’
उनको स्वरमा आक्रोशभन्दा बढी असहायता थियो । किनकि असहायता त्यस्तो अवस्था हो, जहाँ आवाज हुन्छ तर सुनिदिने ठाउँ हुँदैन ।
बस्ती होइन, मानिसहरूको जीवन थियो त्यो । तर, सरकारको नजरमा ती संरचनाहरू ‘अतिक्रमण’ हुन सक्छन् । तर त्यहाँ बस्नेहरूका लागि ती संरचनाहरू जीवनका आधार थिए । एउटा टिनको छानामुनि कसैले आफ्ना बच्चालाई हुर्काएको थियो, कसैले आफ्नो बुढ्यौली सुरक्षित राखेको थियो, र कसैले बिहान बेलुका काम गरेर त्यही ठाउँमा फर्कने सपना देखेको थियो ।
टेकु वंशीघाटका राजु यादव भन्छन्, ‘हामीलाई कहाँ जाने भन्ने पनि थाहा छैन । सामान पानीमा भिजिरहेको छ, बच्चा बोकेर सडकमा छौँ ।’
उनको शब्दमा केवल प्रश्न छैन, एउटा गहिरो असहायता छ–अब हामी कहाँ जाऊँ ? यो प्रश्नको उत्तर न त डोजरले दिन्छ, न त भत्किएको टहरोले ।
बिहानको ७ बजे जब शहर मौन रह्यो । प्रहरीको सिटी बज्नासाथ बस्तीमा त्रास फैलियो । बिहानको ७ बजे, जब शहर अझै उठ्दै थियो, त्यही बेला केही जीवनहरू उखेलिन थालिसकेका थिए । कतिपयले रातभरि नै सामान सार्ने प्रयास गरेका थिए । तर सबैसँग विकल्प थिएन । कोठा थिएन, पैसा थिएन, समय थिएन । केवल अनिश्चितता थियो । र त्यो अनिश्चितता नै उनीहरूको घर बनेको थियो । डोजर अगाडि बढ्दै जाँदा मानिसहरू पछाडि हटिरहेका थिए । काठ भाँचिँदै थियो, भाँडाहरू फुटिरहेका थिए, र बालबालिकाका खेलौना माटोमा मिसिँदै थिए ।
तर सबैभन्दा ठूलो क्षति भौतिक थिएन–त्यो थियो आत्मविश्वासको भत्काइ थियो । मानवीयतामा खबैँ खबैँको क्षति भइरहेको थियो । भरपाइ भर्ने सरकारको कुनै कागज थिएन । सरकारले विस्थापित परिवारलाई भक्तपुरको खरिपाटी, ललितपुरको धापाखेल, बनेपा र अन्य ठाउँका अस्थायी केन्द्रमा सारिएको छ । केहीलाई होटलमा राखिएको छ, केहीलाई आश्रममा । तर ती ठाउँहरूमा पुग्दा पनि उनीहरूको मन शान्त छैन ।
राधास्वामी आश्रममा बसेका महिलाहरू भन्छन्, ‘यहाँ धेरै कोचाकोच छ, बच्चालाई सास फेर्न गाह्रो हुन्छ ।’ एक सानो कोठामा दर्जनौँ मानिसहरू अटाइएका छन् । खाना छ, तर अपनत्व छैन । आश्रय छ, तर स्थायित्व छैन । कसैको लागि यो राहत हो, तर धेरैका लागि यो केवल अर्को अस्थायी प्रतीक्षा हो ।
बागमतीको किनार केवल ठाउँ होइन, इतिहास हो । बागमती किनारमा बस्नेहरू धेरैजसो मजदुर, भरिया, दैनिक ज्यालादारी गर्ने मानिसहरू थिए । उनीहरू शहरको निर्माणमा हात हाल्ने तर आफ्नै घर नपाउने वर्ग हुन् । शहर उभ्याउने हातहरू नै जब शहरबाट उखेलिन्छन्, तब प्रश्न उठ्छ–शहर कसको हो ? एउटा मृत्यु, धेरै मौन प्रश्नहरूमा जन्मिएका छन् ।
यसैबीच बल्खु क्षेत्रमा ६१ वर्षीय इन्द्रबहादुर राई बागमती नदीमा मृत भेटिए । उनका छिमेकीहरू भन्छन्, उनी धेरै दिनदेखि तनावमा थिए । ‘टहरा भत्किन्छ भन्ने सुनेपछि उनी चुपचाप हुन्थे, उनि पनि सुकुम्बासी थिए ।’ एक छिमेकीले भने । उनको मृत्यु केवल एउटा व्यक्तिगत घटना होइन, त्यो एउटा समयको प्रतिविम्ब हो । जहाँ सरकारलाई हत्यार भने पनि फरक पर्दैन ।
सरकारका लागि यो व्यवस्थापनको प्रक्रिया हो । योजना, प्रमाणीकरण र स्थानान्तरणको श्रृंखला हो । तर बस्तीमा रहेका मानिसहरूका लागि यो केवल शब्द होइन–यो जीवनको उथलपुथल हो । डोजरले टहरो भत्कायो, तर त्यससँगै भत्कियो उनीहरूको बिहान उठ्ने कारण, रात सुत्ने शान्ति, र भविष्यप्रतिको विश्वास । बागमती किनार आज खाली छ । तर त्यो खालीपनभित्र हजारौँ आवाजहरू छन्–आँसु, आक्रोश, आशा र अनिश्चितता मिसिएको एउटा ठूलो मौन कथा ।
यो कथा अझै समाप्त भएको छैन । किनकि उखेलिएका मानिसहरू अझै आफ्नो नयाँ ठाउँ खोजिरहेका छन् । जहाँ फेरि एकपटक उनीहरूले भन्न पाउनेछन्, ‘यो हाम्रो घर हो ।’