मानिसको जीवनमा केही भेटहरू यस्ता हुन्छन्, जसले समयको छोटो अन्तरालमै गहिरो छाप छोड्छन्। ती भेटहरू सधैंका लागि साथ दिन नसके पनि सम्झनाको रूपमा मनभित्र जिउँदै रहन्छन्। विशेषतः युवा उमेरका ती दिनहरू, जब सपनाहरू रंगीन हुन्छन् र भावनाहरू निष्कपट, त्यहीँ उमेरमा भएका भेटघाटले जीवनभर पछ्याइरहने अनुभूति दिन्छ।
कलाकारिता, संगीत र साहित्यले मानिसको मनलाई विशेष ढंगले जोड्ने गर्छ। एउटा गीत, एउटा नृत्य, एउटा स्टेजले दुई अपरिचित मनहरूलाई नजिक ल्याउन सक्छ। तर कहिलेकाहीँ समय, दूरी र परिस्थितिले त्यो सम्बन्धलाई निरन्तरता दिन दिँदैन। चिठीको युगमा जन्मिएको माया अझ संवेदनशील हुन्थ्यो। शब्दहरूमा भावना पोखिन्थ्यो, प्रतीक्षामा प्रेम झल्किन्थ्यो। तर जब बुझाइमा सानो कमजोरी आउँथ्यो, त्यही माया टुट्न पनि समय लाग्दैनथ्यो।
यो कथा त्यहीँ समयको हो। जहाँ एउटा नृत्यले मुटु छोयो, एउटा भेटले माया जन्मायो, चिठीहरूले त्यसलाई जोगाउन खोजे, तर अन्ततः नबुझाइले त्यसलाई चुपचाप विखण्डन गरिदियो।
म भरखरै पत्रकारिता विषय अध्ययन गर्दै थिएँ। काठमाडौंको व्यस्त शहरमा शब्दहरूसँग खेल्दै, समाचारका पानाहरूमा जीवन खोज्दै र कलाकारिताको संसारमा डुब्दै गरेको समय थियो त्यो। सानोतिनो पत्रपत्रिकासँग जोडिएको थिएँ, कहिले रिपोर्टिङ, कहिले सम्पादन, कहिले कुनै कार्यक्रममा पुगेर कलाकारहरूको अन्तरमन बुझ्ने प्रयास—यही नै मेरो दिनचर्या थियो।
कलाकार र कलाकारिताप्रति मेरो आकर्षण कुनै बाहिरी रुचि मात्र थिएन, त्यो मेरो आत्माको एउटा अभिन्न हिस्सा जस्तो थियो। यही बीचमा एकदिन काठमाडौंकै एउटा कार्यक्रममा मेरो भेट विश्व प्रधानसँग भयो। उनी उदाउँदै गरेका गायक थिए। स्वरमा मिठास, बोलीमा विनम्रता र व्यवहारमा अपनत्व।
उनले मलाई छिट्टै आफ्नो बनाइदिए। उनको मूल घर चितवन भए पनि काठमाडौं र चितवन दुबै ठाउँमा उनको जीवन बगिरहेको थियो। हाम्रो मित्रता चाँडै गहिरियो र एकदिन उनले सहज रूपमा भने—चितवन जाऔँ, नारायणी कला मन्दिरमा मेरो प्रस्तुति छ। त्यो प्रस्तावले मेरो मनमा एउटा नयाँ यात्रा सुरु गरिदियो। त्यतिबेला पचास रुपैयाँमै चितवन पुगिन्थ्यो, तर त्यो यात्राको मूल्य पैसाभन्दा धेरै भावनात्मक थियो। बसको झ्यालबाट देखिने हरियाली, खोलानाला, उकालो ओरालो, अनि मनभित्रको अनौठो उत्साह।
म एउटा नयाँ अनुभवतर्फ अघि बढिरहेको थिएँ। चितवन पुग्दा नारायणी कला मन्दिरको चहलपहल देखेर म रोमाञ्चित भएँ। त्यो हल त्यतिबेला निकै प्रतिष्ठित मानिन्थ्यो, जहाँ हुने कार्यक्रमहरू केवल मनोरञ्जन मात्र नभई संस्कृतिको उत्सव जस्तै हुन्थे। दर्शकले भरिएको हल, उज्यालो बत्ती, संगीतको गुञ्जन र स्टेजको चमक,सबै कुरा मनमा गहिरो छाप छोड्दै थिए। विश्व प्रधानको गायनले दर्शकलाई मन्त्रमुग्ध बनायो। त्यसपछि अचानक स्टेजमा एउटा नृत्य प्रस्तुति सुरु भयो,“हामीलाई पनि मायाले हेर पार्वती“।
गीत बज्न थालेको केही क्षणमै स्टेजमा देखिइन् सकुन्तला रन्जित। उनको नृत्य केवल चाल मात्र थिएन, त्यो एउटा कथा थियो—भावनाले भरिएको, जीवन्त र मोहक। उनका आँखा बोलिरहेका थिए, हातका हाउभाउले गीतको अर्थ खोलिरहेका थिए, र उनको शरीर संगीतसँग यति लयबद्ध थियो कि दर्शकहरू स्तब्ध भए। केही क्षणमै हल तालिले गुञ्जियो, अनि हुटिङ सुरु भयो—वान मोर, वान मोर। म त्यतिबेला नायिका सारङ्गा श्रेष्ठको नृत्यबाट प्रभावित थिएँ, तर त्यो दिन सकुन्तलाले मेरो सोच नै बदलिदिइन्।
उनको नृत्यले मेरो मनको कुनै गहिरो तार छोयो, जहाँ शब्दहरू पुग्न सक्दैनथे। कार्यक्रम सकिएपछि म उनलाई भेट्न आतुर भएँ। भीड चिर्दै, मनको धड्कन सम्हाल्दै अन्ततः म उनको अगाडि उभिएँ। नमस्कारको सानो शब्दबाट सुरु भएको हाम्रो कुराकानी विस्तारै आत्मीयतामा बदलियो। उनले आफ्नो घर मेघौली भएको बताइन्, र म उनको सरलता र खुलापनले झन् आकर्षित भएँ। दुई घण्टाको त्यो भेटले हाम्रो मनका ढोकाहरू खोलेर राखिदियो। हामीले एकअर्कालाई चिठी लेख्ने वाचा गर्यौं।त्यो वाचा केवल सम्पर्कको माध्यम मात्र थिएन, त्यो हाम्रो भावनाको पुल थियो। काठमाडौं फर्कँदा मेरो मन चितवनमै अड्किएको थियो। बस अगाडि बढ्दै थियो, तर मेरो मन पछाडि फर्किरहन्थ्यो।
चिठीहरूको आदानप्रदान सुरु भयो। हरेक चिठीमा म मेरा भावना पोख्थें, उनी आफ्ना सपना लेख्थिन्। कागजका ती पानाहरूमा हाम्रो माया बिस्तारै फुल्दै थियो। करिब तीन चार महिनापछि उनले मलाई मेघौली बोलाइन्। मैले उत्साहित हुँदै चिठी पठाएँ—म यो मितिमा तिम्रो घर आउँदैछु। त्यो यात्रा मेरो जीवनकै सबैभन्दा आशाले भरिएको यात्रा थियो। काठमाडौंबाट नारायणघाट हुँदै कच्ची बाटोमा धुलो उडाउँदै, पसिना र उत्साहसँगै म मेघौली पुगेँ। गाउँको सानो बाटो, अपरिचित अनुहारहरू, सोधखोज गर्दै अन्ततः म उनको घर पुगें। तर त्यो दिन उनी त्यहाँ थिइनन्। उनकी आमाले मलाई स्वागत गरिन्, पानी दिइन्, तर मेरो मन भने खाली भयो। उनी कार्यक्रमका लागि विराटनगर गएकी रहिछिन्। त्यो खबरले मेरो मुटु भत्कियो, तर म केही बोल्न सकिनँ। केही समय त्यहीँ बसेर म फर्किएँ। त्यसपछि चिठी आयो—उनको गुनासो, मेरो स्पष्टीकरण।
शब्दहरूमा प्रेमभन्दा बढी प्रश्नहरू आउन थाले। हामीले एकअर्कालाई बुझाउन खोज्यौं, तर बुझ्न सकेनौं। चिठीहरूमा द्वन्द बढ्दै गयो, भावनाहरू अल्झिँदै गए। अन्ततः चिठी लेख्ने क्रम बन्द भयो। त्यो माया, जुन एउटा नृत्यबाट सुरु भएको थियो, शब्दकै अभावमा हरायो। आज पनि म त्यो दिन सम्झन्छु—नारायणी कला मन्दिरको उज्यालो, सकुन्तलाको नृत्य, र त्यो पहिलो नजर। मेघौलीको धुलो अझै मेरो जुत्तामा टाँसिएको जस्तो लाग्छ, र उनको मुस्कान अझै मेरो आँखामा बाँचिरहेको छ। सायद माया सधैं साथ रहँदैन, तर त्यसले छोडेको अनुभूति कहिल्यै मेटिँदैन। अझै पनि कहिलेकाहीँ रातको नीरव क्षणमा म आफूलाई सोध्छु,के मैले उनलाई बुझाउन नसकेको हो, कि उनले मलाई बुझ्न नचाहेको हो। त्यो प्रश्नको उत्तर कहिल्यै भेटिएन, तर त्यही प्रश्नले हाम्रो प्रेमलाई अन्तिम बिन्दुमा पुर्यायो। मेघौलीको त्यो माया अधुरो नै रह्यो, तर अधुरोपनमै त्यसको सुन्दरता लुकेको छ।एक यस्तो स्मृति, जसले मुटुलाई पोल्छ पनि, अनि मुस्कान पनि दिन्छ।
तर अधुरोपनमै त्यसको सुन्दरता लुकेको छ।एक यस्तो स्मृति, जसले मुटुलाई पोल्छ पनि, अनि मुस्कान पनि दिन्छ। कथा साहित्य–साभार नामी साप्ताहिकबाट