–निर्मल निर्दोषी
शारदा र श्याम बचपनदेखि नै अति मिल्ने साथी थिए। एउटै गाउँ, एउटै बाटो, एउटै विद्यालय। बिहान सँगै विद्यालय जाने, दिउँसो एउटै रूखमुनि बसेर खाना खाने, र बेलुका खेल्दै घर फर्किने। उनीहरूको मित्रता गाउँभरि उदाहरणको रूपमा चिनिन्थ्यो।
कक्षा ५ सम्म उनीहरू सँगै पढे। तर समयले एउटा मोड ल्यायो। श्यामको परिवार रोजगारीको खोजीमा अर्को शहर बसाइँ स¥यो। विदाइको दिन दुवैका आँखामा आँसु थिए। “म कहिल्यै तिमीलाई बिर्सिने छैन,“ श्यामले भनेको थियो। शारदाले पनि हात समाउँदै भनेकी थिइन्, “म पनि तिमीलाई सधैं सम्झिरहनेछु।“
त्यसपछि जीवन आफ्नै गतिमा अघि बढ्यो। श्याम आफ्नो पढाइ र काममा व्यस्त भयो। शारदा पनि परिवार र जिम्मेवारीमा अल्झिइन्। वर्षहरू बित्दै गए। मोबाइल थिएन, सामाजिक सञ्जाल थिएन। सम्पर्क टुट्यो। तर सम्झनाहरू भने कहिल्यै मेटिएनन्। २८ वर्षपछि, गाउँमा विद्यालयको पूर्वविद्यार्थी भेटघाट कार्यक्रम आयोजना भयो। देशका विभिन्न ठाउँबाट पुराना साथीहरू जम्मा भए। शारदा पनि गइन्। कार्यक्रममा सहभागीहरूको भीडबीच एक जना व्यक्तिको अनुहारले उनको ध्यान तान्यो।
“के यो... श्याम हो?“ उनले मनमनै सोचिन्। उता श्यामको नजर पनि शारदामाथि प¥यो। केही क्षण दुवै एकअर्कालाई हेरेर मौन रहे। समयले अनुहारमा उमेर थपेको थियो, तर आँखामा रहेको अपनत्व उस्तै थियो।
“शारदा...!“ श्यामको मुखबाट शब्द निस्कियो।
“श्याम...!“ शारदाको आवाज काँप्यो।
दुवैको आँखामा खुशीका आँसु टिलपिलाए। २८ वर्षको दूरी एकै क्षणमा हरायो। उनीहरू घण्टौँसम्म बाल्यकालका सम्झनाहरू साट्दै बसे। विद्यालयको मैदान, खेलकुद, शिक्षकका रमाइला घटना, र छुट्टिनुअघिका अन्तिम दिनहरू सबै फेरि ताजा भए। समयले उनीहरूलाई फरक बाटोमा हिँडाएको थियो, तर मित्रताको डोरी कहिल्यै चुँडिएको रहेनछ। बरु वर्षौँको दूरीले त्यो सम्बन्धलाई अझ गहिरो बनाएको रहेछ।
त्यो दिन विदा हुँदा श्यामले मुस्कुराउँदै भने, “२८ वर्ष त बित्यो, अब फेरि यति लामो समय हराउने छैनौं।“ शारदाले पनि हाँस्दै जवाफ दिइन्, “अब त मित्रता मात्र होइन, जीवनभरको साथ बनेको छ।“ र साँच्चै, कहिलेकाहीँ समयले मानिसहरूलाई टाढा पु¥याउँछ, तर साँचो माया, साँचो मित्रता र साँचो सम्झनालाई कहिल्यै टाढा बनाउन सक्दैन। २८ वर्षपछि भेटिएका शारदा र श्यामको सम्बन्ध त्यसको जिउँदो उदाहरण बन्यो। नामी साप्ताहिकबाट
प्रकाशित मिति: सोमबार, असार ८, २०८३ १७:१२