जीवनमा केही यात्राहरू केवल स्थान परिवर्तन मात्र हुँदैनन्, ती मनको एउटा कुनामा सधैँका लागि बस्ने अमिट सम्झना बन्छन् । भारतको अण्डमान एण्ड निकोबार द्वीप समूहको भ्रमण पनि मेरो लागि त्यस्तै एउटा अविस्मरणीय अनुभव बन्यो ।
हाम्रो यात्रा पोर्टब्लेयरस्थित जङ्लीघाट पोर्टबाट सुरु भएको थियो । बिहानको समय थियो । समुद्रको निलो पानी हल्का हावासँगै लहराइरहेको थियो । क्रुजमा चढ्ने उत्साहले मनमा छुट्टै आनन्द थपिरहेको थियो । क्रुज समुद्रका छालहरू चिर्दै अगाडि बढ्दै जाँदा वरिपरि फैलिएको अथाह निलो समुद्र र टाढासम्म देखिने हरिया टापुहरूले मनलाई रोमाञ्चित बनाइरहेका थिए । समुद्री यात्राको त्यो रमाइलो अनुभूति शब्दमा वर्णन गर्न कठिन थियो ।
केही समयपछि हामी नोर्थ वे पुग्यौँ । त्यहाँ पुग्नेबित्तिकै समुद्री सौन्दर्यले हामीलाई मोहित बनायो । त्यसपछि हामी त्यहाँको प्रसिद्ध लाइटहाउसमा चढ्यौँ । माथि पुगेर चारैतिर दृष्टि घुमाउँदा देखिएको दृश्य साँच्चै मनमोहक थियो । तल नीलो समुद्र छालसँग खेलिरहेको थियो, वरिपरिका हरिया टापुहरू प्रकृतिको अनुपम उपहारझैँ लागिरहेका थिए । त्यो उचाइबाट हेर्दा प्रकृतिले आफ्नै सुन्दर चित्र कोरेको जस्तो अनुभव भयो । केही क्षणका लागि समय नै रोकिएको महसुस भयो ।
हाम्रो यात्राको विशेष आकर्षण नोर्थ वे सन् १९६९ मा निर्मित लाइट हाउस थियो । टाढैबाट देखिने त्यो अग्लो संरचना समुद्रको किनारमा उभिएर जहाजलाई बाटो देखाउने मौन प्रहरीजस्तै लाग्थ्यो । समयको लामो यात्रालाई पार गर्दै अझै पनि उभिरहेको त्यो लाइट हाउसले इतिहासको कथा सुनाइरहेको अनुभूति हुन्थ्यो ।
त्यसपछि हामी जापानीज बङ्करतर्फ लाग्यौँ । दोस्रो विश्वयुद्धको समयमा बनाइएको भनिने त्यो बङ्करभित्र प्रवेश गर्दा एक प्रकारको रहस्यमय अनुभूति भयो । साँघुरा ढोका, बाक्ला पर्खाल र अँध्यारा कोठाहरूले युद्धकालीन कठिन परिस्थिति सम्झाइरहेका थिए । इतिहासका ती मौन चिन्हहरूले विगतका संघर्ष र पीडाका कथाहरू बोलेझैँ लाग्यो ।
यसरी नर्थ वे को यात्रा मेरो जीवनको अविस्मरणीय यात्रा बन्यो । लाइट हाउसले इतिहासको गहिराइ महसुस गरायो, जापानीज बङ्करले विगतका संघर्ष सम्झायो र क्रुज यात्राले प्रकृतिको सुन्दरता नजिकबाट अनुभव गरायो । यी सबै सम्झनाहरू आज पनि मनमा ताजै छन् । नर्थ वे के भ्रमण सकाएर रस आइल्याण्डतर्फको भ्रमणमा लाग्यौं । अण्डमानको पुरानो रस आइल्याण्ड (हालः नेताजी सुभाषचन्द्र बोस द्वीप) मा रहेका भग्नावशेष हुन् । यहाँको सूचना–पाटीमा "Subordinates Club" लेखिएको छ । यो भवन ब्रिटिश शासनकालमा कनिष्ठ सैनिक तथा प्रशासनिक अधिकृतहरूको मनोरञ्जन र भेटघाट गर्ने क्लब थियो । अहिले भने विशाल बरको रुखका जराहरूले भवनलाई बेरिसकेका छन्, जसले प्रकृतिले इतिहासलाई बिस्तारै आफ्नो काखमा समेटिरहेको दृश्य देखाउँछ ।
त्यहाँ रहेको सूचना–पाटीमा सन् २०१८ मा रस आइल्याण्डको नाम परिवर्तन गरी नेताजी सुभाषचन्द्र बोस द्वीप राखिएको उल्लेख छ । यो नाम परिवर्तन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए । “हरियाली जंगलको बीचमा उभिएका ब्रिटिशकालीन भग्नावशेषहरू, बरका विशाल जराले बेरिएका पुराना भवनहरू र समयको मौन साक्षी बनेको रस आइल्याण्ड । एक समय अण्डमानमा ब्रिटिश शासनको केन्द्र रहेको यो स्थान आज इतिहास र प्रकृतिको अद्भुत संगम बनेको छ । यहाँका जीर्ण भवनहरूले उपनिवेशकालीन वैभवको कथा सुनाउँछन् भने रूखका फैलिएका जराहरूले प्रकृतिको असीम शक्ति झल्काउँछन् ।”
रस आइल्याण्ड एक समय ब्रिटिश प्रशासनको मुख्य केन्द्र थियो र यसलाई "Paris of the East" समेत भनिन्थ्यो । सन् १९४१ को भूकम्प र त्यसपछिको जापानी कब्जापछि यो स्थान परित्यक्त भयो । अहिले यहाँ चर्च, क्लब, बेकरी, सरकारी भवन लगायतका भग्नावशेषहरू मात्र बाँकी छन्, जसलाई बर र पीपलका रूखहरूले ढाक्दै गएका छन् ।
यहाँ समुद्र किनारमा रहेको स्मारक क्षेत्र र टाढा लाइटहाउस देखिन्छ । नीलो आकाश, स्वच्छ समुद्र र समुद्री छालहरूले दृश्यलाई अत्यन्त मनमोहक बनाएका छन् । हरिण, मयुर लगाएत त्यहाँ उभिएका भ्रमणकारीहरूको उत्साह र खुसीले यात्राको आनन्दलाई झन् जीवन्त बनाएको देखिन्छ । यस दृश्यले समुद्रसँगको निकटता र भ्रमणको रमाइलो अनुभूति प्रकट गर्दछ ।
रस आइल्याण्डको पुरानो पावरहाउस क्षेत्रका अवशेषहरू देखिएका छन् । विशाल पुराना मेसिनहरू र भत्किएका संरचनाहरूले तत्कालीन समयको प्रविधि र विकासको झल्को दिन्छन् । भत्किएका इँटाका भित्तामा फैलिएका रूखका जराहरूले प्रकृतिले समयसँगै मानव निर्मित संरचनालाई कसरी आफ्नो अधीनमा लिएको छ भन्ने दृश्य प्रस्तुत गरेका छन् । यो दृश्यले इतिहास र प्रकृतिको अनौठो संगमलाई दर्शाउँछ ।
समग्रमा केवल दृश्य मात्र नभई एउटा कथा बोलिरहेका छन्,–कहिले ब्रिटिस शासनको चहलपहलले भरिएको रस आइल्याण्ड आज इतिहास, पुरातत्व र प्रकृतिको जीवन्त संग्रहालय बनेर उभिएको छ । यसरी अण्डमान एण्ड निकोबार द्वीपसमूहको त्यो यात्रा मेरो जीवनको एक अविस्मरणीय र स्मरणयोग्य अनुभव बनेर मनको गहिराइमा सदैव जीवित रहनेछ ।