जीवनमा केही यात्राहरू केवल स्थान परिवर्तन मात्र हुँदैनन्, ती मनको एउटा कुनामा सधैँका लागि बस्ने अमिट सम्झना बन्छन्। भारतको अण्डमान एण्ड निकोबार द्वीप समूहको भ्रमण पनि मेरो लागि त्यस्तै एउटा अविस्मरणीय अनुभव बन्यो।
हाम्रो यात्रा पोर्टब्लेयरस्थित जङ्लीघाट पोर्टबाट सुरु भएको थियो । बिहानको समय थियो। समुद्रको निलो पानी हल्का हावासँगै लहराइरहेको थियो। क्रुजमा चढ्ने उत्साहले मनमा छुट्टै आनन्द थपिरहेको थियो । क्रुज समुद्रका छालहरू चिर्दै अगाडि बढ्दै जाँदा वरिपरि फैलिएको अथाह निलो समुद्र र टाढासम्म देखिने हरिया टापुहरूले मनलाई रोमाञ्चित बनाइरहेका थिए । समुद्री यात्राको त्यो रमाइलो अनुभूति शब्दमा वर्णन गर्न कठिन थियो।
केही समयपछि हामी नोर्थ वे पुग्यौँ । त्यहाँ पुग्नेबित्तिकै समुद्री सौन्दर्यले हामीलाई मोहित बनायो। त्यसपछि हामी त्यहाँको प्रसिद्ध लाइटहाउसमा चढ्यौँ। माथि पुगेर चारैतिर दृष्टि घुमाउँदा देखिएको दृश्य साँच्चै मनमोहक थियो।
तल नीलो समुद्र छालसँग खेलिरहेको थियो, वरिपरिका हरिया टापुहरू प्रकृतिको अनुपम उपहारझैँ लागिरहेका थिए। त्यो उचाइबाट हेर्दा प्रकृतिले आफ्नै सुन्दर चित्र कोरेको जस्तो अनुभव भयो। केही क्षणका लागि समय नै रोकिएको महसुस भयो।
हाम्रो यात्राको विशेष आकर्षण नोर्थ वे सन् १९६९ मा निर्मित लाइट हाउस थियो। टाढैबाट देखिने त्यो अग्लो संरचना समुद्रको किनारमा उभिएर जहाजलाई बाटो देखाउने मौन प्रहरीजस्तै लाग्थ्यो । समयको लामो यात्रालाई पार गर्दै अझै पनि उभिरहेको त्यो लाइट हाउसले इतिहासको कथा सुनाइरहेको अनुभूति हुन्थ्यो ।
त्यसपछि हामी जापानीज बङ्करतर्फ लाग्यौँ । दोस्रो विश्वयुद्धको समयमा बनाइएको भनिने त्यो बङ्करभित्र प्रवेश गर्दा एक प्रकारको रहस्यमय अनुभूति भयो । साँघुरा ढोका, बाक्ला पर्खाल र अँध्यारा कोठाहरूले युद्धकालीन कठिन परिस्थिति सम्झाइरहेका थिए। इतिहासका ती मौन चिन्हहरूले विगतका संघर्ष र पीडाका कथाहरू बोलेझैँ लाग्यो ।
यसरी नर्थ वे को यात्रा मेरो जीवनको अविस्मरणीय यात्रा बन्यो । लाइट हाउसले इतिहासको गहिराइ महसुस गरायो, जापानीज बङ्करले विगतका संघर्ष सम्झायो र क्रुज यात्राले प्रकृतिको सुन्दरता नजिकबाट अनुभव गरायो । यी सबै सम्झनाहरू आज पनि मनमा ताजै छन्। नर्थ वे के भ्रमण सकाएर रस आइल्याण्डतर्फको भ्रमणमा लाग्यौं । अण्डमानको पुरानो रस आइल्याण्ड (हालः नेताजी सुभाषचन्द्र बोस द्वीप) मा रहेका भग्नावशेष हुन्।
यहाँको सूचना–पाटीमा "Subordinates Club" लेखिएको छ । यो भवन ब्रिटिश शासनकालमा कनिष्ठ सैनिक तथा प्रशासनिक अधिकृतहरूको मनोरञ्जन र भेटघाट गर्ने क्लब थियो । अहिले भने विशाल बरको रुखका जराहरूले भवनलाई बेरिसकेका छन्, जसले प्रकृतिले इतिहासलाई बिस्तारै आफ्नो काखमा समेटिरहेको दृश्य देखाउँछ ।
त्यहाँ रहेको सूचना–पाटीमा सन् २०१८ मा रस आइल्याण्डको नाम परिवर्तन गरी नेताजी सुभाषचन्द्र बोस द्वीप राखिएको उल्लेख छ। यो नाम परिवर्तन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए । “हरियाली जंगलको बीचमा उभिएका ब्रिटिशकालीन भग्नावशेषहरू, बरका विशाल जराले बेरिएका पुराना भवनहरू र समयको मौन साक्षी बनेको रस आइल्याण्ड। एक समय अण्डमानमा ब्रिटिश शासनको केन्द्र रहेको यो स्थान आज इतिहास र प्रकृतिको अद्भुत संगम बनेको छ। यहाँका जीर्ण भवनहरूले उपनिवेशकालीन वैभवको कथा सुनाउँछन् भने रूखका फैलिएका जराहरूले प्रकृतिको असीम शक्ति झल्काउँछन्।”
रस आइल्याण्ड एक समय ब्रिटिश प्रशासनको मुख्य केन्द्र थियो र यसलाई "Paris of the East" समेत भनिन्थ्यो। सन् १९४१ को भूकम्प र त्यसपछिको जापानी कब्जापछि यो स्थान परित्यक्त भयो । अहिले यहाँ चर्च, क्लब, बेकरी, सरकारी भवन लगायतका भग्नावशेषहरू मात्र बाँकी छन्, जसलाई बर र पीपलका रूखहरूले ढाक्दै गएका छन् ।
यहाँ समुद्र किनारमा रहेको स्मारक क्षेत्र र टाढा लाइटहाउस देखिन्छ । नीलो आकाश, स्वच्छ समुद्र र समुद्री छालहरूले दृश्यलाई अत्यन्त मनमोहक बनाएका छन् । हरिण, मयुर लगाएत त्यहाँ उभिएका भ्रमणकारीहरूको उत्साह र खुसीले यात्राको आनन्दलाई झन् जीवन्त बनाएको देखिन्छ। यस दृश्यले समुद्रसँगको निकटता र भ्रमणको रमाइलो अनुभूति प्रकट गर्दछ ।
रस आइल्याण्डको पुरानो पावरहाउस क्षेत्रका अवशेषहरू देखिएका छन्। विशाल पुराना मेसिनहरू र भत्किएका संरचनाहरूले तत्कालीन समयको प्रविधि र विकासको झल्को दिन्छन् । भत्किएका इँटाका भित्तामा फैलिएका रूखका जराहरूले प्रकृतिले समयसँगै मानव निर्मित संरचनालाई कसरी आफ्नो अधीनमा लिएको छ भन्ने दृश्य प्रस्तुत गरेका छन् । यो दृश्यले इतिहास र प्रकृतिको अनौठो संगमलाई दर्शाउँछ।
समग्रमा केवल दृश्य मात्र नभई एउटा कथा बोलिरहेका छन्,–कहिले ब्रिटिस शासनको चहलपहलले भरिएको रस आइल्याण्ड आज इतिहास, पुरातत्व र प्रकृतिको जीवन्त संग्रहालय बनेर उभिएको छ । यसरी अण्डमान एण्ड निकोबार द्वीपसमूहको त्यो यात्रा मेरो जीवनको एक अविस्मरणीय र स्मरणयोग्य अनुभव बनेर मनको गहिराइमा सदैव जीवित रहनेछ ।