स्कूले झोला केवल किताब, कापी र कलम बोक्ने साधन मात्र होइन। त्यो त हरेक बालबालिकाको सपना, आशा र उज्ज्वल भविष्यको प्रतीक हो। झोलाभित्र लुकेका अक्षरहरूमा एउटा समृद्ध समाजको कल्पना हुन्छ, शिक्षाको उज्यालो हुन्छ र राष्ट्र निर्माणको आधार लुकेको हुन्छ।
तर जब विपत्ति, हिंसा वा विनाशले बालबालिकाको संसारलाई प्रभावित गर्छ, तब हराउने केवल एउटा झोला वा जुत्ता मात्र हुँदैन, हराउँछ उनीहरूको बाल्यकाल, सपना र सुनौलो भविष्य।
२०८२ साल भदौ २३ र २४ गतेको घटनाले इतिहासलाई नयाँ मोड दिएको दिनका रूपमा स्मरण गरिनेछ। ती दिनहरूले समाजलाई चेतना, एकता र परिवर्तनको सन्देश दिएका छन्।
विगतका पीडा, अन्याय र संघर्षका बीचबाट नयाँ आशा र नयाँ यात्राको सुरुवात भएको अनुभूति गराएका छन्। इतिहास परिवर्तन केवल राजनीतिक वा सामाजिक घटनाले मात्र हुँदैन, त्यसका पछाडि हजारौं सपना, संघर्ष र बलिदान जोडिएका हुन्छन्।
आज भग्नावशेषबीच लडिरहेको एउटा स्कूले झोला र एक्लिएको जुत्ताले हामीलाई प्रश्न गर्छ-के हामीले बालबालिकाको भविष्य सुरक्षित गर्न सकेका छौँ ? उनीहरूले बोकेको सुनौलो भविष्यलाई उज्यालो बनाउने जिम्मेवारी हाम्रो हो। शिक्षा, शान्ति, समानता र अवसरको सुनिश्चिततामार्फत मात्र उनीहरूको सपना साकार हुन सक्छ।
इतिहास परिवर्तनका ती क्षणहरूले हामीलाई सिकाएका छन् कि कुनै पनि समाजको वास्तविक शक्ति उसका बालबालिकाको शिक्षा र भविष्यमा निहित हुन्छ। त्यसैले हरेक स्कुले झोलाभित्र रहेको सपनालाई जोगाउनु, हुर्काउनु र सफलताको उचाइसम्म पुर्याउनु आजको सबैभन्दा ठूलो दायित्व हो।
भग्नावशेषबीच अलपत्र परेको एउटा स्कुले झोला र एक्लिएको जुत्ताले केवल कुनै बालबालिकाको उपस्थितिको संकेत गर्दैन, त्यसले अधुरा सपना, हराएको बाल्यकाल र सुनौलो भविष्यको कथा बोल्छ।
२०८२ साल भदौ २३-२४ गते उदाएको परिवर्तनले इतिहासलाई नयाँ दिशा दियो, तर त्यस परिवर्तनको वास्तविक अर्थ तब मात्र पूर्ण हुन्छ, जब हरेक बालबालिकाको झोलाभित्र सुरक्षित रहेको सपना उज्यालो भविष्यमा परिणत हुन्छ।
किनकि राष्ट्रको भविष्य कुनै भवन, सडक वा संरचनामा होइन, स्कुले झोलाभित्र बोकेका ती निर्दोष सपनाहरूमा बस्छ।
प्रकाशित मिति: बुधबार, असार १७, २०८३ १९:१९