उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा सुविधा सम्पन्न अस्पतालको अभाव रहेको अवस्थामा निजी क्षेत्रको लगानीमा सुविधा सम्पन्न सगरमाथा मल्टिस्पेशालिटी हस्पिटल प्रालि सञ्चालनमा आएको छ ।
गम्भीर प्रकृतिका रोग लागेमा वा कुनै दुर्घटनामा परी स्वास्थ्य अवस्था गम्भीर भएका उपचारका लागि विराटनगर, धरान वा काठमाडौं लैजानुपर्ने अवस्थाबाट मुक्त गराउन तथा बाहिर लगेर अत्यन्त महँगो उपचार गराउन नपर्ने उद्देश्यकासाथ सगरमाथा मल्टिस्पेशालिटी हस्पिटल सञ्चालनमा ल्याइएको हो ।
विहीबार हस्पिटलको त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतले रिबन काटेर उद्घाटन गरेपछि सेवा सुरु भएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख बस्नेतले नगरवासीलाई गुणस्तरीय र सुविधा सम्पन्न स्वास्थ्य सेवा प्रदान गर्न यस्ता अस्पतालको आवश्यकता रहेको बताए। निजी क्षेत्रको लगानीमा सञ्चालनमा आएको अस्पतालले स्थानीय नागरिकलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास पनि उनले व्यक्त गरे।
हस्पिटलले हाल विशेषज्ञ सेवा सहित २४ घण्टा आकस्मिक उपचार सेवा, २४ घण्टा फार्मेसी सेवा, आईसीयू, एनआईसीयू, जनरल वार्ड, प्राइभेट वार्ड, आधुनिक शल्यक्रिया कक्ष तथा डेलिभरी वार्ड सञ्चालनमा ल्याएको छ।
ओपीडी र आईपीडी सेवासहित अत्याधुनिक ल्याब, एक्स–रे, भिडियो एक्स–रे, इन्डोस्कोपी तथा ल्याप्रोस्कोपी सेवा उपलब्ध छन्। साथै, ओडी स्क्यान भिडियो एक्स–रे (नयाँ एआई प्रविधिमा आधारित भिडियो एक्स–रे सेवा) सञ्चालनमा रहेको छ। भिडियो एक्स–रे गरेको पाँच मिनेटभित्रै रिपोर्ट दिने मेसिन जडान गरिएको हस्पिटलका सञ्चालक कपिल सुवेदीले जानकारी दिए।
हस्पिटलमा जनरल फिजिसियन, बालरोग विशेषज्ञ, इन्डोक्राइन सेवा (सुगर, थाइराइड, निमोनिया लगायतका रोग), हाडजोर्नी तथा नसारोग विशेषज्ञ, महिला तथा प्रसूति–स्त्रीरोग विशेषज्ञ र छाला तथा यौनरोग विशेषज्ञको सेवा सञ्चालनमा रहेको छ।
निकट भविष्यमा मिर्गौला रोगका बिरामीका लागि डायलासिस सेवा र सिटी स्क्यान सेवा पनि सञ्चालनमा ल्याइने सञ्चालक सुवेदीले जानकारी दिए। सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालले ७० देखि ८० वर्षसम्मका अशक्त, वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिलाई ओपीडी र बेड चार्जमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ। ८० वर्षमाथिका वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिका लागि ओपीडी शुल्क एक सय रुपैयाँ मात्र लाग्ने तथा बेड चार्ज निःशुल्क रहनेछ । साथै, ल्याब सेवामा २० प्रतिशतसम्म र औषधिमा १० प्रतिशत छुट दिइने सञ्चालक सुवेदीले जानकारी दिए।
शहीद परिवार, पूर्व राष्ट्रसेवक कर्मचारी, पूर्व नेपाली सेना, पूर्व नेपाल प्रहरी, जनआन्दोलनका घाइते तथा पत्रकारहरूलाई बेड भर्ना शुल्कमा ५० प्रतिशत र प्रयोगशाला (ल्याब) सेवामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ।
गाईघाटमा विगतको तुलनामा अहिले बिरामीहरूले राम्रो स्वास्थ्य सेवा–सुविधा पाउन थाले पनि कतिपय बिरामीलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था रहेको छ ।
त्यस्ता बिरामीलाई सगरमाथा मल्टिस्पेशालिटी हस्पिटलमै उपचार गर्न सकिने गरी आवश्यक पूर्वाधार, आधुनिक प्रविधि तथा उपकरणहरूको व्यवस्थापनमा विशेष ध्यान दिएर हस्पिटल सञ्चालनमा ल्याइएको अर्का सञ्चालक गुनदेव चौधरीले जानकारी दिए।