काठमाडौं । मिसेस नेपालकी उपविजेता तथा महिला सशक्तीकरण अभियानकी सक्रिय अभियन्ता रञ्जना बुढाथोकी ले जीवनमा सफलता प्राप्त गर्न अनुशासन, मेहनत र सकारात्मक सोचभन्दा ठूलो अरु कुनै शक्ति नभएको बताएकी छन्।
लायन्स क्लब अफ काठमाडौं महिमा मार्फत विभिन्न सामाजिक तथा मानवीय सेवामा सक्रिय बुढाथोकीले समाजसेवालाई आफ्नो जीवनको महत्वपूर्ण अभियान बनाएकी छन् ।
स्वास्थ्य, शिक्षा, महिला सशक्तीकरण, राहत वितरण तथा सामाजिक सचेतनामूलक कार्यक्रमहरूमा उनको निरन्तर सहभागिताले उनलाई एक प्रभावशाली समाजसेवीका रूपमा स्थापित गरेको छ ।
सामाजिक सञ्जालमार्फत उनले व्यक्त गरेको सन्देश अहिले धेरैको मन छुने बनेको छ। उनले लेखेकी छन्- “भोलि समयले पालो दिओस् या नदिओस्, आश छैन । तर आजको समयले अनुशासित र मेहनती बन्न सिकाएको छ। जुन सबैभन्दा ठूलो समयले दिएको उपहार जस्तो लाग्छ।“
उनको यो भनाइले वर्तमानलाई सही रूपमा सदुपयोग गर्दै अनुशासन र निरन्तर मेहनतमार्फत भविष्य निर्माण गर्न सकिने सन्देश दिन्छ। जीवनमा आउने चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्न सक्ने क्षमता नै सफल व्यक्तिको पहिचान हुने उनको विश्वास छ।
रञ्जना बुढाथोकी ले सौन्दर्य प्रतियोगिताको उपाधिलाई केवल व्यक्तिगत उपलब्धिमा सीमित नराखी समाजप्रति आफ्नो जिम्मेवारी अझ बढेको महसुस गर्दै विभिन्न सामाजिक अभियानमा सक्रिय भूमिका निर्वाह गरिरहेकी छन्। उनी महिलाहरूलाई आत्मनिर्भर, आत्मविश्वासी र नेतृत्वदायी बन्न प्रेरित गर्दै आइरहेकी छन् ।
लायन्स क्लबमार्फत उनले रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, विपन्न परिवारलाई सहयोग, शैक्षिक सामग्री वितरण तथा महिला सशक्तीकरणसम्बन्धी कार्यक्रमहरूमा उल्लेखनीय योगदान दिँदै आएकी छन्। उनका गतिविधिहरूले समाजमा सकारात्मक ऊर्जा फैलाइरहेका छन्।
उनका अनुसार समय सबैभन्दा ठूलो शिक्षक हो। समयले सिकाएको अनुशासन, धैर्य र मेहनत नै जीवनको अमूल्य सम्पत्ति ह। त्यसैले वर्तमानलाई सम्मान गर्दै निरन्तर कर्ममा विश्वास गर्नुपर्ने उनको धारणा छ ।
मिसेस नेपालको उपविजेता हुनुका साथै समाजसेवा, नेतृत्व क्षमता र सकारात्मक सोचका कारण रञ्जना बुढाथोकी धेरै महिलाका लागि प्रेरणाको स्रोत बन्दै गएकी छन् । उनको जीवनयात्राले सफलता केवल उपाधिमा सीमित नहुने, समाजका लागि गरिने योगदानले नै व्यक्तित्वलाई महान बनाउने सन्देश दिएको छ।
नामी साप्ताहिक
प्रकाशित मिति: शनिबार, साउन ९, २०८३ १०:४७