काठमाडौं । लायन्स क्लब अफ काठमाडौं शुभ तारा, डिस्ट्रिक्ट ३२५ एफ, नेपालले शनिबार नारायणटारस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको उद्घाटन १०३ पटकसम्म रक्तदान गरिसकेका समाजसेवी पुण्य रत्न बज्राचार्यले गर्नुभएको थियो। कार्यक्रममा ३१ पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ। लायन्स क्लब अफ काठमाडौं शुभ तारा, डिस्ट्रिक्ट ३२५ एफ, नेपालका संस्थापक अध्यक्ष राजेश हिमालयले रक्त अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थालाई न्यूनीकरण गर्न तथा समाजमा रक्तदानप्रति सकारात्मक चेतना फैलाउने उद्देश्यले नियमित रूपमा यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो।
उहाँले रक्तदान केवल सामाजिक उत्तरदायित्व मात्र नभई मानव जीवनप्रतिको सम्मान, करुणा र सेवाभावको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्नुभयो। कार्यक्रममा सहभागीहरूले रक्तदानलाई सबैभन्दा ठूलो मानवीय सेवाको रूपमा व्याख्या गर्दै नियमित रक्तदानले बिरामीको जीवन बचाउनुका साथै रक्तदाताको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका थिए।
लायन्स क्लब अफ काठमाडौं शुभ ताराले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखी यस्ता मानवसेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, रक्तदान जस्तो पवित्र अभियानमा सबै नागरिकलाई नियमित रूपमा सहभागी हुन आयोजकले आग्रह गरेको छ। कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण सहयोगी संस्था, रक्तदाता, स्वयंसेवक तथा सहभागीहरूप्रति आयोजक परिवारले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
कार्यक्रममा लायन अशोक बमजन, भुवन नेपाल, इन्द्रबहादुर कार्की, सुमन सिंह थापा, चाँदनी घिमिरे, शोभा बेल्बासे, आदित्य जोशी, आकाश श्रेष्ठ, अमृत घले लगायतको सहभागिता रहेको थियो।
प्रकाशित मिति: शनिबार, साउन १६, २०८३ २२:५१