Top Navigation
  • Contact
Main Navigation
मंगलबार, भदौ ९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, भदौ ९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • कानुन कडा, बालिका किन असुरक्षित ?
कानुन कडा, बालिका किन असुरक्षित ? संवेदनशील घटनाको भिडियो कसरी बाहिरियो ? 
विदुर कटुवाल
विदुर कटुवाल मंगलबार, भदौ ९, २०८३

काठमाडौं । बारा सिमराकी तीन वर्षीया गरिमा चौधरी बलात्कारपछि मारिइन् । अबोध बालिकामाथिको यो क्रूर अपराधले देशलाई स्तब्ध बनायो । सडकमा आक्रोश पोखियो, दोषीमाथि कडा कारबाहीको माग उठ्यो र सरकारले कानुन पुनरवलोकनका लागि समिति गठनसमेत गर्‍यो ।

तर गरिमाको घटना कुनै अपवाद होइन । नेपालमा हरेक दिन औसत चार बालिका बलात्कारको सिकार भइरहेका छन् । तीमध्ये कम्तीमा एकजना १० वर्षमुनिकी हुन्छिन् । अझ गम्भीर पक्ष के छ भने यस्ता घटनाका पीडक धेरैपटक अपरिचित हुँदैनन् । आफन्त, छिमेकी, साथी वा परिवारले विश्वास गरेका चिनजानकै व्यक्ति अपराधमा संलग्न हुने गरेका छन् । त्यसैले अहिलेको मुख्य प्रश्न केवल ‘दोषीलाई कति सजाय दिने ?’ भन्ने होइन । कानुन कडा हुँदाहुँदै बालिका किन असुरक्षित छन् ? 

सरकारी तथ्यंक अनुसार आर्थिक वर्ष ०८२/०८३ मा देशभर दुई हजार ३९५ बलात्कारका घटना प्रहरीमा दर्ता भए । तीमध्ये एक हजार ५१० पीडित १८ वर्षभन्दा कम उमेरका बालिका छन् । १० वर्षमुनिका मात्रै २२१ जना छन् । ११ देखि १४ वर्ष उमेर समूहका ५२२, १५ देखि १६ वर्षका ४४६ तथा १७ र १८ वर्षका ३२१ जना पीडित भएका छन् । अर्थात् नेपाल प्रहरीको अभिलेखमै बलात्कारका घटनामा बालिकाको हिस्सा अत्यन्त ठूलो छ । पछिल्ला पाँच वर्षमा सात हजार ६१४ बालिका बलात्कारको सिकार भएका छन् । यो अवधिमा दर्ता भएका बलात्कारका कुल घटनामध्ये ६३.७२ प्रतिशत पीडित बालिका रहेको तथ्यांकले देखाउँछ ।

बालिकामाथि हुने यौन हिंसा केही व्यक्तिको विकृत व्यवहार मात्र होइन, समाजभित्र गहिरिँदै गएको सुरक्षा संकट हो । त्यसमाथि प्रहरीसम्म नपुगेका घटना कति छन् भन्ने यकिन तथ्यांक छैन । सामाजिक प्रतिष्ठाको डर, परिवारको दबाब, पीडितलाई नै दोष दिने प्रवृत्ति, धम्की र न्यायिक प्रक्रियाप्रतिको झन्झटले धेरै घटना बाहिर नआउने सम्भावना रहन्छ । त्यसैले देखिएको तथ्यांकभन्दा वास्तविक अवस्था अझ भयावह हुनसक्छ ।

हामी बालबालिकालाई प्रायः ‘अपरिचित मानिसबाट सावधान’ हुन सिकाउँछौँ । तर अपराधी सधैँ अपरिचित हुँदैन । प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार बालिकालाई सजिलै फकाउन सकिने भएकाले अपराधीले उनीहरूलाई ‘सफ्ट टार्गेट’ बनाउने गरेका छन् । चकलेट, खानेकुरा वा अन्य प्रलोभन देखाएर एकान्तमा लैजाने र बलात्कार गर्ने घटना धेरै रहेको प्रहरीको अनुभव छ । यसले अभिभावकका अगाडि पनि असहज प्रश्न खडा गर्छ–बालिकालाई अपरिचितबाट मात्रै जोगाउने कि आफ्नै विश्वासको घेराभित्र पनि सुरक्षित राख्ने ? जवाफ स्पष्ट छ । बालिकाको सुरक्षा केवल बाहिरको जोखिमबाट जोगाउने विषय होइन । उनीहरू वरपरको सामाजिक सम्बन्ध, घरमा आउने–जाने मानिस, आफन्त र चिनजानका व्यक्तिको व्यवहारबारे पनि सचेत हुनुपर्छ । विश्वास आवश्यक छ । तर बाल सुरक्षामा अन्धविश्वास खतरनाक हुन सक्छ ।

कानुन कडा छ, कार्यान्वयन कति प्रभावकारी ? 

बलात्कारपछि हत्या जस्तो जघन्य अपराधमा नेपालमा आजीवन कारावासको व्यवस्था छ । सरकारले कानुन पुनरवलोकनका लागि सात सदस्यीय संकल्प समिति गठन गरेको छ । तर प्रश्न फेरि उही हो–सजाय बढाउँदैमा अपराध रोकिन्छ ? कानुनको कठोरता आवश्यक छ । दोषीलाई उन्मुक्ति दिनु हुँदैन । तर अपराध नियन्त्रणका लागि सजाय मात्रै पर्याप्त हुँदैन ।

अपराध हुनुअघि रोकथाम, समयमै सूचना, प्रभावकारी अनुसन्धान, प्रमाणको संरक्षण, पीडितको सुरक्षा, शीघ्र न्याय र दोषीलाई निश्चित सजाय–यी सबै पक्ष सँगसँगै बलिया हुनुपर्छ । कानुनमा सजायको व्यवस्था भए पनि अपराधीले ‘म पक्राउ पर्दिनँ’ भन्ने विश्वास राख्यो भने कानुनको डर कमजोर हुन्छ ।

त्यसैले अपराध नियन्त्रणको वास्तविक मापन सजायको अधिकतम अवधि होइन, अपराधी कानुनको दायरामा कति छिटो र निश्चित रूपमा पुग्छ भन्ने हो । गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीमाथि अनुसन्धानमा लापरबाही गरेको आरोप लागेको छ । मधेश प्रदेश प्रहरी कार्यालयले एसएसपी प्रभु ढकालको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । अनुसन्धानमा दख्खल राख्ने अधिकारीलाई समेत टोलीमा समावेश गरिएको छ । प्रहरीबाट भएका कमजोरीबारे पनि छानबिन गर्ने जिम्मेवारी समितिलाई दिइएको छ ।

यो छानबिन केवल एउटा घटनाको अनुसन्धानमा सीमित हुनु हुँदैन । प्रहरीको प्रारम्भिक अनुसन्धानमा कहाँ कमजोरी भयो ? सूचना पाएपछि कस्तो प्रतिक्रिया दिइयो ? प्रमाण कसरी संकलन गरियो ?  पीडित परिवारसँग कस्तो व्यवहार भयो ? यस्ता प्रश्नको जवाफ खोजिनुपर्छ । किनकि न्याय प्रक्रियाको पहिलो ढोका प्रहरी हो । त्यो ढोकामै कमजोरी भयो भने अदालतसम्म पुग्ने न्यायको बाटो कमजोर बन्न सक्छ ।

संवेदनशील घटनाको भिडियो कसरी बाहिरियो ? 

गरिमा प्रकरणमा अर्को गम्भीर प्रश्न प्रहरीभित्रैबाट उठेको छ । पक्राउ परेका किशोरको बयान खिचेर सामाजिक सञ्जालमा पठाएको आरोपमा बारा प्रहरीमा कार्यरत प्रहरी हवल्दार कुमार विक पक्राउ परेका छन् । प्रहरीका अनुसार स्वास्थ्य परीक्षणका लागि किशोरलाई प्रादेशिक अस्पताल कलैया लगिएको समयमा उनले संवेदनशील विषयको भिडियो खिचेका थिए । पछि उक्त भिडियो फेसबुक मेसेन्जरमार्फत साथीलाई पठाएको खुलेपछि उनलाई पक्राउ गरिएको हो । यो घटना सामान्य अनुशासनहीनता मात्र होइन । संवेदनशील अनुसन्धानको सामग्री नै प्रहरी कर्मचारीबाट बाहिरिनु गोपनीयता र व्यावसायिक आचरणमाथिको गम्भीर प्रश्न हो ।

अपराधको अनुसन्धान गर्ने निकायले नै पीडित वा घटनासँग जोडिएको संवेदनशील सामग्रीको गोपनीयता जोगाउन सकेन भने पीडित र परिवारले न्याय प्रणालीमाथि कसरी विश्वास गर्ने ? प्रहरीमाथि जनताको विश्वास अपराध अनुसन्धानको सबैभन्दा महत्वपूर्ण आधार हो । त्यो विश्वास कमजोर हुनु आफैँमा गम्भीर समस्या हो ।

बालबालिकालाई सानैदेखि ‘गुड टच’ र ‘ब्याड टच’बारे सिकाउनुपर्ने कुरा पटकपटक उठ्छ । यो आवश्यक छ । तर यति मात्र पर्याप्त छैन । बालबालिकाले असहज व्यवहारबारे अभिभावकसँग निर्धक्क भन्न सक्ने वातावरण बनाउनुपर्छ । उनीहरूले बोलेपछि ‘तिमीले किन त्यस्तो गर्‍यौ ?’, ‘त्यहाँ किन गयौ ?’ भनेर दोष लगाउने होइन, पहिले विश्वास गर्नुपर्छ ।

विद्यालयले पनि बाल सुरक्षा शिक्षालाई औपचारिक कार्यक्रमभन्दा व्यवहारिक अभ्यास बनाउनुपर्छ । अभिभावकले बालबालिकाको गतिविधि बुझ्नुपर्छ । विद्यालयले शिक्षक तथा कर्मचारीको आचरणमा निगरानी राख्नुपर्छ । समुदायले शंकास्पद गतिविधिमा आँखा चिम्लिनु हुँदैन । प्रहरीले उजुरीलाई गम्भीरतापूर्वक लिनुपर्छ । बाल सुरक्षा सबैको साझा जिम्मेवारी हो ।

गरिमा अब फर्केर आउनेछैनन् । उनको परिवारले भोगेको पीडा कुनै कानुनी सजायले पनि पूर्ण रूपमा मेट्न सक्दैन । तर उनको मृत्युले राज्य र समाजलाई केही सिकाउन सक्छ । यदि हामी सिक्न तयार छौँ भने । हरेक घटनापछि केही दिन आक्रोशित हुने, सामाजिक सञ्जालमा दोषीलाई गाली गर्ने र कडा सजायको माग गर्ने अनि केही समयपछि अर्को घटनाको प्रतीक्षा गर्ने प्रवृत्तिले समस्या समाधान हुँदैन ।

प्रश्न अब ‘अर्को गरिमा को होला ?’ भन्ने हुनु हुँदैन । प्रश्न हुनुपर्छ–अर्को गरिमा हुन नदिन राज्यले आज के गरिरहेको छ ? कानुन कडा बनाउनु आवश्यक छ । तर कानुनको किताबमा लेखिएको सजायभन्दा महत्वपूर्ण त्यसको कार्यान्वयन हो । प्रहरीको अनुसन्धान बलियो बनाउनुपर्छ । पीडितको गोपनीयता जोगाउनुपर्छ । न्याय प्रक्रिया छिटो र विश्वसनीय बनाउनुपर्छ । बालबालिकालाई आफ्नो शरीर र सुरक्षाबारे जानकारी दिनुपर्छ । अभिभावक र विद्यालयलाई जिम्मेवार बनाउनुपर्छ ।

अन्ततः बालिकाको सुरक्षा प्रहरी, अदालत वा सरकारको मात्रै जिम्मेवारी होइन । यो परिवारदेखि समुदायसम्म फैलिएको सामूहिक जिम्मेवारी हो । कानुन कडा छ । तर कानुनको डर अपराधीको मनमा र सुरक्षाको अनुभूति बालिकाको मनमा पुग्न सकेको छैन भने त्यो कठोरता अधुरो हुन्छ । गरिमा चौधरीको घटनाले यही अधुरोपनमाथि प्रश्न उठाएको छ । अब उत्तर भाषणले होइन, अपराध घटेको तथ्यांकले दिनुपर्नेछ ।

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३  ०६:४८
प्रतिक्रिया दिनुहोस्
थप समाज
तिशा शाक्यले चुमिन् १९औँ मिस नेवाः नेपाल उपाधि
तिशा शाक्यले चुमिन् १९औँ मिस नेवाः नेपाल उपाधि आइतबार, भदौ ७, २०८३
फोटो प्रदर्शनीमा घुइँचो
फोटो प्रदर्शनीमा घुइँचो बिहीबार, भदौ ४, २०८३
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
लाेकप्रिय समाचार
  • नंः १ तिशा शाक्यले चुमिन् १९औँ मिस नेवाः नेपाल उपाधि
  • नंः २ सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
  • नंः ३ किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
  • नंः ४ बागमती प्रदेश मुख्यमन्त्रीको सपथ ग्रहण
  • नंः ५ जनताको अधिकारको पक्षमा प्रचण्ड
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्