काठमाडौं। गोरखा जिल्लावाट प्रतिनिधि सभामा तीन पटक विजयी बनेका माओवादी नेता डा.बाबुराम भट्टराईले आगामी निर्वाचनमा चुनाव नलड्ने घोषणा गरेर राम्रो कार्य गरेको छ। बडा दशैंको महाअष्टमीका दिन नेता भट्टराईले सामाजिक सञ्जालमार्फत् आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूलाई सम्बोधन गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.भट्टराईले आगामी निर्वाचन नलड्ने घोषणा गरेका हुन्।
२०६४, २०७० र २०७४ को निर्वाचनमा विजयी गराएको गोरखाली जनतालाई धन्यवाद दिँदै डा.भट्टराईले यो पटक निर्वाचनमा उम्मेदवार नबन्ने बताएका हुन् । उनले चुनाव नलड्नु भनेको राजनीति छाड्नु नभएको उल्लेख गर्दै आजीवन राजनीतिमै रहेर जनताको सेवा गर्ने बताएका छन् ।
आफ्नो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका र केही सुरूभएका आयोजना पूरा हुन बाँकी रहेका उनले बताए ।
बाँकी रहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहने भट्टराईको प्रतिबद्धता छ।
२०६५ देखि अहिलेसम्म प्रत्येक महिना गोरखा आउने–जाने र जनताको घरदैलोमा पुग्ने काम गरिराख्दा धेरै सिक्ने अवसर पाएको उनले बताए । आगामी दिनमा पनि निरन्तर सेवामा रहिरहने उनको भनाइ छ ।
भट्टराईले लेखेका छन्, ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन । कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न र भन्न सक्छन् । सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन।’
उनले अगाडि लेखेका छन्, ‘म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु । पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु । म सबै गोरखाली दिदीबहिनी दाज्युभाइहरूलाई विश्वास दिलाउन चाहन्छु मेरो ठाउककमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउनेछ।

प्रकाशित मिति: सोमबार, असोज १७, २०७९ २१:५६