बर्दिया । प्रतिनिधिसभा सदस्यका लागि बर्दिया २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी निर्वाचित भएका छन् ।
निर्वाचित स्वतन्त्र उम्मेदवार चौधरीले गठबन्धनका नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई १ सय ३६ मतले पछि पार्दै निर्वाचित भएको हो ।
चौधरीले २६ हजार ५ सय २० मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका पन्थले २६ हजार ३ सय ८४ मत प्राप्त गरेका थिए।
नेकपा एमालेका पङ्कजसिँह राठौरले १६ हजार ९० मत पाएका थिए भने राप्रपाका विनय रावलले १३ हजार २ सय ९२ मत प्राप्त गरेका थिए ।
विजयी उम्मेद्वार लालबीर चौधरी रेशम चौधरीका बाबु हुन् । रेशमको उम्मेदवारी खारेजी भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्रमा उम्मेदवारी दिएका लालवीर चौधरीलाई सहयोग गरेको थियो ।
बर्दिया-२ मा १ लाख ५२ हजार ६२ मतदाता रहेकामा ९२ हजार १ सय ९९ मत खसेको थियोे भने ५ हजार ३ सय ८७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १६:२२